भारतबाट फर्केका युवाको गुनासो : व्यवसाय गर्दा पैसा र काम खोज्दा पावर चाहिने, दुबै छैन

भारतबाट फर्केका युवाको गुनासो : व्यवसाय गर्दा पैसा र काम खोज्दा पावर चाहिने,  दुबै छैन
निषेधाज्ञामा भारतका विभिन्न ठाउँहरूबाट आएका युवा मजदुरहरू वीरेन्द्रनगर सुर्खेतमा । तस्बिर : जगतदल जनाला विक

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियण्टका कारण उनले काम गर्ने होटेल बन्द भयो। होटेल बन्द भएपछि उनको रोजगारी गुम्यो। साहुले घर जान सल्लाह दिए।

गाउँका नातेदारसँग १० हजार रुपैयाँ सापटी मागेर गाउँमै ज्याला मजदुरी काम गर्ने योजनाका साथ नेपाल फर्किए उनी। 

१८ हजारसम्म भारतीय रुपैयाँ कमाएर आठ जनाको परिवार पाल्दै आएका दीपक अहिले बेरोजगार छन्। गाउँमै काम गरेर जीविका चलाउने योजनाका साथ नेपाल फर्किएका उनले काम पाउन सकेका छैनन्।

अर्काको देशमा गएर काम गर्न आफ्नो रहर नभई बाध्यता रहेको उनी बताउँछन्। 

‘भारत जानु मेरो रहर होइन बाध्यता हो, यहाँ काम नै नपाएपछि जहान केटाकेटी पाल्नकै लागी भए पनि होटेलमा काम गर्थेँ, त्यही पनि कोरोनाले खोस्यो,’उनले भने, ‘एक महिनासम्म बेरोजगार हुँदा भएको सबै पैसा सकिएपछि जे गर्छु, नेपालमै गर्छु भन्ने सोचले साथीहरूसँग भाडा सापटी लिएर गाउँ आएँ। अहिले काम विहीन भएर बसेको छु।’

ज्यालादारी लगायतका कुनै पनि काम नपाएपछि फेरि भारत जाने तयारी गरेको उनले बताए। 

गाउँमा रोजगारी नपाएका उनलाई सरकारले ल्याएका रोजगारीका कार्यक्रमबारे जानकारी छैन। परिवारलाई बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको दीपकले गुनासो गरे।

कोरोना महामारीमै कर्णालीबाट भारत लगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका करिब ५० हजारभन्दा बढी नागरिक कर्णाली प्रदेशमा भित्रिएको प्रहरीको तथ्याङ्क छ।

कोरोना महामारीले भारतबाट रोजगारी गुमाएर घर फर्किए पनि गाउँमा रोजगारी नपाउँदा समस्या परेको पञ्चपुरी–६ का लोग बहादुर रोकायाको गुनासो छ।

आफ्नै गाउँघरमा रोजगारीका अवसर नपाउँदा बालबच्चा कसरी पाल्ने हो भन्ने चिन्ताले आफूलाई पिरोल्ने गरेको उनले बताए।

यस्तै कालिकोट शुभकालिका गाउँपालिका–३ का डिल्लीप्रसाद चौलागाई पनि १८ वर्षदेखि भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत टिहरी गढवाल जान्थे। १६ वर्षको उमेरदेखि नै उनी भारत जान थाले थिए।

उनी हरेक वर्ष खेती लगाएर त्यहाँ ज्याला मजदुरी गर्न जान्थे। अनि बाली पाक्ने समयमा घर फर्कन्थे। तर यो वर्ष उनले सोचेजस्तो भएन।

‘मेरो त घरपरिवार पाल्ने मुख्य स्रोत नै भारत हो, तर एक वर्षदेखि कोरोनाका कारण न भारत जान पाएको छु, न गाउँमा नै नियमित रोजगारी पाएको छु,’उनले भने, ‘पाँच छोराछोरी र हामी दुई बुढाबुढी गरी सात जनाको परिवार भारतकै कमाइले पाल्दै आइरहेको थिएँ। अब अहिले कतै काम पाए मानोमुठो ल्याएर खुवाउँछु नपाएको दिन त चुलोमा आगो नै बल्दैन।’

दैलेखको आठबीस नगरपालिका–६ का उदयराम थापा भारतको बागेश्वरमा मासिक ३० हजार भारु कमाउँथे। त्यो पैसाले उनको परिवारको जीविका चलेको थियो। कोरोनाकै बिचमा उनी भारत गए, तर नियमित काम सञ्चालन नभएपछि पुनः घर आएर बसेका छन्।

गाउँमा केही पाउन सकेका छैनन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि उनी छनोट हुन सकेनन्।

‘भारतमा पनि काम पाइएन, गाउँ आएर पनि केही रोजगारी पाउन सकिएको छैन,’उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि छनोट गरेनन्, नेताहरूले सबै आफ्ना मान्छेलाई मात्र काम दिन्छन्।’

व्यवसाय गर्दा पैसा चाहिने र काम खोज्दा पावर चाहिने भएका कारण बेरोजगार हुनुपरेको उनको भनाई छ।

‘भारत गएर तिरौँला भनेर गाउँमै सयकडा तीन रुपैयाँ ब्याजमा ऋण लिएर घर व्यवहार चलाएको छु,’थापाले भने, ‘हामीलाई पनि आफ्नै गाउँघरमा काम पाएर घरपरिवारसँग बस्न मन छ, अर्काको देशमा कस्तो हुँदो रहेछ भन्ने कुरा त कोरोनाले पनि सिकायो।’

काम नपाएर बेरोजगार भएको उनीहरू प्रतिनिधि पात्र मात्रै हुन्। कर्णालीका हजारौँ युवा तथा मजदुरले कोरोनाका कारण रोजगारी गुमाएका छन्। तर स्थानीय र प्रदेश सरकारले भने उनीहरूका लागि रोजगारीको योजना ल्याउन सकेका छैनन्।

सरकारले सञ्चालन गरेका विभिन्न स्वरोजगारका कार्यक्रममा टाँठाबाठा र नेताहरूकै हालीमुहाली हुने गरेकोले आफूहरूको पहुँच नपुगेको गुनासो उनीहरूको छ।

असार ३०, २०७८ बुधबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।