बिपी प्रतिष्ठान : कर्मचारी र बिरामीलाई सास्ती, पदाधिकारीलाई मस्ती

बिपी  प्रतिष्ठान : कर्मचारी र बिरामीलाई सास्ती, पदाधिकारीलाई मस्ती

स्थापनाकाल देखि काम गर्ने मध्येका एक हुन लखिराम सुरेन (सन्थाल)। कार्यालय सहयोगीबाट सेवा प्रवेश गरेका उनी सेक्युरिटी गार्ड हुँदै ल्याब टेक्नीसियन भएको १० वर्ष भयो। 

काम गर्दै पढ्दै गरेका उनी प्रतिष्ठानको पछिल्लो अवस्था देखेर चिन्तित हुन्छन्। हाल बि.पी प्रतिष्ठानमा आन्दोलन जारी छ। लखिराम पनि आन्दोलनको हिस्सेदार भएका छन्। २०७६ साल देखी वृद्धि भएको तलब भत्ता नपाएको भन्दै उनी आन्दोलनरत छन्। प्रतिष्ठान धराशायी बन्दै गर्दा उपकुलपति र पदाधिकारीले भूमिका खेल्न नसकेको उनको बुझाई छ। 

१० वर्षदेखि एउटै मेसिनले काम चलाइरहँदा ल्याब रिपोर्टमा समस्या आउने गरेको उनले सुनाए। कहिलेकाहीँ इन्जिनियर आएर मेसिन मर्मत गरे पनि खासै काम नदिएको उनले सुनाए। बिरामीको रिपोर्टमा ढिलाइ हुने देखी रिपोर्ट दिनै नसक्ने अवस्था भोग्नु परेको उनको बताए। केही महिना अगाडी आफै बिरामी भएर सिटी स्क्यान गर्न बाहिर जानुपरेको लखिराम बताउँछन्।

लखिराम जस्तै बि.पी बचाउ अभियानमा लागेकी छिन् दिलमाया कुँवर। बिहानको समय काममा कुनै असर नपर्ने गरी आन्दोलनमा भाग लिन्छिन् उनी। कर्मचारीले बढेको तलब नपाउने, जोखिम भत्ता नदिएको, स्वास्थ्य उपकरणको उचित व्यवस्थापन नभएको विरोधमा आन्दोलनमा भाग लिएको उनले बताइन। 

अपरेसन थिएटरका अधिकांश मेसिन काम नलाग्ने अवस्थामा पुग्दा पनि उपकुलपतिले कुनै वास्ता नगरेको उनको गुनासो छ। कैँची, ब्लेड जस्ता सामान्य उपकरण देखी ठुला मेसिन सम्म बिग्रँदै गएको उनले बताइन्। 

उपकुलपतिका रूपमा डाक्टर ज्ञानेन्द्र गिरी र रजिस्टारका रूपमा डा. मोहनचन्द्र रेग्मी रेग्मी नियुक्त भएसँगै प्रतिष्ठानमा सिटिस्क्यान मेसिन खरिद गर्न टेन्डर आह्वान भयो। तीन वटा कम्पनीले १४ करोड, १६ करोड र १८ करोडमा सिटी स्क्यान मेसिन किन्न सक्ने आशय पत्र बुझाए।

उपकुलपतिसहित पदाधिकारीको बैठकले १४ करोड रुपैयाँ आशय पत्रलाई सदर गर्यो। पुनः रजिस्टार सहितको समूहले कमसल खालको उपकरण किन्नु भन्दा १८ करोडकै किन्नुपर्ने आशय व्यक्त गरे। रजिस्ट्रार र उपकुलपतिको यही विवादले अहिलेसम्म प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद हुन सकेको छैन। लखिराम जस्ता कर्मचारी र हजारौँ बिरामी त्यसको मारमा परेका छन्। 

त्यस्तै एमआरआई मेसिन खरिदमा समेत समस्या देखिएको छ। पदाधिकारीबिचको झगडाले एमआरआई मेसिन खरिद प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन। 

उपकुलपति लगायत पदाधिकारीको स्वार्थ बाझिँदा प्रतिष्ठान धारासायी बन्दै गएको छ। शौचालयको चुकुल समेत फेर्न नसक्ने उपकुलपतिले नयाँ मेसिन र उपकरणको व्यवस्थापन गर्नेमा शङ्का रहेको कुँवर बताउँछिन्। 

फार्मेसीमा छैन औषधी 

पदाधिकारी बिचको विवादको असर फार्मेसीमा समेत परेको छ। फार्मेसीमा औषधी नहुँदा बिरामी समस्यामा परेका छन्। मोरङको कानेपोखरीबाट आमाको उपचारमा आएका रमेश सापकोटा महँगो मूल्यमा औषधी खरिद गर्न बाध्य छन्

औषधी र उपचारमा सहज र सस्तो हुन्छ भनेर प्रतिष्ठान पुगेका उनले निजी क्लिनिकबाट औषधी किन्नुपरेको समस्या सुनाए। ‘डाक्टरले औषधी लिएर आउनु भनेर अह्राए। फार्मेसीमा गाको बाहिर गएर ल्याउनु भन्यो। अस्पताल भित्र पानी चाहिँ पाउँदो रहेछ,’ उनले भने। 

धरान १६ कि सिता खड्का बिरामी भाइ लिएर आएको ३ दिन भयो। एक्लो बिरामी कुरुवा बसेकी उनी राती पनि औषधी लिन बाहिर निक्लनु परेको सुनाउँछिन्। सिता र रमेश जस्ता दैनिक दुई हजार बढी बिरामीका आफन्तले बाहिरका फार्मेसीबाट औषधी किनिरहेका छन्। 

प्रतिष्ठान भित्रै औषधीको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्नु परेको हो। पदाधिकारीबिचको लफडाले प्रतिष्ठानको फार्मेसी घाटामा गई बन्द हुने अवस्थामा पुगेको हो।

प्रतिष्ठानमा नयाँ पदाधिकारी आउनुभन्दा अगाडिसम्म फार्मेसी नाफामा थियो। नयाँ पदाधिकारी आएपछि फार्मेसी रजिस्टार मातहतमा रहने कि अस्पताल निर्देशक मातहतमा रहने भन्ने नयाँ विवाद देखियो। विवादकै बिच अस्पतालमा चाहिने औषधीको विवरण सबै विभागबाट माग गरियो।

रोग, शल्यक्रिया गर्दा चाहिने उपकरण र औषधीको माग विभागबाटै आएपछि फार्मेसीका लागि औषधी र उपकरण खरिद भयो। विवादमा पक्षधरता देखाएर चिकित्सकले फार्मेसीमा रहेका औषधी र उपकरण नै नलेखी दिएका कारण बिरामीका कुरुवाहरू प्रतिष्ठानभन्दा बाहिर जानुपर्ने अवस्था सृजना भएको हो।

असार २४, २०७८ बिहीबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।