हेलम्बु बाढीपीडितको गुहार : छिट्टै सुरक्षित ठाउँमा सारिदेऊ
उनी अहिले दिनभरि सहयोग गर्ने मनकारी मान्छेआउला र राहत देला भन्ने आशमा बस्छिन्। बाढीले घर-गोठ बगाएपछि बारीको पाटोमा बनाएको टेन्टमा बस्दै आएकी छन् उनी।
आफ्नो उमेर थाहा नपाएकी कालीलाई खेताला बोलाएर भित्र्याउने बेला भएको धानखेत नै बगाएको घटनाले मन झस्काइ रहन्छ। ‘यस्ती बुढी भएँ,आजसम्म यस्तो बाढी कहिल्यै देखेकै थिएन,’ उनी भन्छिन्, ‘एक भकारी र ६ मुरी धान आउँथ्यो। खोलाले सबै सत्यानास पार्यो।’
बाढीले खेत बगाएपछि कालीका छोरा-बुहारी र श्रीमानले धेरै पिर माने। आफैंलाई सम्झाउनु पर्ने बेला भएका छोराछोरीको मन शान्त पार्नु परेको छ उनलाई। ‘किन रुन्छौ, सरकारले खान र बस्न सहयोग गर्लानि’ काली आफ्ना श्रीमानलाई समेत पिर नगर्न सम्झाउँछिन्।
तर आफ्नो मनलाई सम्हालिरहेकी कालीलाई अहिले सरकारले सहयोग नगर्ने हो कि भन्ने मनमा चिसो पस्न थालेको छ।
बाढीले उठिबास लगाएपछि साङ्बो तामाङ र उनकी श्रीमतीको बास पनि असार २ गतेदेखि टेन्टमा छ। श्रीमान्-श्रीमती, छोरा-बुहारी र नाति-नातिना गरेर ९ जनाको परिवार एउटै टेन्टमा कोचिएर बसेका छन्।
एक परिवारका लागि नेपाली सेनाले दिएको एउटा टेन्टमा तामाङका ९ जनाको परिवार अटाउनुपर्ने बाध्यता आइलाग्यो। ठूलो परिवार एउटै टेन्टमा बस्न त्यति सहज नभएपछि तामाङका छोरा-बुहारी र नाति-नातिना छिमेकीको गोठमा आश्रय लिन पुगे।अहिले टेन्टमा बुढाबूढी मात्रै छन्।
बेलाबेला पालिका र दाताले दिएको राहतले उनीहरूको भोक मेटेको छ तर निद्रा नपरेको तामाङ गुनासो गर्छन्। ‘जिन्दगीभरको कमाइले जोडेको घर खेत बगर भयो,’ उनी आफ्नो दु:ख सुनाउँदै भन्छन्, ‘आफ्नै बलबुताले बनाएको घर छाडेर यो टेन्टमा बस्दा कसलाई पो निद्रा आउला र?’
तामाङको सम्पत्तिको नाममा अब थोरै पाखो-बारी छ। उनी त्यही बारीमा दिनभर नंग्रा खियाउन पुग्छन। रात परेसँगै टेन्टमा शीर लुकाउँछन्। ‘यो बुढ्यौलीमा यसरी बस्नु परेको छ।सरकारले बाढीपीडितको लागि घर बनाइदिन्छु भनेको सुनेको छु। छिट्टै सुरक्षित ठाउँमा सारिदिए हुने,’ उनले भने।
वीर बहादुर ज्योतिको पीडा पनि साङ्बो तामाङको जस्तै छ। माने बगरमा दुई तले ढलान घर थियो उनको। केही महिना अगाडि मात्रै एकतला थपेका ज्योति अहिले खेती-किसानी गरेर बनाएको घर बाढीले बगाएपछि टेन्टमा बस्दै आएका छन्।ज्योतिलाई फेरि आफैंले घर बनाएर बस्न सक्ने आँट छैन।
त्यसैले सरकारले केही सहयोग गर्ला कि भन्ने आशामा बसेको सुनाउँछन्।
एक महिनापछि पालिकाले जस्तापाताको अस्थायी टहरा बनाइदिने सुनेका उनी घर बनाउन घडेरीसम्म नभएको गुनासो गर्छन्। ‘जग्गा हुनेको त आफ्नै जग्गामा घर-टहरा बन्ला तर जग्गानै नभएकाले के गर्ने?’ उनी भन्छन्, ‘झन्डै करोडको सम्पत्ति बगर भयो।अहिले सरकारले केही सहयोग गर्ला कि भन्ने आश गरेर बस्नु परेको छ।’
मेलम्ची खोला किनारमा नै बस्ने सोनु तामाङको घर खोलाले बगाएको त छैन। तर जोखिममा छ। उनको घरको जगसम्म नै खोला पुगेकोले कुनदिन बाढीले बगाउने हो टुङ्गो छैन। ‘बगाएका घर त सकियो। अब बाँकी भएका धराप घरमा फेरि गएर बस्ने कुरै भएन। सरकारले स्थायी बास मिलाइ दिए हुन्थ्यो,’ सोनुले भने। मेलम्चीमा आएको बाढीका कारण हेलम्बु वडा नम्बर ७ को माने बगरदेखि गणेश बगरसम्मका मानिस माने बगरभन्दा माथि टेन्ट टाँगेर बसेका छन्।५४ परिवार बारीको पाटोमा टाँगिएको टेन्टमा बस्नु परेकोले विभिन्न समस्या आइपरेको स्थानीयहरू दुखेसो गर्छन्। उक्त टेन्टमा बस्ने अधिकांश मानिस आफूहरूको बसाई निकै नै असहज भएको बताउँछन्।
घर बगाएका, उच्च जोखिममा रहेकाहरू टेन्टमा बसेका हुन्। गाउँपालिकाले गरेको प्रारम्भिक अध्ययन अनुसार वडा नम्बर ७ मा २ घर पूर्ण र ४६ वटा घर आंशिक रूपमा क्षति भएको छ।
पालिका भन्छ- वडासँग अस्थायी टहरा मागेका छौं, जग्गा पाएपछि अन्यत्र सार्छौं
बाढीको कारण आफ्नो गाउँपालिकामा धेरैले आफ्नो घरखेत गुमाउनु परेको बताउँदै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा भौगोलिक अवस्था हेरेर स्थानीयहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने बताउँछन्।
‘मेलम्ची खोलाले हाम्रो पालिकाका ७ मध्ये ६ वटा वडामा क्षति गरेको छ। खोला किनारमा रहेका सबै बस्तीमा बाढी पसेको छ,’ उनी भन्छन्, ‘अहिलेको अवस्था हेर्दा स्थानीयहरू आफ्नै स्थानमा फर्कन अझै २/३ वर्ष लाग्न सक्छ।’तत्कालका लागि पालिकाले टेन्ट र खाद्यान्न सहयोग गरेको उनको भनाइ छ।
अस्थायी रूपमा बसोबास गर्न केही समय भित्रनै जस्तापाताबाट टहरा बनाउने शेर्पाले बताए।स्थायी रूपमा पक्की घर बनाउन अझै केही समय लाग्ने भएकोले बाढीपीडितहरू अझै केही समय जस्तापाताको टहरामा नै बस्नु पर्ने भएको हो।
बाढीपीडितको लागि टहरा निर्माण गर्न पालिकाले सबै वडाहरूलाई जग्गा उपलब्ध गराउन भनेको छ। तर वडा नम्बर ७ का वडा अध्यक्ष खेतनाथ घिमिरे भने बाढीपीडितको लागि जग्गा नै पाउन नसकेको बताउँछन्।
‘पालिकाले ७ नम्बर वडामा मात्रै झन्डै ५० वटा टहरा बनाउनु पर्ने देखिन्छ,’ उनी भन्छन्, ‘सबै परिवारलाई अस्थायी रूपमा राख्न धेरै ठाउँ चाहिने भएकोले हामी उपयुक्त स्थानको खोजीमा छौं। तर अहिलेसम्म ठाउँ पाएका छैनौं।’
असार २४, २०७८ बिहीबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।