विज्ञप्ति विवादमा राष्ट्रपति : शपथ लिन मानेनन् देउवाले

विज्ञप्ति विवादमा राष्ट्रपति : शपथ लिन मानेनन् देउवाले

काठमाडौँ : संविधानको कुन प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो सो नखुलाएको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथ लिन राष्ट्रपति कार्यालय गएका छैनन्।

६ बजे उनलाई शपथ खुवाउने तयारी थियो। देउवाको नियुक्तीबारे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको फैसला अनुसार भनेर उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए पनि राष्ट्रपति कार्यालयले त्यसको पालना नगरी संविधान अनुसार भन्दा पनि अदालतको आदेश अनुसार मात्रै राष्ट्रपतिमा नियुक्त भएको सन्देश दिएपछि देउवा विज्ञप्ति नसच्चिई प्रधानमन्त्रीको शपथ लिन नजाने अडानमा बसेका छन्।

जानकार स्रोतका अनुसार देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिको भाषाबारे आफू निकट कानुनविद्हरूसँग छलफल गर्दा सो विज्ञप्ति अनुसार शपथ लिए गैर संवैधानिक हुने सुझाव आएपछि उनी विज्ञप्ति नसच्चिई शपथ नलिने अडानमा बसेका छन्।

उकेरासँग कुरा गर्दै संविधानविद् भीमार्जुन आचार्यले संविधानको धारा उल्लेख नगरी हुने प्रधानमन्त्रीको नियुक्ति संवैधानिक नहुने टिप्पणी गरेका थिए।

असार २९, २०७८ मंगलबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।