कर्णाली प्रदेश : एमालेले आज पनि गर्याे प्रदेशसभा बैठक अवरुद्ध
प्रदेशसभामा बजेट पेस भएयता निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको एमालेले बैठक अवरुद्ध गरेपछि बजेटमाथिको छलफल हुन सकेको छैन। आजको बैठकमा पनि बजेटमाथिको छलफल गर्ने कार्यसूची थियो।
फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जना एमाले सांसद् (अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा) सरकारबाट फिर्ता नआएको भन्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ।
आइतबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद्ले उठेर अवरोध गरेका थिए।
एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए। ‘हाम्रो दलको एउटै माग छ, सरकारले जबसम्म आफ्ना गल्ती सच्याउँदैन, तबसम्म सदनको कारवाही अगाडि बढ्न सक्दैन,’ सांसद रोकायले भने।
सांसद रोकायले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका थिए।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शाही र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बुढा सरकारबाट फिर्ता नआएसम् संसद् चल्न नदिने एमालेको चेतावनी छ ।
गत वैशाख ३ गते थापा, शाही र बुढासहित प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। तीमध्ये थापा, शाही र बुढालाई मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए।
फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उनीहरूलाई एमालेले सांसद पद र साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यसपछि तीनै जनालाई मुख्यमन्त्री शाहीले स्वतन्त्र नागरिकको हैसियतमा मन्त्री नियुक्त गरेका थिए।
जेठ २७ गते सर्वोच्च अदालतले चार जनाको सांसद् पद पुनःस्थापित गरिदिएको थियो।
त्यसयता एमालेले फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जना सांसदहरु सरकारबाट बाहिरिनुपर्ने माग राख्दै आएको छ। तर, तीनै जना तत्काल सरकारबाट नबाहिरिने अडानमा छन्। एमालेको यही आन्तरिक विवादका कारण असारदेखि सदन अवरुद्ध छ।
असार २७, २०७८ आइतबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।