सुदूरपश्चिम सरकारको बजेट खर्च : साउनदेखि जेठसम्म १३ अर्ब, असारमा १० अर्ब
गत आर्थिक वर्ष २०७७/०७८ को असारमा मात्र प्रदेश सरकारले ९ अर्ब ८० करोड रूपैयाँ बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म प्रदेश सरकारको खर्च १३ अर्ब ४२ करोड रूपैयाँ रहेकोमा असारमा २३ अर्ब १९ करोड रूपैयाँ पुगेको छ।
चालुतर्फ प्रदेश सरकारले १० अर्ब ४९ करोड १५ लाख अर्थात् ६४.१५ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख वासुदेव जोशीले बताए।
यस्तै, पूँजीगततर्फ १२ अर्ब ६९ करोड ९५ लाख अर्थात् ६९.८९ प्रतिशत बजेट मात्रै खर्च भएको जोशीले जानकारी दिए।
‘प्रदेश सरकारको बजेट खर्च हेर्दा निराशाजनक नै छ,’ उनले भने, ‘असारमा धेरै खर्च भएको देखिएको छ। तर पनि प्रदेश सरकारले जम्मा बजेटको ६६.१७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।’
कुन मन्त्रालयमा कति खर्च ?
प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा धेरै ७८.६५ प्रतिशत बजेट खर्च गरेको छ। सबैभन्दा कम अर्थ मन्त्रालयको ३.७० प्रतिशत प्रगति देखिएको छ।
कृषि मन्त्रालयपछि भौतिक पूर्वाधार मन्त्रालयले ७६.७५ प्रतिशत बजेट खर्च गरेको छ।
यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ७४.०४ प्रतिशत, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको ७४.६९ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ७२.५९ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३६.२६ प्रतिशत बजेट खर्च गरेको छ।
प्रदेश व्यवस्थापिकाले ८३.७९ प्रतिशत बजेट खर्च गरेको छ।
चालू वर्षमा गल्ती दोहोर्याउँदैनौं : प्रवक्ता जोशी
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सरकारको आन्तरिक कमी– कमजोरीका कारण पर्याप्त बजेट खर्च गर्न नसकेको बताइन्।
‘प्रयासका बावजुत पनि असारे विकास रोक्न सकेनौं,’ उनले भनिन्, ‘अस्थिर राजनीतिका कारण पनि सरकार सञ्चालनमा समस्या आयो लामो समय अर्थमन्त्रालय मन्त्रीविहीन पनि भयो। यस कारण पनि पर्याप्त बजेट खर्च गर्न सकेनौं। असारमा खर्च बढ्नुको कारण, मन्त्रिपरिषद् पुनर्गठन गरेर हामीले प्रभावकारी ढंगले काम गर्नु नै हो।’
विगतको पाठले पनि चालु वर्षमा पर्याप्त बजेट खर्च हुने मन्त्री जोशीको दाबी छ। ‘हामीले चालू वर्षमा पहिलो चौमासिकबाटै बजेट कार्यान्वयनमा जान्छौं। विगतमा जस्तो कमी–कमजोरी हुँदैन। हामी प्रभावकारी ढंगले काम गर्छौं,’ उनले भने।
साउन ३, २०७८ आइतबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।