प्रदेश १ मा सिमेन्टका मूर्ति बनाउन करोडौँ खर्च, मुख्यमन्त्री भन्छन् : ‘यो सामान्य हो’
इटहरी : प्रदेश १ सरकार बिलासी बनेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्। असार २५ गते शुक्रबारको संसद् बैठकमा सांसदहरूले प्रदेश सरकार अनावश्यक सेवा सुविधामा केन्द्रित भएको भन्दै प्रश्न उठाए।
मुख्यमन्त्री शेरधन राईको काठमाडौँमा सम्पर्क कार्यालय रहेको र अनावश्यक खर्च बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रश्न गरेका हुन्। सम्पर्क कार्यालयको नाममा खर्च बढाएर प्रदेशका जनता माथि कुठाराघात गरेको उनको आरोप छ।
आफूहरूले संसदमा प्रश्न गर्दा ‘प्रमाण ल्याउनुस्’ भनेर सरकारले आफ्नो बचाउ गर्ने गरेको उनले बताए। ‘पहाडी जिल्लाको लागी सम्पर्क कार्यालय धनकुटामा बनाउने तर वर्ष दिनमा एक दिन पनि पाइला नटेक्ने काठमाडौँमा मोजमस्ती गर्नको लागी प्रदेशका जनताको पैसा लगेर खर्च गर्ने अधिकार प्रदेश सरकारलाई छैन,’ उनले भने।
काठमाडौं महाराजगन्जमा मासिक ३ लाख ५१ हजार ५ सय रुपैयाँ भाडा पर्ने घरमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय सञ्चालनमा छ। कार्की सहित प्रदेशसभामा बोल्ने सांसदहरूले सरकार बिलासी बन्दै गएको भन्दै विरोध जनाए।
सरकारले विकास बजेट कटौती गरेर मन्त्रीका लागि गाडी खरिद गरेको भन्दै आलोचना भएको छ। प्रतिपक्षी दल माओवादी केन्द्रका संसद् मोहनकुमार खड्काले प्रदेश सरकारले अनावश्यक क्षेत्रमा बजेट विनियोजन गरेको बताए। राजनेता पार्क भनेर अमूर्त शीर्षकमा बजेट विनियोजन भएको उनको भनाई छ।
कोरोना महामारीका कारण जनता आक्रान्त भइरहँदा भ्याक्सिन किनेर सुरक्षा दिनुपर्ने बेला सिमेन्टका मूर्ति बनाउन करोडौँ खर्च गर्नु लज्जास्पद भएको उनले बताए। ‘सुक्खा क्षेत्रमा पिउने पानीको अभाव छ। खेतीयोग्य जमिनमा सिचाइको अभाव कायमै छ। कृषि उपज उत्पादनले बजार पाउन सकेको छैन। अनि राजनेताको परिभाषा प्रस्ट नभएको शीर्षकमा करोडौँ बजेट विनियोजन भएको छ। कम्युनिस्ट पार्टीले चलाएको सरकारले राणाकालमा पुर्खाको सालिक बनाएजस्तो काम गर्न थालेको छ,’ उनले भने।
सत्तारुढ नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले ‘कम्युनिस्ट सरकारले किन फजुल खर्चमा लगानी गरेको?’ भन्दै प्रश्न गरे। ‘महंङ्गा गाडी चढ्नै पर्ने हो र? मन्त्री फेरिने बित्तिकै महंङ्गा फर्निचर फेर्नुपर्ने के आइलाग्यो? पुरानो गाडीले नभएर करोडौँका नयाँ किन चाहियो,’ उनको प्रश्न छ। काठमाडौँमा कुनै जरुरी नभएको सम्पर्क कार्यालय खोलेर सरकारले खर्च बढाएको उनको भनाई छ। त्यसको सट्टा मुख्यमन्त्री काठमाडौं गएको बेला ५ तारे होटेलमा बस्दा धेरै खर्च जोगिने उनले बताए।
प्रदेशको विकासका लागि काठमाडौँमा सम्पर्क कार्यालय
संसदमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले आफूले चढ्दै गरेको गाडीको मूल्य थाहा नभएको बताएका छन्। अरू मन्त्रीहरूको पनि गाडीको मूल्य अब आफूले अध्ययन गर्ने उनको जवाफ छ। सरकारमा गाडी मोह नभएको भन्दै आफू खर्च कटौतीमा लागेको उनले सुनाए।
‘यो सामान्य कुरा हो। काठमाडौँमा रहेको सम्पर्क कार्यालय प्रदेशको विकास र सङ्घीयता संस्थागत विकासका लागि खोलिएको हो। सरकारको इज्जत, प्रतिष्ठा र मर्यादाका लागि सम्पर्क कार्यालय राख्नु पर्छ भनेरै खोलिएको हो,’ उनले भने,‘निजी क्षेत्रलाई आकर्षित गर्न र वैदेशिक लगानी भित्राउनको लागी कार्यालय खोलिएको हो।,’ उनले जवाफ दिँदै भने, ‘म सिँचाइको पुरानो गाडी चढ्दै थिएँ। गाडी मर्मतमा हैरानी थियो। मुख्यमन्त्रीका लागि भनेर नयाँ सेतो गाडी आयो, त्यसपछि मूल्य नसोधी गाडी चढियो। कति मूल्यको भनेर ध्यान दिइन अब ध्यान दिन्छु।’
प्रदेश १ प्रदेशसभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले पेस गरेको विनियोजन विधेयकको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो। विधेयक पारित भएपछि आर्थिक वर्ष २०७८/०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ।
बजेट अधिवेशनको १२ औँ बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढङ्गले प्रस्तुत भएको भन्दै माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गराउँदै आएको थियो। प्रदेशसभा सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आउन चेतावनी दिएपछि मन्त्री गुरुङले माफी माग्नुपर्ने भन्दै संसद् अवरुद्ध हुँदै आएको थियो। शुक्रबार सभामुख प्रदीप कुमार भण्डारीले गुरुङको सम्बोधन संसद्को रेकर्डबाट हटाउने जानकारी गराएपछि संसद् बैठक सञ्चालन भएको थियो।
असार २६, २०७८ शनिबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।