प्राध्यापक संगठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी
सुर्खेत : नेपाल राष्ट्रिय प्राध्यापक संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा तालाबन्दी गरेको छ।
वार्ताका लागि डिनको कार्यालयमा बोलाउँदा पनि विश्वविद्यालयका तर्फबाट कोही उपस्थित नभएर आफूहरूलाई बेवास्ता गरेको भन्दै प्राध्यापक संगठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो।
‘मिति २०७८/०३/२५ गते विभिन्न १५ बुँदे माग पत्र पेस गरेको र आज मिति २०७८/०३/३१ दिउँसो १२:१५ मा हाम्रो संगठनलाई वार्ताका लागि आह्वान गरेको आधारमा संगठनले ३ सदस्यीय वार्ता समिति गठन गरी वार्ता स्थल केन्द्रीय कार्यालयको व्यवस्थापन संकायको डिन कार्यालयमा तोकिएको समयमा उपस्थित हुँदा उक्त समयमा विश्वविद्यालयका तर्फबाट गठित वार्ता समितिका कोही पनि उपस्थित नभएकाले हाम्रो संगठनलाई मानहानी, नजरअन्दाज, अपहेलना गर्दै उपेक्षित गरेको हुँदा सो बदनियतपूर्ण कुकृत्यविरुद्ध बाध्य भएर तालाबन्दी गरिएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, विश्वविद्यालयले बेवास्ता गरी अगाडि बढेमा जस्तोसुकै आन्दोलनको कार्यक्रम ल्याउने र त्यसको भागीदार स्वयम विश्वविद्यालय हुने संघले जनाएको छ।
असार ३१, २०७८ बिहीबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।