कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउने लागिएपछि एमालेको विरोध
सुर्खेत : कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ।
एमालेले पेश्की बजेट ल्याउन सहमति दिँदादिँदै पनि रातारात संसदको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइनुलाई असंवैधानिक कदम भनेको छ।
‘सर्वोच्च अदालतले संसद पुनर्बहाली गरेका पार्टीका सांसदलाई मन्त्री पदबाट मुक्त गर्न र संविधान र कानुन अनुसार सरकार गठन गर्न माग गर्दै संसदमा आफ्ना कुरा राखिरहेका थियौं,’ संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यति हुँदा पनि पेश्की बजेट ल्याउन सहमति दिँदादिँदै सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोज्नु असंवैधानिक हो।’
उनले कर्णाली प्रदेश सरकार जनादेशबाट आत्तिएर अध्यादेशमार्फत चल्न खोजेको आरोप पनि लगाए। प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन पाउने संवैधानिक प्रावधान हुँदाहुँदै अलोकतान्त्रिक, गैरसंवैधानिक ढंगबाट अध्यादेशमार्फत बजेट ल्याइनु दुर्भाग्यपूर्ण भएको उनले बताए।
जनताको साझा थलो रहेको संसदलाई बन्दी बनाएकोले यो घटनाबाट सरकार सुरुदेखि नै संसदबाट बजेट ल्याउन नचाहेको प्रष्ट भएको बताए। उनले प्रदेशसभालाई सरकारले भूमिकाविहीन बनाएकोप्रति आक्रोस पोखे।
‘सरकारले जुन बाटो अंगाल्दैछ, त्यो संवैधानिक होइन, मूलबाटोबाटै हिँडाउनका लागि पेश्की खर्च विधेयकमार्फत एक तिहाइ बजेट ल्याउन सहमति दिएका थियौं,’ उनले भने, ‘सर्वदलीय बैठकमा एउटा सहमति गरेर जाने अनि मध्यरात जनादेशलाई लत्याएर अध्यादेशमार्फत बजेट ल्याउनु संसदको अपमानबाहेक केही होइन।’
संसदीय दलका नेता कँडेलले एउटै संसदभित्र एउटा दल प्रमुख प्रतिपक्ष र सत्तापक्ष नहुने भन्दै फ्लोर क्रस गरेर मन्त्री बनेकालाई सरकारले हटाउनुपर्ने बताए। उनले सर्वोच्चको आदेश अनुसार दलले सदस्यका रूपमा स्वीकार गरिसकेको र सभामुखले सदनलाई जानकारी गराइसकेको अवस्थामा पनि सरकारले राखिराख्नु संविधानविपरीत भएको बताए।
संसदीय दलका नेता कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरूका माग पूरा गर्नका लागि २३ गतेसम्मको समयसीमा मागेको पनि दाबी गरे।
कँडेलले ३० गते बेलुका छलफलका माध्यमबाट अघि बढ्ने सहमति भए अनुसार बिहीबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको भए पनि अघिल्लै राति संसद अधिवेशन अन्त्य गरिएकोमा आश्चर्य लागेको बताए।
असार ३१, २०७८ बिहीबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।