एनजीओकोे जागिर छोडेर कुखुरा पालन रोजेका ध्रुव  !

एनजीओकोे जागिर छोडेर कुखुरा पालन रोजेका ध्रुव  !

सुर्खेत : पञ्चपुरी नगरपालिका–८ दुलालथाईका ३५ वर्षीय ध्रुव बोगटी बिहानदेखि बेलुकासम्मै कुखुरा फर्ममा व्यस्त हुन्छन् ।

कुखुरालाई दानापानी दिनेदेखि खोर सरसफाइ नै उनको दैनिकी हो। कोरोना महामारीका कारण बेरोजगार युवाको सङ्ख्या बढिरहेको बेला ध्रुव भने २४ सै घण्टा काममा व्यस्त छन्। रोजगारीका लागि भारत लगायत अन्य मुलुकबाट फर्कने युवाहरूलाई उद्यमीका लागि रोजगार र सीप सिक्ने उत्तम समय रहेको उनको अनुभव छ।

४ वर्षसम्म ‘भिडीसेफ’ नामक गैर सरकारी संस्थामा कार्यक्रम संयोजक भएर कालिकोटमा काम गरेका उनले चितवन, बुटवल, पाल्पा र पूर्वी नेपालका विभिन्न स्थानमा कृषि तथा पशुपालनबारे अवलोकन गर्ने मौका पाए। 

अवलोकनकै क्रममा कुखुरा पालन गरिरहेका कृषकसँग धुर्वले सोधेका थिए ‘यी कुखुराले अण्डा दिन छोडिसकेपछि के गर्नु हुन्छ ?’ उत्तरमा कृषकले ‘अण्डा दिन छोडेपछि कालिकोट, जुम्ला, डोल्पा जस्ता बिकट जिल्लामा मासुका लागि पटाउँछौँ ।’ 

ध्रुवलाई मनमा लाग्यो अण्डा सकिएर हड्डी मात्र भएका कुखुरा पनि तँछाडमछाड, गरेर हामीले खाँदा रहेछौँ । झन् राम्रा स्वस्थ कुखुरा भए यसको व्यवसायको राम्रो सम्भावना देखे उनले। उनले एनजिओको जागिर छोडेर गाउँ फर्किए अनि लोकल कुखुरा पाल्ने निर्णय गरे।

‘कृषि क्षेत्रसँगै सम्बन्धित एनजिओमा जागिर गर्थेँ, सोही क्रममा देशका विभिन्न ठाउँमा कृषि तथा पशुपक्षी पालनको अवलोकन गर्ने अवसर पाएँ,’धुर्वले भने, ‘लोकल कुखुरा पालनमा राम्रो सम्भावना देखेपछि मासिक ५० हजारको जागिर छोडेर व्यवसायमा होमिएँ।’

गाउँ घरकै वातावरणमा हुर्कन सक्ने र  बजारमा राम्रै आम्दानी गर्न सकिने देखेपछि उनी लोकल कुखुरा पालनमा लागे। यसमा फाइदा हुन्छ भन्नेमा ढुक्क थिए ध्रुव।

२०७६ सालमा ‘कर्णाली एग्रोफर्म’ मार्फत १२ सय कुखुराबाट व्यवसायलाई सुरुवात गरेका बोगटीले सुरुमा नै १० लाख रुपैयाँ लगानी गरे। अहिले ३५ लाखको लगानीमा थप २१ रोपनीमा लोकल कुखुरा फार्म बनाएका छन्। 

व्यवसाय सुरु गरेको पाँच महिनापछि सबै कुखुरा बिक्री गरे। लागेको सबै खर्च कटाएर चार लाख नाफा भयो।

अहिले बोगटीले आफ्नै फर्ममा ह्याचरी मेसिन राखेर चल्ला समेत उत्पादन गर्दै आएका छन्। अहिले पनि उनको फर्ममा एक हजारभन्दा बढी कुखुरा बिक्री गर्ने तयारीमा छन्।

यसरी होलसेलमा कुखुरा पालन गर्दा बिक्री गर्ने बेलासम्म एउटा कुखुरामा ५ देखि साढे ५ सयसम्म लगानी लाग्ने उनी बताउँछन्।

उनले अहिले सुर्खेत, कालिकोट, जुम्ला लगायतका ठाउँमा कुखुरा पठाइरहेका छन्। 

‘एकै पटक धेरै कुखुरा पाल्दा त्यसको लागत कम पर्न जान्छ। एउटा कुखुरा बिक्री गर्दासम्म ५ देखि साढे ५ सयसम्म लागत लाग्ने गर्छ,’ उनले भने, ‘मैले व्यवसाय गर्दा बजारको कुनै औपचारिक अध्ययन नगरे पनि कर्णालीमा यसको राम्रो सम्भावना छ।’

ध्रुवसँगै पढेका साथीहरू सरकारी तथा गैरसरकारी संस्थामा जागिर खाएर होस् या विदेश गएर महिनामा लाखौँ कमाए पनि कुखुरा पालनले आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछन्।

‘म सँगै पढेका साथीहरू कोही सरकारी, कोही गैरसरकारी सङ्घ संस्थामा जागिर खाएका छन् भने कसैले विदेशमा राम्रै कम्पनीमा काम गर्छन्,’उनले भने, ‘तर जे जति भए पनि अरूको काम गर्न र आफ्नो काम गर्न फरक पर्छ, त्यसैले म आफ्नो कामप्रति सन्तुष्ट छु।’

६ महिनामै बजारमा कुखुरा पठाउन सकिने हुँदा कुल लगानीको ४० प्रतिशत भन्दा बढी आम्दानी गरिरहेको धुर्वले बताए।

बोगटीले ४ जना युवाहरूलाई फर्ममा रोजगारी समेत दिएका छन् । कुखुरा पालनबाटै आफ्नो व्यवहार्य राम्ररी चलेको उनले सुनाए। कुखुरा पालन गर्न लागेको दुई वर्ष भए पनि लगानी अनुरूपको अनुदान र प्रोत्साहन कुनै निकायबाट पाउन नसकेको उनको गुनासो छ। 

सरकारी अनुदान वास्तविक केही गर्छु भन्ने कृषकको पहुँचमा नपुगेको उनको भनाई छ।

असार २६, २०७८ शनिबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।