साताका दस गीत : थोपडाले धोका दियो, सारीले ज्यान भयो भारी
तीज आउन झन्डै दुई महिना बाँकी रहँदा नेपाली महिलालाई लक्षित गर्दै तीजका गीत सार्वजनिक गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ।तीजका गीतसँगै लोक आधुनिक गीत पनि यो साता सार्वजनिक भएका छन्।
‘पल्ला घरे साइँली’मा शिल्पा र प्रकाश
गायक स्वरूपराज आचार्य र लक्ष्मी मल्लको आवाजमा ‘पल्ला घरे साइली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। टिपिकल गाउँघरमा गरिने गफगाफलाई गीतमार्फत भन्न खोजिएको छ। कृष्ण केसीले लेखेको गीतमा सङ्गीत श्रीकृष्ण बम मल्लको रहेको छ।
प्रेम भाव व्यक्त गरिएको यस गीतको सङ्गीत संयोजन कृष्ण विक (भान्जा)ले गरेका छन्। देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको ‘पल्ला घरे साइली’ मा चार जना कलाकारले अभिनय गरेका छन्। जसमा अभिनेत्री शिल्पा पोखरेल, प्रकाश सपुत, करिश्मा ढकालका साथ श्रीकृष्ण बम मल्ल रहेका छन्। नवराज उप्रेतीले यस गीतको भिडियोमा क्यामेरा चलाएका छन् भने दिप्सन शाहले सम्पादनको जिम्मा लिएका छन्।
बादल थापाको ‘रुँदा रुँदै’
गायक बादल थापा मगरको स्वरमा ‘रुँदा रुँदै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको शब्द रचना तथा सङ्गीत सुवास कार्कीले गरेका छन् भने सङ्गीत संयोजन विशाल निरौलाको रहेको छ।
अहिले यो गीत निकै चर्चामा रहेको छ। युट्युब च्यानलमा ट्रेन्डिङ ५ मा आइपुगेको गीतको म्युजिक भिडियो तथा गीतलाई ८ लाख भन्दा धेरै दर्शकले हेरिसकेका छन्।
राहुल बराइलीको निर्देशनमा बनेको गीतको भिडियोमा जिवी चिरन, बिना राउत, आराध्य आर एल डिसी र विनोद खड्काको अभिनय रहेको छ।
विनोद राईको लगानीमा निर्माण भएको यस भिडियोलाई नरेश ऐरले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन्।
सन्तोष केसीको ‘बुहारी’मा ‘किरण केसी
गायक सन्तोष केसी, शान्तीश्री परियार, राधिका हमालको संयुक्त आवाज रहेको तीज गीत ‘बुहारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सन्तोष केसीकै लय तथा शब्द रचनामा सार्वजनिक भएको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्।
सासूले बुहारीलाई गर्ने व्यवहार पुरानैशैलीमा रहेको र सुत्केरी हुँदा पनि सासूले वास्ता नगरेको कथा गीतको भिडियोमा देखाइएको छ। गीतको म्युजिक भिडियोमा हास्य कलाकार सन्तोष पन्त, किरण केसी (राता मकै), अन्जु महर्जन (हात्ती), हिउँवाला गौतम, सङ्गम भण्डारीको अभिनय रहेको छ।
प्रकाश भट्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका छन्। भिडियो सम्पादनको काम विष्णु शर्माले गरेका छन्। युट्युबमा रिलिज भएको गीतको भिडियो अहिले ट्रेन्डिङ नम्बर ३ मा रहेको छ।
चल्तीका कलाकारको अभिनयमा ‘कुरा काट्न’
९ जना कलाकारको संयुक्त आवाजमा ‘कुरा काट्न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक खुमन अधिकारी, देवी घर्ती मगर, शान्तीश्री परियार, पूर्णाकला बिसी, शिला आले, सम्झना भण्डारी, जुनाश्रीस्, सरिता कार्की, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘कुरा काट्न’को म्युजिक भिडियो सार्वजनिक भएको हो।
दुर्गा पौडेलको शब्द रचना रहेको गीतलाई लयबद्ध गर्ने काम गायक खुमनले नै गरेका छन्। यस गीतमा सङ्गीत संयोजनको काम विनोद बाजुरालीले गरेका छन्।
यस तीज गीतमा माइत आएकी दिदी बैनीलाई मनको कुरा साट्न आग्रह गर्दै भिनाजु र ज्वाइँको कुरा काट्न आग्रह गरिएको छ। त्यस्तै आफूलाई लिलीबिली नपार्न भन्दै आफू लाहुरे भएको र अर्काको श्रीमती मन पर्ने खालका रोमान्टिक शब्द गीतमा सुन्न सकिन्छ।
शङ्कर बिसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोकदोहोरी क्षेत्रमा चर्चामा रहेका मोडलहरूले अभिनय गरेका छन्। भिडियोमा निर्देशक शङ्कर बिसीका साथै सम्झना बुढाथोकी, विनोद श्रेष्ठ, रन्जिता गुरुङ, शिवम पोखरेल, अन्जु निरौला, कृष्ण रसाइली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जलि अधिकारी, ओभि रायमाझी, दीपाशा बिसी र करिश्मा ढकालले अभिनय गरेका छन्।
दुर्गा पौडेलको छायाङ्कन रहेको यस गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन्।
‘थोपाडाले धोका दिँदा’ करिश्मा ढकालको यो हाल
गायक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा ‘थोपडाले धोका दियो बरिलै’ युट्युबमार्फत सार्वजनिक भएको छ। रामु पोर्तेलले लेखेको गीतलाई भागिरथ चलाउनेले लय भरेका छन्। साथै गीतको ऐरेन्ज विनोद बाजुरालीको रहेको छ।
यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। प्रकाशको निर्देशनमा करिश्मा ढकाल र भागिरथ चलाउनेले भिडियोमा अभिनय गरेका छन्। भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन्।
पशुपति र शान्तीश्रीको ‘सारीले ज्यान भयो भारी’
गायक पशुपति शर्मा, शान्तीश्री परियार, सन्दीप न्यौपाने, सम्झना भण्डारीको स्वरमा ‘सारीले ज्यान भयो भारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो सार्वजनिक भएको दुई दिनमा नै युट्युबको ट्रेन्डिङ २५मा आएको छ। गायक पशुपति शर्माकै शब्द रचना तथा लय रहेको यस गीतमा म्युजिक ऐरेन्ज विनोद बाजुरालीको रहेको छ।
गीतको भिडियोलाई स्मृति तिमल्सिना (गुरुआमा’ले निर्देशन गरेकी छन् भने पशुपति शर्मा, सन्दीप न्यौपाने, रिना थापा मगर, रुविना अधिकारीले अभिनय गरेका छन्।
यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाङ्कन गरेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन्।
समसामयिक विषयलाई सरल पाराले गीतमा प्रस्तुत गर्न सक्ने क्षमता भएका गायक शर्माले दुई वर्ष अघि ‘लुट सके लुट’ सार्वजनिक गर्दा विवादित बनेका थिए।
रियाशा र नीराजन अभिनीत ‘टिकायाले हो’
रियाशा दाहाल र नीराजन प्रधान अभिनीत तीज गीत ‘टिकियाले हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। तिलक बस्नेत र मैयाँ खड्काको आवाज रहेको गीतमा गायक तिलककै शब्द सङ्गीत रहेको छ। यस गीतलाई सुदिप सागरले सङ्गीत संयोजन गरेका छन्।
राजु र शर्मिलाको ‘रिस मात्रै तगडा’
गायक राजु परियार, शर्मिला गुरुङ, टिका सानु, लक्ष्मी खड्का, राजकुमार बानियाको स्वरमा ‘रिस मात्रै तगडा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। निशान बानियाको शब्द रचना रहेको गीतलाई राजकुमार बानियाँले सङ्गीत भरेका छन्।
आफ्नो श्रीमतीको रिस मात्रै तगडा रहेको र अन्य कुरामा प्रगति गर्न नसकेको कुरा गीतमा भन्न खोजिएको छ। सासू काम गरिरहेको तर बुहारी भने लुकिलुकी टिकटक बनाउने कुरा पनि भिडियोमा देख्न सकिन्छ।
यस गीतको भिडियोमा गायक गायिका आफैले मोडलिङ गरेका छन्। गायक राजु परियार, शर्मिला गुरुङ, टिका सानु, लक्ष्मी खड्का, राजकुमार बानियाँ कै अभिनय रहेको गीतको भिडियोलाई निशान बानियाँले निर्देशन गरेका छन्। राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा शिव पौडेलको सम्पादन रहेको छ।
अन्जु पन्तको हिन्दी गीत ‘युँ ना हो जाता’
गायिका अन्जु पन्तले नेपाली संगीतमात्र नभई बलिउडका गीतमा समेत आवाज दिएकी छन्। उनले गाएको हिन्दी गीत ‘युँ ना हो जाता’ को भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ। डीआर अटुको सङ्गीतमा तयार पारिएको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन्। गीतमा प्रेमी प्रेमिकाबिचको माया प्रेमलाई समेटिएको छ। यस गीतलाई पवित्रा राईले लेखेकी हुन्।
गीतकार पवित्राले गीतमा सबै प्रेमिल मनहरूको भोगाइलाई समेटिएको बताइन्। उनले यो गीत आम दर्शक तथा श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताइन। हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन्।
शर्मिलाको ‘बारुली कम्मर’
नेपाली नारीको महान् चाड हरितालिका तीजको अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको मौलिक तिज गीत ‘बारुली कम्मर’ बुढा सुब्बा डिजिटलको युट्युब मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ।
नेपाली नारीको पिर र वेदनालाई ठट्यौली पारामा मनका भावना गीतमा पोखिएको छ। विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा रेणु थापा र रुसिल रुसिले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। दिवस गुरुङको छायाङ्कन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ।
साउन १, २०७८ शुक्रबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।