देउवाको सत्ता यात्रा : निर्वाचनमा सधै सफल , सुशासनमा असफल
काठमाडौं : विपक्षीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न विशेष अधिवेशन बोलाएपछि विसं. २०५२ मा एमालेबाट प्रधानमन्त्री चयन भएका मनमोहन अधिकारीले संसद् विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरे।
प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने विकल्प कायम रहेको अवस्थामा संसद् विघटन हुन सक्दैन भन्दै संसद ब्युँतिएपछि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री भए शेरबहादुर देउवा। उनी ४९ वर्षको उमेरमा २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए।
संयोग, ताजा जनादेशका लागि भन्दै एमालेका अध्यक्ष केपी ओलीले विघटन गरेको प्रतिनिधि सभा सोमबार ब्युँतिएपछि उनै देउवा असार २९ गते पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भए।
२०७४ को निर्वाचनमा कमजोर प्रतिपक्षी दलमा खुम्चिएका देउवाका लागि सत्तामा फर्कन अर्को निर्वाचन कुर्नुको विकल्प थिएन। एमाले र माओवादी केन्द्रको गठबन्धनले पाएको जनमतले कांग्रेस निकै कमजोर बनेको थियो। २०७९ को निर्वाचनबाट सत्तामा फर्कन पार्टीको पुनर्ठनमा मिहिनेत गर्नुपर्ने देउवा सुस्तै बसे।
जुनजुन दल मिलेर देउवालाई सत्ता बाहिर पुर्याएका थिए, अन्त्यमा तीनै दुई दलको किचलोले निर्वाचन अगाडि नै उनलाई प्रधानमन्त्री हुने ढोका खोलिदियो। हिजो ओलीलाई सत्तामा पुर्याउन प्रमुख सहयोगी बनेको माओवादी केन्द्र अहिले देउवालाई सत्तामा पुर्याउन प्रमुख सहयोगी बनेको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेकै माधवकुमार नेपाल समूहको एक सय ४६ सांसदको साथले उनी प्रधानमन्त्रीमा नियुक्त त भए। तर उनको यो पाँचौ यात्रा कति लम्बिने हो उनलाई नै जानकारी छैन।
निर्वाचनमा सधै जीत, सुशासनमा पराजित
ओलीको निरंकुश सत्ताको विकल्पमा देउवा प्रधानमन्त्री बनेका छन्। तर उनको कार्यशैली पनि त्यत्ति जनमुखी छैन। उनी जति पटक सत्तामा पुगे विवादमै परे। तर जनमतले भने सधैं उनलाई साथ दिंदै आएको छ।
२०४८ मा पहिलो पटक निर्वाचित भएर संसदको यात्रा सुरु गरेका उनी अहिलेसम्म पूर्व सांसद बन्नुपरेको छैन। उनले बारम्बार निराश बनाए पनि संसदीय निर्वाचनमा सुदूरपश्चिमबासीले उनलाई कहिल्यै निराश बनाएनन्।
कांग्रेसको आन्तरिक किचलोका कारण २०५१ मा भएको मध्यावधि होस् या २०५६ को संसदीय निर्वाचन, उनी डडेल्धुराबाट निर्वाचित भइरहे। २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा डडेल्धुरा, कञ्चनपुर र कैलालीबाट उठ्दा समेत उनले पराजयको सामना गर्नु परेन। २०७४ मा उनी डडेल्धुराबाट निर्वाचित भए।
सबै विवादमा
२०५२ मा प्रधानमन्त्री बनेका देउवा २०५८ साउन ११ मा दोस्रो पटक प्रधानमन्त्री बने। त्यसपछि उनको प्रधानमन्त्री यात्रा दोहोरिइरह्यो। २०६१ जेठ २१ मा तेस्रो पटक र संविधान जारी भएपछि २०७४ जेठ २४ मा उनी चौथो पटक प्रधानमन्त्री बनेका थिए।
उनी जति पटक प्रधानमन्त्री बने उनको यात्रा विवादमै टुंगिएको छ। सांसद् खरिद-बिक्रीदेखि पजेरो काण्डसम्म उनकै प्रधानमन्त्रीकालमा भएको थियो। राजनीतिक विकृतिमा मात्रै हैन, दु:खका साथ २०४६ मा आएको बहुदलीय प्रजातन्त्रलाई दरबारमा लगेर बुझाउने पृष्ठभूमि पनि उनैले तयार पारेका थिए।
०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम भन्दै हटाएका थिए। देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो।
आन्दोलन चर्किएपछि ज्ञानन्द्रले देउवालाई २०६१ मा पुनः प्रधानमन्त्री बनाएका थिए। राजाले पुनर्बहाली गर्ने भएपछि ‘गोरखाका राजाबाट न्याय पाएँ’ भन्दै गएका थिए। तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गरेका थिए।
यतिमात्र होइन, देउवा प्रधानमन्त्री भएकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग ल्याएर विवादित बनेका थिए।
सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने अधिकारमाथि हस्तक्षेप हुने गरी फैसला गरेको भन्दै प्रधानन्यायाधीश कार्की विरुद्ध महाभियोग दर्ता गरिएको थियो।
७५ वर्षको यात्रा
७५ वर्षका देउवाको जन्मथलो हो डडेल्धुरा। उनी २०२० सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका देउवा २०२८ मा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको निर्वाचित सभापति भएका थिए।
पञ्चायती व्यवस्थाको विरोध गरेका कारण देउवाले पटकपटक गरी १० वर्ष जेल परे। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा राजनीतिशास्त्रमा नै स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलो हुन्।
असार २९, २०७८ मंगलबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।