राष्ट्रपतिको सन्देश :  देउवा संविधान अनुसार नभई सर्वोच्चको फैसला अनुसारका प्रधानमन्त्री

राष्ट्रपतिको सन्देश :  देउवा संविधान अनुसार नभई सर्वोच्चको फैसला अनुसारका प्रधानमन्त्री

काठमाडौँ : नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुपर्ने हो। तर राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भने उनी संविधान अनुसार भन्दा पनि सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

सोमबार आएको फैसलामा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधि सभामा बहुमत पूर्याउनसक्ने दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति देउवामध्ये देउवालाई सोही प्रक्रिया अनुसार नियुक्त गर्न परमादेश जारी भएको थियो।

ओलीले पहिल्यै विश्वासको मत नपाएको र दोस्रो पटक आफैले विश्वासको मत पाउन नसक्ने स्वीकार गरेकाले देउवालाई संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिए पनि राष्ट्रपतिको कार्यालयले भने संविधान अनुसार भन्दा पनि अदालतको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पुष्टिको प्रयास गरेको छ।

यस अगाडि प्रधानमन्त्री नियुक्ति भएकोबारे राष्ट्रपति कार्यालयले जारी गर्ने विज्ञप्तिमा संविधानको कुन धारा अनुसार नियुक्त भएको सो उल्लेख गर्ने गरेको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोबारे जारी विज्ञप्तिमा भने' सर्वोच्च अदालत संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको' लेखिएको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिले शीतल निवास सर्वोच्चको आदेशप्रति असन्तुष्ट रहेको सङ्केत दिएको छ। सर्वोच्चले फैसलामै मङ्गलवार बेलुका पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। अदालतको आदेश कार्यान्वयन नभए त्यस्ता व्यक्ति पदमा बस्न योग्य नहुने समेत फैसलामा उल्लेख छ।

असार २९, २०७८ मंगलबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।