प्रधानमन्त्री देउवालाई वी.पी. प्रतिष्ठान संघर्ष समितिको पत्र, माग पुरा गर्न ४८ घण्टाको अल्टिमेटम 

प्रधानमन्त्री देउवालाई वी.पी. प्रतिष्ठान संघर्ष समितिको पत्र, माग पुरा गर्न ४८ घण्टाको अल्टिमेटम 

कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर समितिले पदाधिकारीहरूसँग वार्ता नगर्ने आफूहरूको अडान रहेकोले हस्तक्षेपकारी भूमिकाको निर्वाह गर्न आग्रह गरेका छन्। 

यस अघिपनि बारम्बार जानकारी गराएको स्मरण गराउँदै समितिले ४८ घण्टाभित्र मागहरू पुरा नभए साउन १ गते शुक्रबारदेखी आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको हो। बिहान ८ देखी १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्वनिर्धारित परीक्षा कार्यक्रमबाहेक सम्पूर्ण सेवाहरूमा उपस्थित नहुने संघर्ष समितिले घोषणा गरेको छ।

माग सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने पनि संघर्ष समितिले बताएको छ। ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिव स्तरीय वार्ता कमिटी गठन गर्नुपर्ने उनीहरूको माग छ। कुलपति तथा प्रधानमन्त्रीलाई पठाएको पत्रमा गत असार १५ गते वार्ताको क्रममा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको घटनाको पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। 

प्रतिष्ठानको अनियमितता, भ्रष्टाचार, बेथितिबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने र दोषी देखिएकालाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन संघर्ष समितिले माग गरेको छ।

आन्दोलन सशक्त बनाउने चेतावनी 

चिकित्सा शिक्षाका अभियन्ता डाक्टर गोविन्द केसीले एक महिनादेखि जारी आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छन्। धरान स्थिति प्रतिष्ठानमै पुगेर उनले आन्दोलनको माग पुरा नभए थप सशक्त बनाउने चेतावनी चेतावनी दिए। 

नेताहरूको व्यक्तिगत स्वार्थका कारण प्रतिष्ठानमा भ्रष्ट कर्मचारी नियुक्त गर्दा प्रतिष्ठानले दुर्दशा भोग्नु परेको डा. केसीको आरोप छ। राजनीतिक पार्टीका नेताहरूले खोलेका निजी अस्पताललाई लाभ हुने गरी सार्वजनिक संस्थानहरू दोहन गरेर धारासायी बनाइएको उनले बताए। 

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेमा पैसा तिर्छु भन्दा पनि गुणस्तरीय सेवा पाउन नसक्नु दुर्भाग्य भएको उनको भनाई छ। हाल आन्दोलनमा उठाइएका सबै विषय जायज भएको भन्दै उनले प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरे।

असार ३१, २०७८ बिहीबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।