ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा 

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा 

विशेष अदालतले आज (बुधबार) ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदारसँग १० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकम धरौटी तिरेर रिहा भएकाे अदालतका प्रवक्ता पुष्पकुमार पाण्डेयले जानकारी दिए।  

त्यसअघि अदालतमा आज भएको थुनछेक बहसमा सरकारी वकिलले बालुवाटारको ललिता निवास जग्गा अनियमिततामा जोडिएका गच्छदारसँग नौ करोड ६५ लाख रकम बिगो मागदाबी गरेका थिए। 

थुनछेक बहसमा सरकारी पक्षका वकिलले गच्छदार जग्गा अनियमिततामा संलग्न रहेको दाबी गर्दै पुर्पक्षका लागि थुनामा पठाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) र दफा १७ अनुसारको कसुरमा ९ करोड ६५ लाख ७६ हजार रकम बिगो मागदाबी गरेको थियो। 
लामो समयदेखि अदालतमा हाजिर नभएका गच्छदार बुधवार विशेष अदालतमा हाजिर भएका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तीमध्ये केही आरोपित विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटिसकेका छन् भने केही अझै थुनामै छन्। 
 

असार ३०, २०७८ बुधबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।