कांग्रेस सुनसरी सभापतिमा दुई उम्मेदवार, को कति बलियो ?  

कांग्रेस सुनसरी सभापतिमा दुई उम्मेदवार, को कति बलियो ?  

४ निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा सफलता पाएसँगै जिल्ला सभापति राजीव कोइरालाको नेतृत्व सफल देखियो।

प्रदेशसभाका उम्मेदवार रहेका कोइराला आफू पनि विजयी भए। हाल प्रदेश १ संसदीय दलका नेता रहेका कोइराला प्रदेश सभापति हुने लाइनमा छन्। 

दुई कार्यकाल सभापति भइसकेकाले विधानतः पुनः सभापति दोहोर्याउन नपाउने भएपछि उनले प्रदेशमा भूमिका खोजिरहेका छन्। 

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालादेखि गिरीजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र हो सुनसरी। 

पछिल्लो समय विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्की जस्ता केन्द्रीय नेताहरू सुनसरीबाटै निर्वाचित भएका हुन्। विगतदेखि नै राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्तिको उपस्थिति जनाउँदै आएको सुनसरीमा आगामी जिल्ला सभापतिको चर्चा बढेको छ। 

संस्थापन पक्षका सीताराम मेहेता सर्वसहमत भए सभापति हुने लाइनमा छन्। पूर्वसभापतिसमेत रहेका उनी संविधानसभा सदस्य तथा हाल प्रतिनिधिसभा सदस्य पनि हुन्। 

‘गरिबका नेता सीताराम मेहेता’ नाराले चर्चित भएका उनले सरल नेताको छवि बनाएका छन्। तर, सर्वसम्मत हुने सम्भावना एकदमै कम छ। 

सोही लाइनबाट निर्वाचनमा होमिने तयारीमा छन् उपसभापति सञ्जय श्रेष्ठ। श्रेष्ठले नेपाल विद्यार्थी संघ (नेविसंघ), काठमाडौं–सुनसरी सम्पर्क समितिबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०५४ सालमा तरुण दल जिल्ला सचिव र २०५७ सालमा सभापति भएका उनले नेपाली कांग्रेस विभाजन भई बनेको प्रजातान्त्रिक कांग्रेसको जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसपछि कुनै पदमा नरहेका उनी मनोनित उपसभापति हुन्। उनी २०७६ सालमा जिल्ला उपसभापतिमा मनोनित भएका हुन्। 

त्यसयता विभिन्न राजनीतिक कार्यक्रममा उपस्थित भइरहेका छन्। संस्थापन पक्षको उर्वर जिल्ला हो सुनसरी। गच्छदार, कार्की, मीन विश्वकर्मा सुनसरीमै रहेकाले श्रेष्ठलाई बल पुगेको छ। 

पार्टी समायोजनमा वितरण गरिएको क्रियाशील सदस्यताले उनलाई टेवा दिने देखिन्छ। 

नेविसंघलगायत भ्रातृ संगठनमा संस्थापन पक्षको बलियो प्रभाव छ। नेविसंघ केन्द्रीय सभापति राजीव ढुंगाना, पूर्वउपसभापति विकास केसीसमेत श्रेष्ठलाई सभापति बनाउन लागिपरेका छन्। 

टिमले उनलाई सभापतिको उम्मेदवार बनाए पनि उनी आफू भने खुलेर प्रचारप्रसारमा लागेका छैनन्। केही दिन ‘पर्ख र हेर’को तयारीमा छन् श्रेष्ठ। 

उता दुई कार्यकाल सचिव भइसकेका केदार भण्डारी सभापतिका अर्का बलिया दाबेदार हुन्। सचिव हुँदाताका जिल्लाका हरेक कार्यकर्तासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पुगेका उनी संस्थापन इतर पक्षका एकल उम्मेदवार हुन्। हालका सभापति कोइरालाले साथ दिने भएपछि उनले आफू विजयी हुने विश्वास लिएका छन्। 

सभापतिको उम्मेदवारीसहित कार्यकर्तामाझ भेटघाट तीव्र बनाएका छन् उनले। 

कांग्रेसलाई कमजोर हुन नदिने वाचासहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। संस्थापन इतरपक्षको तरुण दल, किसान संघ, महिला संघमा बलियो प्रभाव छ। सभापति कोइराला आफै पनि इतर पक्षकै भएको कारण पूर्ण साथ र समर्थन पाउने उनको विश्वास छ। अघिल्लो अधिवेशनमा निर्वाचित सचिव भएको हिसाबमा पनि सभापति जित्ने थप विश्वासमा छन् भण्डारी। तर, समायोजनमा थपिएको क्रियाशील सदस्यता र नयाँ क्रियाशीलले उनीमाथि चुनौती बढाएको छ। 

२०४३ सालमा नेविसंघबाट राजनीति सुरु गरेका भण्डारी २०५४ सालमा कानुन व्यावसायीको संस्था नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष भए। त्यसैगरी २०५६ सालमा प्रजातान्त्रिक कानुन व्यावसायी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका हुन्। 

कांग्रेसको गढ बचाई राख्ने संकल्पका साथ उनले नेतृत्व दाबी गरेका छन्। आफू नेतृत्वको लागि सम्पूर्ण हिसाबमा तयार भएकाले विकल्पबारे सोच्न नसक्ने बताए। 

दुई कार्यकाल सचिव भएर सुनसरीका सम्पूर्ण कार्यकर्ताको भावना बुझिसकेकाले अब काम गर्ने गरी नेतृत्व लिन चाहेको उनको भनाइ छ। ‘जिल्ला सभापति हुनेमा म ढुक्क छु। सकेसम्म सहमतिकै प्रयास भइरहेको छ। निर्वाचन भयो भने पनि म तयारै छु। सुनसरीमा कांग्रेसको जुन गढ बनेको छ, यसलाई जोगाइराख्ने मेरो मुख्य जिम्मेवारी हो। म कांग्रेसलाई कमजोर हुन दिन्न,’ उनले भने। 

सुनसरीमा पछिल्लो दुई दशक जिल्ला सदरमुकाम इनरुवाले मात्र नेतृत्व गरेको आरोप लाग्दै आएको छ। १४ औं महाधिवेशनमा पनि संस्थापन पक्षका उम्मेदवार सञ्जय श्रेष्ठ र संस्थापन इतरका भण्डारी दुवै इनरुवाका हुन्। सभापति इनरुवाको भए पनि पदाधिकारीमा सबैतिरका कार्यकर्ता समेटिने सुनाउँछन् भण्डारी। 

क्षेत्रीय कुरा गर्न थाल्यो भने पार्टी कमजोर हुने भन्दै उनले यो अनावश्यक बहस भएको बताए।

असार २८, २०७८ सोमबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।