गोंगबु क्रूर हत्याको पूर्ण पाठ : ‘मिटिङ अफ माइन्ड’ नदेखिँदा छोरीलाई सफाई, आमाको बयान पत्याएन

गोंगबु क्रूर हत्याको पूर्ण पाठ : ‘मिटिङ अफ माइन्ड’ नदेखिँदा छोरीलाई सफाई, आमाको बयान पत्याएन

शव यति व्यवस्थित गरिएको थियो की जेब्रा झोला भित्र कालो प्लास्टिक २ झोला गाँठो पारिएको थियो। अर्को पोको फुकाउँदा मान्छेको टाउको फेला पार्यो।

अर्को झोला गोंगबुको नवज्योति मार्गमा फेला परेको थियो।। त्यहाँ भेटिएको झोला नाम्लो र प्लास्टिकले बेरिएको थियो। खोलेर हेर्दा घाँटी देखि माथिको भाग काटिएको, दुवै हात खुम्चिएर छाती माथि रहेको दुवै खुट्टाको घुँडा देखिको मुनिको भाग काटिएको अवस्थामा पुरुष शव फेला पर्यो। टुक्रा बनाएर फालिएको शव थियो कृष्णबहादुर बोहोराको।

अनुसन्धान गर्दै जाँदा टोखाकै नवज्योति मार्गमा डेरामा बस्ने कल्पना मुडभरी र उनकी नबालिका छोरी पक्राउ परिन्। प्रहरीले अनुसन्धानमा हत्या कल्पनाले गरेको र शव फाल्न उनको छोरीले सघाएको दाबी गरेको थियो।

त्यही अनुसार मुख्य प्रतिवादी कल्पना बनिन् र सहयोगी उनको छोरी।

बोहोराको हत्या कल्पनाले गरेको र उनको छोरीले बाथरुममा राखेको शव बोक्न आमालाई सघाएको र शव फाल्न जाँदा पानी परेकाले आमालाई छाता ओढाएर घरदेखि २ सय मिटर टाढासम्म पुगी किनारामा शव सहितको सुटकेस फालेर घरमा आएर बसेको दाबी गरिएको थियो।

स्थानीय र प्रहरीले हल्लाखल्ला गर्दा समेत कुनै प्रतिक्रिया नजनाई आमा कल्पनाले भने बमोजिम सहयोग गरेर फरार भएर हत्यामा मतियार भएको दाबी थियो।

काठमाडौँ जिल्ला अदालतमा थुनछेकको बहसमा दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आयो। कल्पना कारागार चलान भइन्। छोरी बालबालिका भएकाले बाल सुधार गृह पुगिन्।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमा २०७७ पुस १६ मा छोरीलाई पुर्पक्षको साटो अभिभावकको जिम्मा लगाउन आदेश आएको थियो।

आदेशमा नाबालिकाले‘आमाले फोहोर हो भनेकाले फोहोर फाल्न सघाएको। त्यसमा शव छ भन्ने थाहा नभएको’ बयानलाई आधार मानिएको थियो।

२०७७ फागुन १३ गते काठमाडौँ जिल्ला अदालतको बाल इजलासले नाबालिकालाई हत्याको मतियारको अभियोगबाट सफाइ दियो।

सफाइको आधार अदालतको बयान

सफाइ दिँदा अभियोग पत्रमा शव फाल्न सघाएको दाबी गरिए पनि अदालतको बयान सुटकेसमा फोहोर छ भनेकाले सघाएको भनेर उनले अदालतमा दिएको बयानलाई मुख्य प्रमाण मानिएको थियो।

त्यो बेलामा फैसला आए पनि फैसलाको पूर्ण पाठ भने आएको थिएन। हालै अदालतले सो फैसलाबारे पूर्ण पाठ तयार पारेको छ। जसमा अपराधमा कल्पनाको भूमिका र नाबालिकाको संलग्नताबारे विस्तृतमा उल्लेख गरिएको छ।

अभियोग पत्रमा बालिका उपर उनको आमा कल्पनाले बोहोराको ज्यान मार्ने नियतपूर्वक कार्यमा जानकार भएर पनि कुनै प्रतिक्रिया नजनाई आमाको योजनालाई सफल गराउनका लागि बाथरुममा राखेको शव आमालाई बोक्न सहयोग गरेको दाबी गरिएको थियो।

‘शव फाल्न जाँदा बाहिर पानी परेकाले आमालाई छाता ओढाउँदै घरदेखि २ सय मिटर टाढा सडकसम्म पुगी किनारामा शव सहितको सुटकेस फालेर घर आइ बसेको, स्थानीय मानिस र प्रहरीले हल्ला खल्ला गर्न समेत कुनै प्रतिक्रिया नजनाई आमाले भने बमोजिम सहयोग गरी घटनास्थलबाट फरार भई नियतपूर्वक ज्यान मार्ने कार्यमा मतियार भएको’ अभियोगकर्ताको दाबी थियो।

बयानमा बालिकाले २०७७ साउन २४ गते बोहोरा हातमा रुस्लान भोड्का बोकेर कोठामा जथाभाबी बोल्दै आए अट्याच रुममा बसेर भोड्का ग्लासमा हालेर पिउँदै आमाले दिएको मासु चिउरासँगै खाएको उल्लेख गरेकी छिन्।

‘खाने क्रममा बोहोराले जथाभाबी बोलेकाले भाइ टिभी कोठामा गए भने आमा किचनतिर गएको अवस्थामा बोहोरासँग किन अबेलासम्म बसेको भनेर सामान्य विवाद भएको अवस्थामा आमाले यहाँ नबस तिम्रो कोठामा जाऊ भनेर पठाएको’ उनले बयान दिएकी थिइन्।

‘टिभी रुममा गएर सुते। आमाले २–४ दिन अगाडिदेखि अब चितवन जानुपर्छ भन्नु भएको थियो। रातको करिब २ः४५ मा आमा भाइ र म सुतेको कोठामा आएर फोहोर फाल्न जानु छ, छिटो उठ भनी बोलाएकाले म उठेर बाथरुमभित्र रहेको शव रहेको सुटकेस ममीले नाम्लो लिई बोक्न नसकेकाले मैले धकेली दिएको हो,’ अनुसन्धानकर्तासँगको बयानमा उनले भनेकी छिन्‘ शव फाल्न बाहिर जाँदा पानी परिरहेकाले आमालाई छाता ओढाएर सुटकेस फाली फर्किएर आएर सुतेको हुँ।’

तर उनले अदालतमा बयान गर्दा उनको बयान बदलियो। अदालतमा गरेको बयानमा ‘खाजा खाने समयमा बोहोरा आएकाले सँगै बसेर खाजा खाएको, आमा किचन रुममा गएर भाँडा माझिरहेको बेलामा बोहोराले जबरजस्ती गर्न थालेको र चिच्याउँदै ममीलाई बोलाएको, आमा आएर बोहोरा र उनलाई  छुट्टाएको दाबी गरेकी छिन्।

‘म रुद्धै टिभी कोठामा गए। रुँदारुँदै कातिबेला निदाए थाहा भएन। एक्कासि आमाले २ः३०–३ बजेतिर उठाउनु भयो,’ अदालतको बयानमा उनले भनेकी छिन्‘ राती उठाएर फोहोर फाल्न जानुपर्यो भन्नुभयो। सुटकेसमा फोहोर छ भन्नु भएको र त्यसलाई धकेल्न भनेकाले धकेलिदिएको हो। फोहोर फालेर आए पनि म निन्द्रामा थिए। कति बजे उठाइन याद भएन। घटनाबारे प्रहरी कार्यालयमा आएपछि थाहा भएको हो।’

फैसलामा नियतपूर्वक ज्यान मार्ने कार्यमा मतियार भई मुलुकी अपराध संहिता अनुसार कसुरको मागवादी लिइएकोमा बालिका १५ वर्षको नाबालिक रहेको, अदालतमा बयान गर्दा शव रहेको सुटकेस फोहोर हो भनेर आमाले भनेकोमा फोहोर फाल्न सहयोग गरेकोसम्म हो भन्ने ब्यहोरा खुलाएको भन्दै ‘मृतकलाई मार्न नाबालिगको स्पष्ट ‘मिटिङ अफ माइन्ड’ समेत नदेखिएको र वादी पक्षले स्थापित गर्न नसकेको भन्दै सफाइ दिएको थियो।

मानवीय संवेदनाको कुनै अंश बाँकी नरहेको

अदालतले उनको आमा कल्पनालाई भने क्रूर हत्यामा जन्मकैदको सजाय सुनाएको थियो। 

‘बोहोराको निर्ममतापूवर्क हत्या गरी ज्यान मार्ने कसुर गरेको र उक्त कार्य गर्दा प्रतिवादीमा मानवीय संवेदनाको कुनै अर्श बाँकी नरहेको र बोहोरालाई अत्यन्त क्रूर वा निर्ममतापूर्वक ज्यान मारेको’ भन्दै जन्मकैद ठहर्ने फैसला आयो।

अदालतले हत्याको कारण कल्पनाले बोहोरासँग पटक–पटक गरी लिएको  ४ लाख ८३ हजार तिर्न बुझाउन नपरोस् भनी दहीमा ट्रेड टेन लेखिएको पाँच ट्याब्लेट खुवाएर रुस्लान् भोड्का समेत दिएर लट्ठ भएका मृतकलाई ह्यामरले ४–५ पटक अण्डकोषमा प्रहार गरी घाँटीमा सलले कसेर, मासु काट्ने फलामको दाउले घाँटी रेटी, टाउको शरीरबाट छुट्ट्याई, शरीरको अन्य अङ्ग समेत छुट्ट्याएर झोला र सुटकेसमा हालेर सडकमा फालेको’ ठहर गरेको थियो।

कल्पनाले बदलेको बयान पत्याएन अदालतले

फैसलाको पूर्ण पाठ अनुसार प्रारम्भमा अनुसन्धानकर्तासमक्ष गरेको बयान र अदालतमा गरेको कल्पनाको बयान भिन्न देखिन्छ।

अनुसन्धानकर्तासँगको बयान उनले छोरीलाई जबरजस्ती गर्न खोजेको उल्लेख गरेकी छैनन्। उनले लट्ठ्याउने औषधी आफैँले खुवाएको दाबी गरेकी छिन्।

तर अदालतको बयानमा लट्ठ्याउने ट्याब्लेट बोहोरा आफैँले खाएको र छोरीलाई जबरजस्ती गर्न खोजेपछि रिस थाम्न नसकेर अण्डकोषमा हानेको’ दाबी गर्दै घटनालाई योजनाबद्धको साटो आवेश प्रेरित भएको पुष्टि गर्ने प्रयास गरेको देखिन्छ।

उनको प्रारम्भिक बयान यस्तो छ :

मैले सामाजिक सञ्जालमा कल्पना पौडेल आइडीको फेसबुक चलाउनेक्रममा विगत ४–५ वर्षदेखि चिनजान भई सामाजिक सञ्जालबकाट बहोरालाई पटक पटक भेटेको हो। भेटमा तिमि बिहे गर्दैनौ। मेरो कोही छैन। म सँग बिहे गर भन्ने गरेका थिए। मैले ‘सरी ल’ र  ‘डिट्ठा साप’ टेली सिरियलमा अभिनय गरेपछि निजले उक्त भिडियो हेरेर मेरो सुटिङको फोटो राखेर कल्पना साही नामको फेक फेसबुक आइडी बनाएर मेरो फोटो अपलोड गर्ने, मेरो केटी साथीहरूलाई मेरो केटी भनेर म्यासेज गर्ने गरेको थाहा पाइ यस्तो नगर्न आग्रह गर्दा मेरो खुसी मेरो मर्जी भन्दै आएका थिए।

उनले नराम्रो व्यवहार गरेकाले रिस उठ्न थालेको थियो।  छुटकारा लिने सोचाइमा थिए। घटनाको दिन भोड्का लिएर मेरो कोठामा आए। जथाभाबी बोल्दै थिए। 

मैले भाँडा माझ्दा छोरी र बोहोराविच सामान्य वाद विवाद भएको हुँदा छोरीलाई यता नआऊ टिभी हेरेर बस भनेर पठाएको हो। बोहारालाई दहीमा ट्याब्लेट मिसाएर खुवाए। उ निदाएपछि किचनमा रहेको ह्यामरले हानेको हो। 

चलमलाउन छाडेपछि बेडमा भएको कालो रङ्गको सलले घाँटीमा बेसरी कसेर अठ्याए। मर्यो भनेर बहोरालाई घिसारेर बाथरुममा तानेर आधा शरीर बाथरुममा छिराएको थिए।

किचनमा गएर मासु काट्ने फलामको हतियार ल्याएर टाउको शरीरबाट छुट्टाएको। दुवै खुट्टा घुँडा मुनी छुट्ट्याए। टाउको, खुट्टा र बिचको गिँड गरेर चार टुक्रा बनाए। जेब्रा झोलामा टाउको र दुवै खुट्टा हालेर टाउको गिँड सुटकेसमा हाले। झोला आफैँले फाले। सुटकेस फाल्न नसकेपछि छोरीलाई उठाएर धकेल्न लगाएर बोकेर सडक किनारमा लगेर फालेँ।

अदालतमा उनले बयान बदलिन्। 

अदालतको बयान बोहोराले पाँच वटासम्म ट्याब्लेट केही हुन्न भनेर  बोहोरा आफैँ खाएको दाबी गरिन्। तर उनले लट्ठ्याउने औषधी किन आए पुष्टि हुने आधार खुलाउन सकिनन्।

‘मेरो मिसन पुरा गर्नु छ भनेर बोहारा कराएको, किचनमा हुँदा छोरी चिच्याएपछि के भएछ भनेर हेर्न जाँदा छोरीलाई जबरजस्ती गर्न खोजेकाले सहन नसरी ह्यामरले निजको अण्डकोषमा हानेको’ अदालतको बयान दाबी गरिन्।

‘उ मर्यो कि भनेर आत्तिएर के गरूँ भएपछि सिङै फाल्न नसकेर मासु काट्ने दाउले काटेर छुट्ट्याएको हो। झोला आफैँले फाले तर सुटकेस फाल्न नसकेपछि छोरीलाई फोहोर फाल्न हिँड भनेर उठाएर सुटकेस धकेल्न लगाएर सँगै लिएर गएको’ बयानमा खुलाइन्।

उनले बयान बदलेपछि अदालतले पत्याएन र उनलाई जन्मकैदको सजाय सुनायो। 
*हेडलाइनमा गोंगबु हुनुपर्नेमा बालाजु भएकाले सच्याइएको छ।

असार २४, २०७८ बिहीबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।