विज्ञप्ति विवादमा राष्ट्रपति : संविधानको धाराविना प्रधानमन्त्री बन्न नसक्ने संविधानविद्को तर्क

विज्ञप्ति विवादमा राष्ट्रपति : संविधानको धाराविना प्रधानमन्त्री बन्न नसक्ने संविधानविद्को तर्क

काठमाडौँ : संविधानविद् डा भीमार्जुन आचार्यले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन नसक्ने बताएका छन्। राष्ट्रपति कार्यालयले संविधानको प्रावधान उल्लेख नगरी सर्वोच्च अदालतको फैसला अनुसार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेको' भन्दै विज्ञप्ति जारी गरेको थियो।

देउवा प्रधानमन्त्रीमा नियुक्तीबारे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिको भाषाबारे उकेरासँग प्रतिक्रिया दिँदै उनले नेपालको संविधान अनुसार संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुनै नसक्ने बताए। उनले यसमा राष्ट्रपतिले गम्भीर त्रुटि गरेको र विधानको धज्जी उडाएर देउवालाई संवैधानिक भन्दा विज्ञप्तिको प्रधानमन्त्री नियुक्त गर्न खोजेको उनको तर्क छ।

‘त्यो एकदम गलत छ। संविधान बमोजिम पनि गलत। हिजोको सर्वोच्चको फैसला बमोजिम पनि गलत। त्यो गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन,' उनले भने' नेपालमा नियुक्त हुने प्रधानमन्त्री संविधान बमोजिम हुने भएकाले हिजोको फैसलाले त्यो प्रक्रिया जुन बिन्दुमा थियो त्यही विन्दुबाट सुरु गर्नु भनेको थियो। त्यहाँ स्पष्ट संविधानको धारा ७६(५) बमोजिम नै भन्नुपर्ने। अब किन उहाँले त्यो भन्नुभएन।'

राष्ट्रपतिको सन्देश :  देउवा संविधान अनुसार नभई सर्वोच्चको फैसला अनुसारका प्रधानमन्त्री

उनले विज्ञप्तिको भाषा एकदमै त्रुटिपूर्ण रहेको र यो संविधानको धज्जी उडाउने काम भएको बताए। उनले संविधानको धारा बिना प्रधानमन्त्री बन्नै नसक्ने उल्लेख गर्दै देउवाले नै यसमा आपत्ति गर्नुपर्ने बताए।

सोमबार सर्वोच्चले गरेको फैसलामा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधि सभामा बहुमत पूर्याउनसक्ने दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति देउवामध्ये देउवालाई सोही प्रक्रिया अनुसार नियुक्त गर्न परमादेश जारी भएको थियो।

असार २९, २०७८ मंगलबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।