क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा रणवीर कपूरको चर्चा
एजेन्सी : क्रिकेटर सौरभ गांगुलीको जीवनीमा बायोपिक निर्माण हुने भएको छ।
भारतीय क्रिकेट टिमको कप्तान भइसकेका सौरभको बायोपिकमा चलचित्र निर्माणको घोषणा भएको हो।
भारतीय मिडिया टाइम अफ इन्डियाका अनुसार पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरभले आफ्नो बायोपिकका लागि चलचित्र निर्माणमा सहमति दिइसकेका छन् भने यो चलचित्रको शीर्ष भूमिकामा अभिनेता रणवीर कपूरको नाम चर्चामा छ।
रणवीरले नै यस चलचित्रको मुख्य भूमिकामा अभिनय गर्ने चर्चा चले पनि उनले कुनै प्रतिक्रिया भने दिएका छैनन्। चलचित्रको निर्माण लागत २ सयदेखि २ सय ५० करोड भन्दा बढी हुनेछ।
सौरभ भनेका छन्,‘हो, मैले बायोपिकका लागि मन्जुरी दिइसकेको छु। यो फिल्म हिन्दी भाषामा हुनेछ। मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ। सबै कुरा फाइनल भएपछि हामी फिल्मका बारेमा सार्वजनिक गर्नेछौँ।’
सौरभका भनाई अनुसार बायोपिक चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ। प्रोडक्सन हाउसले सौरभसँग स्क्रिप्टका लागि कैयौंपटक छलफल गरिसकेको छ भने अभिनेत्री नेहा धूपिया हुने पक्कापक्की जस्तै भएको छ।
यस बायोपिक चलचित्रमा सौरभ युवा क्रिकेटर बनेदेखि भारतीय राष्ट्रिय टिमको कप्तान नबनुञ्जेलसम्मको यात्रा देखाइनेछ। यसअघि पनि क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीनको बायोपिक चलचित्र निर्माण भइसकेका छन्।
असार ३१, २०७८ बिहीबार ११:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।