खोप केन्द्रमा  ठेलमठेल र भिडभाड : प्रधानमन्त्रीको निर्देशनको प्रभाव देखिएन 

खोप केन्द्रमा  ठेलमठेल र भिडभाड : प्रधानमन्त्रीको निर्देशनको प्रभाव देखिएन 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सचिवसहितलाई बोलाएर खोप केन्द्रलाई व्यवस्थित गर्न निर्देशन दिए पनि अमेरिकी सरकारको सहयोगमा सोमबारबाट जोन्सन एन्ड जोन्सनको खोप लगाउने केन्द्रमा निर्देशनको प्रभाव देखिएन।

आजबाट खोपको प्रारम्भ गर्दै प्रधानमन्त्री देउवाले ' आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु।खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु' भन्दै ट्विट समेत गरेका थिए।

तर सिभिल अस्पताल र टेकुको खोप केन्द्रमा पुग्दा अवस्था बेहाल देखियो। खोप लगाउन चाहनेहरूको भिड थियो खोप केन्द्र बाहिर। व्यवस्थापन गर्न खटिएका प्रहरीलाई हम्मे हम्मे थियो भिड व्यवस्थापन गर्न। प्रहरीले माइकिङ गरेर भिडभाड नगर्न आग्रह गरे पनि खोप लगाएर कोरोना सङ्क्रमणबाट सुरक्षित हुन आतुर रहेकाहरूले त्यसलाई टेरेनन्।

५० वर्ष माथिकाहरुका लागि सरकारले जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरे पनि युवा उमेर समूहकाहरु समेत टन्नै देखिए खोप केन्द्रमा। उनीहरू लाइनमा देखिन्थे। खोप केन्द्र बाहिर भिडमभिड भए पनि खोप केन्द्र भित्र भने केही व्यवस्थित देखिन्थ्यो।

 

साउन ४, २०७८ सोमबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।