सुदूरपश्चिम मुख्यमन्त्री आवास कार्यक्रम : निर्माण अवधि घर्किन लाग्दा पनि लक्षित वर्गले पाएनन् घर 

सुदूरपश्चिम मुख्यमन्त्री आवास कार्यक्रम : निर्माण अवधि घर्किन लाग्दा पनि लक्षित वर्गले पाएनन् घर 

प्रदेश सरकारको पाँच करोड रुपैयाँको बजेटमा सीमान्तकृत समुदायको लागि कैलालीको भजनी, कञ्चनपुरको वेदकोट र डोटीको दिपायल सिलगढी नगरपालिकामा निर्माण थालिएका घर सम्पन्न हुन नसकेपछि तोकिएको अवधिमा लक्षित वर्गले घर पाउन नसकेका हुन्। 

चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी भजनी र वेदकोटमा २५–२५ र दिपायल सिलगढीमा ७ घर निर्माण गरिँदै छन्। 

पुस मसान्तबाट निर्माण थालिएका ती घरको भौतिक प्रगति निराशाजनक छ। चालू आर्थिक वर्ष सकिन लाग्दा भजनीमा ६५ प्रतिशत, वेदकोटमा ७५ प्रतिशत मात्रै काम भएको छ। यस्तै, डोटीको दिपायल सिलगढीमा २५ प्रतिशत हाराहारीमा काम भएको निर्माणाधीन घरहरूको प्राविधिक जिम्मा पाएको ह्याबिटेट फर हुमानिटीका कार्यक्रम अधिकृत राममणि चौधरीले जानकारी। 

लक्षित समुदाय भन्छन्– घर निर्माणमा प्राविधिक त्रुटि भएको छ 

भजनीका लक्षित समुदायका खुसीराम राजीले घर निर्माणमा ढिलाइ हुँदा आफूले फेरि घर बनाउनु पर्दा दोहोरो खर्च भएको गुनासो पोखे। 

‘नयाँ घर बनाइदिन्छु भन्दै गत पुसमा घर भत्काउन लगाए,’ भजनी नगरपालिका–७ का राजीले भने, ‘केही समय त्रिपालमुनि बस्यौँ। तर, घर निर्माणमा ढिलाइ भयो। बर्खाको समय पनि आएकाले अहिले हामीले फेरि काठको घर हालेका छौँ। हाम्रो दोहोरो खर्च भयो।’ 

उनले घर निर्माणमा प्राविधिक त्रुटिसमेत भएको बताए। 

‘घर त बनाउँदै छन्,’ उनले थपे, ‘निर्माण गर्दा प्राविधिक त्रुटि धेरै छ। कसैमा झ्याल राखेका छैनन्। २३ वटा घरको उचाइ धेरै कम छ। घर निर्माण सम्पन्न भइहालेमा पनि यी घरमा पङ्खा जडान गर्ने मिल्ने हैन। धेरै सानो घर निर्माण हुँदै छ।’

सुरुमा निःशुल्क घर निर्माण गरी हस्तान्तरण गर्ने भनिए पनि अहिले झ्याल राख्न रकम मागिरहेको उनीहरूको आरोप छ। 

लक्षित समुदायमध्येकी मिना राजीले ढलान (लेन्टर) वाला घर निर्माण गरिदिने आश्वासन दिए पनि अहिले घरमा टिनको छानो हाल्न थालिएको बताइन्। 

‘उद्घाटन गर्न मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरू आए। तर, त्यसपछि अनुगमनका लागि फर्किएनन्,’ उनले भनिन्, ‘मापदण्ड विपरीत घरहरू बन्दै छन्।’ 

घर निर्माणमा प्राविधिक त्रुटि नभएको सरकारी पक्षको दाबी

संस्थाका कार्यक्रम अधिकृत राममणि चौधरीले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले समयमै घर निर्माण हुन नसकेको बताए। 

‘प्राविधिक कमजोरी छैन,’ उनले भने, ‘भजनीमा २ घरमा काठको र २३ घरमा फलामको झ्याल राखेको हुनाले आकार फरक देखिन्छ। अरू सबै ठिक छ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालय अन्तर्गतको भूमि व्यवस्था तथा नाप नक्सांकन शाखा प्रमुख देवेन्द्र शाहले कोरोना महामारीको असर र ठेकेदार कम्पनीको लापरबाहीले समयमै काम नसकिएको बताए। 

‘समयमै काम हुन सकेन,’ उनले भने, ‘म्याद थप्ने तयारीमा छौँ। हामीले पटक–पटक अनुगमन गरेका छौँ। कुनै त्रुटि छैन, गति बढाउन निर्देशन दिएका छौँ।’

घर निर्माणमा भुक्तानी भएको रकमबारे  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छैन। 

असार २९, २०७८ मंगलबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।