कर्णालीमा बर्सेनि बढ्दै बलात्कार

कर्णालीमा बर्सेनि बढ्दै बलात्कार

सुर्खेत : कर्णाली प्रदेशमा बर्सेनि बलात्कारका घटना बढ्दै गएका छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १ सय ९० बलात्कारका घटना घटेका थिए। आर्थिक वर्ष २०७६/७७ मा त्याे संख्या बढेर १ सय ९९ पुगेकाे थियाे।  

चालु आर्थिक वर्षको हालसम्म १ सय ८७ वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भइसकेको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुन चन्दले जानकारी दिए।

चालू आर्थिक वर्षमा जिल्लागत आधारमा प्रदेशमा सबैभन्दा बढी सुर्खेतमा बलात्कारका घटना देखिएका छन्। एएसपी चन्दका अनुसार चालु आर्थिक वर्षमा सुर्खेतमा ६७ वटा बलात्कारका घटना दर्ता भएका छन्।

यस्तै, सल्यानमा ३५, दैलेखमा २५, जाजरकोटमा १५, रुकुममा १३, हुम्लामा १०, जुम्लामा ९, कालिकोटमा ४ र मुगुमा ३ वटा बलात्कारका घटना सार्वजनिक भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

सुर्खेतमा आर्थिक वर्ष ०७५/०७६ मा बलात्कारका ६७ घटना भएका थिए। सोही वर्ष जबर्जस्ती करणी उद्योगअन्तर्गत १९ वटा घटना घटेका थिए। यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बलात्कार का ८३ घटना घटेको उनले जानकारी दिए। 

उजुरी आए पनि कमै मुद्दा मात्रै अदालतसम्म पुग्ने गरेको र होस्टाइलसमेत हुने गरेको उनले बताए। गाउँमा भएका बलात्कारका घटना अझै पनि लुकाउने तथा मिलाउने गरिएकाले यसको अन्त्य गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने एसएसपी चन्दको भनाइ छ।
 

असार २६, २०७८ शनिबार २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।