भीम रावलको राजीनामा पत्र : दूषित खेलबाट आफूलाई अलग हुन राजीनामा

भीम रावलको राजीनामा पत्र : दूषित खेलबाट आफूलाई अलग हुन राजीनामा

काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिए। उनले आइतबार सभामुखलाई बुझाएको राजीनामा पत्रमा एमाले बढेको विवादलाई मुख्य कारण खुलाइएको छ। उनले राजीनामा पत्रमा लेखेका छन्' दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु।'

उनको राजीनामा पत्र

झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु र तिनको सामना गरेको छु। यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ।

राजनीति र त्यसका सबै संयन्त्रहरू राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ। तर राजनीतिक नेतृत्वबाट त्यस विपरीतका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। आज नेपाल र नेपालीको शिर निहुरिँदै गएको छ।

केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा,  विधि पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी, निरङ्कुश किसिमको काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ।

यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम प्रयत्न गरेँ।

तर पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनः स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

साउन ३, २०७८ आइतबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।