कोरोना प्रभाव : सधैंका लागि बन्द भयो कुमारी हल
काठमाडौं : कोरोना भाइरस संक्रमणको महामारीका कारण चलचित्र प्रदर्शन हुन नसकेपछि कमलपोखरीस्थित कुमारी हल सधैंका लागि बन्द भएको छ।
खर्च धान्न नसक्दा हल सधैंका लागि बन्द गर्न लागेको क्युएफएक्सका सिइओ रोशन अडिगाले बताए। उनले भने, ‘लामो समयदेखि हल बन्द हुँदा कर्मचारी तलब सुविधासँगै अन्य खर्च धान्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको हो।’
उनले हलका सामान बाहिर निकाल्न लागेकोसमेत जानकारी दिए।
तीन दशकभन्दा अघि संचालन भएकाे हलमा कलिउड (नेपाली फिल्म)देखि बलिउड, हलिउडसम्मका फिल्म प्रदर्शन हुँदै आएका थिए।
हलले २०६२ सालमा क्युएफएक्सले सञ्चालनको स्वामित्व लिएको थियो। हलमा च्यारिटी, प्रिमियर सो, प्रेस मिट, फिल्म महोत्सवलगायत कार्यक्रम पनि हुँदै आएका थिए।
चार महिनाअघि क्युएफएक्स चेनको जय नेपाल हल पनि सधैंका लागि बन्द गरिएको थियो।
नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोना महामारीका कारण देशभर दुई दर्जन हल बन्द भइसकेको बताए। अझै केही हल बन्द हुने अवस्थामा रहेको उनको भनाइ छ।
असार २२, २०७८ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।