कोरोनाले थला परेका कलाकार विकल्प खोज्दै, कसको व्यवसाय के ?
काठमाडौँ : कोभिड–१९ महामारीका कारण लामो समयदेखि कामविहीन बनेका कलाकार तथा चलचित्रकर्मीले वैकल्पिक व्यवसाय अपनाउन थालेका छन्।
कला बेचेर खाँदै आएका कलाकार काम नभएर आम्दानीको स्रोत बन्द भएपछि वैकल्पिक व्यवसायको खोजी गर्न थालेका हुन्। कोही–कोही कलाकार म्युजिक भिडियोमा नाँच्दै आएका छन् भने कतिपयले वैकल्पिक व्यवसाय सुरु गरिसकेका छन्।
कोरोना महामारीले करिब दुई वर्षदेखि चलचित्र क्षेत्रको काम ठप्प भएको छ। अहिले कुनै पनि चलचित्र छायाङ्कन हुन सकेका छैनन्। चलचित्रको काम नै नभएपछि चलचित्रकर्मी तथा कलाकार बेरोजगार छन्।
दीपिका–दिवाकर सहकारीमा
कोरोनाका कारण चलचित्र ठप्प भएपछि अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईले वित्तीय सहकारी सुरु गरेका छन्। उनीहरूले गत अघिल्लो बिहीबारबाट ललितपुर कुमारीपाटीमा सहकारीको आउटलेट शुभारम्भसँगै नयाँ व्यवसाय सुरु गरेका हुन्।
निर्देशक दिवाकर भन्छन्, ‘अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रको काम नहुने भएपछि वैकल्पिक व्यवसाय रोजेका हौँ। सहकारी मात्र होइन, हामी बेकरी क्याफे पनि सञ्चालन गर्ने तयारीमा रहेका छौँ। केही दिनमा नै बेकरी क्याफे सञ्चालनमा ल्याउँछौँ।’
निषेधाज्ञाअघि फिल्म ‘तिमीसँगै हुने मन छ’ को तयारीमा जुटेका दिवाकर र दीपिका केही समय यो चलचित्र छायाङ्कन हुने अवस्था नरहेको बताउँछन्।
‘चलचित्रका लागि भारतबाट नै कलाकार र चलचित्रका प्राविधिकहरू आउनुपर्ने हुँदा खर्च धेरै लाग्छ। १ महिनाको वर्कसप सकेर उहाँहरू भारत फर्किनुभएको छ। कोरोना महामारी केही साम्य भएपछि छायाङ्कनमा जुट्ने छौँ,’ दिवाकर भन्छन्।
दिवाकरको निर्माण एवं निर्देशन हुने उक्त चलचित्र छायाङ्कनमा जाने तयारी भएका बेला निषेधाज्ञा सुरु भएको थियो। अहिले अनिश्चितकालका लागि चलचित्र छायाङ्कन स्थगित भएको छ।
अनलाइन व्यापारमा साम्राज्ञी
नेपाली चलचित्रकी महँगी अभिनेत्रीको रूपमा चिनिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अनलाइन व्यापार सुरु गरेकी छन्। गत वैशाख १६ गते सरकारले निषेधाज्ञा लागू गरेपछि उनले अनलाइनबाटै ‘लेडिज वेयर’ को व्यापार सुरु गरेकी हुन्।
‘प्याप’ नामको साम्राज्ञीको अनलाइन स्टोरमा महिलाले लगाउने स्टाइलिस वेयरहरु पाइन्छ। साम्राज्ञीले आफ्नो अनलाइन स्टोरमा पाइने कपडाहरू सहितको फोटोसुट इस्टाग्राममा पोस्ट गर्दै ‘प्याप’ मा सिल्कका पहिरन बढी उपलब्ध हुने जानकारी दिँदै आएकी छन्।
निषेधाज्ञा केही खुकुलो भएसँगै साम्राज्ञी चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङमा पनि लागेकी छन्। यो निषेधाज्ञाभन्दा अघि नै छायाङ्कन भएका कारण थोरै समय यता दिएकी हुन्।
तत्काल चलचित्र छायाङ्कनमा फर्किने अवस्था नरहेकाले आफू अनलाइन व्यवसायमै व्यस्त हुने उनले बताएकी छिन्।
दीपकराज गिरी फार्म हाउसमा
कोभिड–१९ को त्रास र निषेधाज्ञाका कारण कलाकार दीपकराज गिरी पनि वैकल्पिक व्यवसायमा लागेका छन्। उनले फार्म–हाउस खोल्न लागेका छन्।
नयाँ फिल्मको तयारीमा जुटेका दीपक स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारीमा लागेका हुन्। गिरीले काठमाडौँको चन्द्रागिरि, दहकचोकस्थित पुर्ख्यौली जग्गामा फार्म हाउस निर्माण गरिरहेको उनले बताएका छन्।
‘दहचोकमा हजुरबाले जोडेको १० रोपनी जग्गा छ। त्यसमा केही जग्गा थपेर फार्म हाउस निर्माणका लागि गत वर्षदेखि नै काम भइरहेको छ। यसको लागत चारदेखि पाँच करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ,’ उनले सुनाए।
दीपकले खोल्ने फार्म–हाउसमा पैसा तिरेर बस्ने सुविधादेखि कृषि फार्महरू पनि खोल्ने योजना छन्। कृषिसँग सम्बन्धित विभिन्न व्यवसाय गर्ने सोच रहेको दीपक बताउँछन्।
अहिले उनी फार्म हाउसमा मात्र नभएर केही अन्य व्यवसायको पनि तयारीमा रहेका छन्। दीपकले भने, ‘फार्म हाउस बनिरहेको छ। यो निर्माण हुन निकै समय लाग्छ। यो बाहेक अन्य केही व्यवसाय पनि गर्ने सोचमा छु। चलचित्र क्षेत्र सुचारु हुन अझै केही समय लाग्ने भएकोले वैकल्पिक बाटो रोज्नु परेको हो।’
गत वर्षको लकडाउन अन्त्यपछि दीपकराज गिरी, दीपा श्री निरौला, संजोग कोइराला, वर्षा राउत मिलेर लाजिम्पाट र बानेश्वरमा ‘चिया अड्डा’ नामक कफी सप सञ्चालनमा ल्याएका छन्। यो चिया अड्डाको कामकाज भने विशेष गरी संजोग सम्हाल्छन्।
यो ‘चिया अड्डा’ खोल्नुको कारण पनि कोरोना महामारी नै रहेको दीपक बताउँछन्। अर्का अभिनेता संजोगे ‘चिया अड्डा’ टाइम पासका साथै आम्दानी पनि हुने उद्देश्यले सुरु गरेको बताए।
मःम व्यवसायी शाही
अनुपविक्रम शाही चलचित्र लगायतका काम कोरोनाले खाएपछि मःम व्यवसायतिर लागेका छन्। उनले यो व्यवसाय गत वर्षको कोरोनाकालपछि थालेका हुन्।
उनले मःम पसल दुई ठाउँमा खोलेका छन्। शाहीले ललितपुरको भैंसेपाटी र नयाँ बानेश्वरको ‘नारायण दाइको मःम’ पसलमा लगानी गरेका हुन्। यसमा सुरजसिंह ठकुरीको समेत सहकार्य रहेको छ।
मास्क बेच्दै खुस्बु
कोरोनाले काम बन्द भएपछि अभिनेत्री खुस्बु खड्का मास्क व्यवसायमा लागेकी छिन्।
कोरोना समयमा विभिन्न स्थानमा मास्क र सेनिटाइज निःशुल्क बाँड्दै आएकी खुस्बुले विभिन्न व्यक्ति तथा संस्थाबाट मास्क सप्लाईको डिमान्ड बढ्न थालेपछि आफैँले व्यवसाय गर्न थालेकी हुन्।
फिल्म, म्युजिक भिडियो लगायत गतिविधि बन्द हुँदा आम्दानीको स्रोत नभएपछि यो व्यवसाय रोजेको उनले बताइन्।
तरकारी व्यवसायमा ‘महिला फाइटर’
‘महिला फाइटर’को परिचय बनाएकी किरण दाहालले तरकारी व्यवसाय सुरु गरेकी छिन्। कोरोना महामारीले चलचित्र क्षेत्र ठप्प भएपछि उनी तरकारी व्यवसायमा लागेकी हुन्।
‘आम्दानीको स्रोत छैन। त्यसैले गत वर्षको लकडाउनदेखि नै अनामनगर चोकमा तरकारी व्यवसाय सुरु गरेकी छु,’ उनले भनिन्। दैनिकीमा खर्च धान्न समस्या परेका कारण तरकारी व्यवसाय सुरु गर्नु परेको किरण बताउँछिन्।
असार २३, २०७८ बुधबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।