सुर्खेत सभाहलकाे पहिलाे चरणकाे निर्माण ९८ प्रतिशत सकियो
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर रामकृष्ण आचार्यले सभाहलको पहिलाे चरणकाे निर्माण ९८ प्रतिशत सकिएको जानकारी दिए।
‘अब पीभीसी टायल बिछ्याउने र फ्लोर तार केटिङको काम मात्र बाँकी छ,’ उनले भने, ‘अबको काम धेरै छैन। करिब १५ दिनसम्म पहिलो चरणको सबै काम सकिन्छ।’
उनले सभाहल पहिलाे चरणकाे निर्माणका लागि तेस्रो पटक थपिएको म्याद सकिएको र चौथो पटक थप्ने तयारी गरिएको जानकारी दिए।
२०७३ सालमा निर्माण थालिएको उक्त सभाहल २०७६ चैतमा सक्ने लक्ष्य राखिएको थियो। समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले २० करोड ५४ लाख ८६ हजार ७ सय ८१ रूपैयाँको लागतमा सभाहलको निर्माणको जिम्मा पाएको थियो।
कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाट सामान आउन ढिलाइ हुँदा समयमा काम पूरा नभएको इन्जिनियर आचार्यले बताए।
इकाइका अनुसार निर्माण कम्पनीले भदौसम्मको समय मागिरहेको छ। इन्जिनियर आचार्यले दसैंअघि नै सभाहलको पहिलो चरणको काम सम्पन्न भई हस्तान्तरण हुने बताए । कार्यालयले सभाहलको दोस्रो चरणको निर्माणको कामका लागि ठेक्का प्रक्रियासमेत अघि बढाएको छ।
उक्त सभाहलमा ७ सय ६८ जना अट्ने मल्टीप्रपोज हल, सय जना अट्ने सेमिनार हल र ५० जना अट्ने मिटिङ हल छ। यस्तै, सभाहलमा मल्टीप्रपोज हलसहित प्रशासनिक भवन, अपांगमैत्री र करिब चार सय सवारी साधन पार्किङ सुविधा छ।
साउन ३, २०७८ आइतबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।