अपराधमा पछुताइरहेकी मेरिना भन्थिन्, के मलाई समाजले स्विकार्ला ? आज रिहा भइन्
ख्याति श्रेष्ठको हत्यामा सहयोगीको भूमिका निभाएको पुष्टी हुँदै १६ वर्षकै उमेरमा कारागार चलान भएकी मेरिना १३ वर्ष चार महिनाको कैद सजाय भुक्तान गरेर रिहा भएकी हुन्। केन्द्रीय महिला कारागारमा रहेकी उनी पछिल्लो समय कारागारभित्रको विध्यालयकी प्रमुख र जेल नाइके भएकी थिइन्।
क्रूर हत्यामा रातदिन नजोडिए पनि उनको आचरणमा आएको सुधार र जिम्मेवारी अनुसार छुट हुने कैद सजायका कारण उनी १२ वर्षमा रिहा भएकी हुन्।
पक्राउ पर्दा उनी एसएलसी दिएर बसेकी थिइन्। प्रहरी अनुसन्धानकोक्रममा तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौँको हिरासतमा रहेकै बेलामा एसएलसीको नतिजा आउँदा उनी डिस्टिङसन सहित उत्तीर्ण भएकी थिइन्। उनले एसएलसीमा ८६.८७ अङ्क ल्याएकी थिइन्।
उनी सोमबारबाट कारागारबाट मुक्त हुँदा वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधि सहित बाहिरिएकी थिइन्। उनी कारागारमा रहँदा पनि महिला आधारभूत विद्यालयकी प्रिन्सिपल भएकी थिइन्।
२०७६ पुसमा यो पङतिकारसँग प्रिन्सिपलको अनुभव सुनाउँदै उनले भनेकी थिइन्' ‘मैले पढाउने प्रायः सबै हजुरआमा जस्तो उमेरको हुनुहुन्छ,’ मेरिनाले भनिन्, ‘अलि चर्को बोल्न पनि हुँदैन, चित्त दुखाइहाल्नुहुन्छ। बच्चाजस्तै हुनुहुन्छ केही त!’
२०६६ जेठ २२ गते अनामनगरमा रहेकी ख्याती हराएपछि खोजी गर्दा करिब एक महिनापछि विभिन्न स्थानमा उनको शरीरका टुक्राहरू फेला परेको थियो। गोङ्गबुमा भएको हत्या र शव ब्यवस्थापनझै वीरेनले मेरिनालाई उपयोग गरेर ख्यातिलाई नयाँ बजारमा रहेको आफ्नो डेरामा ल्याएर लट्ठाउने ट्याब्लेट खुवाएर बेहोस बनाएर हत्या गरेका थिए।
तत्कालीन अनुसन्धानमा खुले अनुसार ख्यातिको परिवारसँग परिचित वीरेनले ख्यातिको परिवारले उनलाई पाइलट बनाउन जम्मा पारेको पैसा फिरौतीका रूपमा लिएर क्यासिनोमा जुवा खेल्दा लागेको ऋण तिर्न र विदेश जान अपहरण गरी परिवारसँग फिरौती मागेको खुलेको थियो।
आफ्नै कोठामा वीरेनले ख्यातिको हत्या गरी शरीरलाई टुक्रा बनाएर ललितपुर, काठमाडौँ र चितवनमा लगेर फालेका थिए। फिरौती माग्न उनले अपनाएको शैली अनुसार कतै तराइमा तत्कालीन अवस्थामा आतङ्क मच्याएका कुनै सशस्त्र समूहको संलग्नता हो कि भनेर प्रहरीको विशेष ब्युरो समेत परिचालित भएको थियो। २० दिनपछि वीरेन सोर्हखुट्टे क्षेत्रमा पक्राउ परेपछि उनकै बयानको आधारमा विभिन्न स्थानमा फ्याकेको ख्यातिको शवका टुक्राहरू बरामद भएको थियो।
वीरेनको बयानमा सो घटनामा मेरिना समेत संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा एक म्यागेजिनमा अन्तर्वार्ता दिने भनेर पुतलीसडकबाट नयाँ बजारमा रहेको वीरेनको डेरामा लगेको, ह्यामरले हानेर ख्यातिको हत्यापछि शव व्यवस्थापनमा सघाएको, ख्यातिका कपडा लगाएका सामाग्री फ्याँक्न सघाएको दाबी गरिएको थियो।
सोही दाबी अदालतमा पुष्टि भएपछि हत्याको मतियारको रूपमा वीरेनसँगै उनलाई समेत कैद सजाय भएको थियो।
महिला कारागारमा २ वर्ष अगाडिको भेटमा मैले सोधेको थिए ‘जेलमा बस्दा पुरानो घटनाको रियलाइजेसन त हुन्छ होला है?’
प्रश्न सुनेर उनका आँखा आँसुले भरिएका थिए। भनिन्, ‘रियलाइजेसन ?’
–हजुर
सुकसुकाउँदै उनले भनेकी थिइन् ‘त्यो त भइहाल्छ ! सँगै पढेका साथीहरू कहाँ पुगिसकेँ। म बाहिर गएपछि जिरोबाट सुरु गर्नुपर्छ। सायद यो जुनीभर विगतले मलाई छोड्दैन। के मलाई समाजले स्विकार्ला ?’
उनलाई स्विकारोस्। नयाँ जीवनको शुभकामना।
असार २८, २०७८ सोमबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।