मध्यरातमा रचिएको एउटा चर्चित लोक-गीत
‘बदाम खाको सुन्तला छोडाको, के छ त नि पुरानो जोडाको’, ‘आँखा जुध्यो हे मेरो, सानु ओल्लो गाउँ पल्लो गाउँ’, ‘सालको पात हे माया’ जस्ता लोकप्रिय गीतमा आवाज भरेका छन् गायक सरोजले।
आफूले तयार पारेको लोकभाकालाई लय पनि आफैँ बनाउने सरोजको ‘आँखा जुध्यो हे मेरो सानु’ गीत अहिलेसम्म पनि निकै चर्चामा छ। सरोजकै शब्द लय तथा स्वरमा सजिएको यो गीत कसरी तयार भयो? उकेराकर्मी भोला अधिकारीसँग सरोज बताउँछन्-
दिउँसो खासै फुर्सद नहुने भएकोले म रातिको समयमा मात्र गीत लेख्ने गर्छु। बिहान उठेपछि रेडियोमा कार्यक्रम चलाउन पुगिहाल्नुपर्छ। दिउँसो गीत रेकर्डिङ, अन्य काम समय त्यसै बितिहाल्छ।
साँझमा दोहोरी साँझमा पनि काम गर्ने हुनाले मलाई गीत लेखनमा रातिको समय नै कुर्नपर्ने हुन्छ। म रातिको सुनसान समयमा गीत लेख्ने गर्छु।
त्यतिबेला नाइट ड्युटी गर्थेँ। ड्युटी सकेर कोठामा आएपछि पनि निकै समय निद्रा लाग्दैनथ्यो। अहिले भने कोरोनाका कारण नाइट ड्युटी छैन।
म बेलुका कोठामा छिरेपछि गीतका भाका, शब्दहरू कोरिरहेको हुन्छु। कहिलेकाहीँ त निद्रा नलागेर उज्यालो नै भएको पनि छ।
गीतका भाका प्रायः गाउँले परिवेश कै हुनुपर्छ भन्ने मनमा राखेर शब्द कोरिरहेको थिएँ। सहरबाट केटाकेटीहरू गाउँ गएको तर चिनजान खासै नभएको थिम सम्झिएँ। यही थिममा रहेर ‘हे मेरो सानु’ गीत लेखेँ। यो गीतको शब्द कोर्दा रातको २/३ बजेको थियो।
यो गीत मध्यरातमा कापीका पानामा कोर्दा-कोर्दै फुरेको हो। ‘हे मेरो सानु ओल्लो गाउँ पल्लो गाउँ, फुर्के डोरी लाउनेलाई चिन्न पाउँ’ गीतको भाका फुरेपछि कथा लेख्न थालेँ।
ओल्लो गाउँ र पल्लो गाउँका मान्छेहरूबिच चिनजान हुँदैन। त्यसैको आधारमा कापीमा कथा लेखेँ। धेरै पटक लेख्दै कापीका पाना च्यात्दै गएँ। किनकि आफूलाई चित्त नबुझुन्जेल गीत तयार भयो भन्ने लाग्दैन।
गाउँले परिवेश
गीतको भाका गाउँले परिवेशको त भयो तर कसरी सुरुवात गर्ने भन्ने मनमा भयो। यो गीतको एरेन्ज पनि तयार पारेँ। गीतको भाका अनुसारको एरेन्ज निकै पटक सुनेँ।
सुन्दासुन्दा गीतको कथा अनुसार अभिनयको पनि कल्पना गरेँ। कसै गर्दा नि दिमागमा फुरेन। कहाँबाट सुरुवात गर्ने भन्ने भयो। कस्तो थिमको निर्माण गर्ने भन्ने चुनौती थियो। किनभने, मेरो योभन्दा अघिल्लो गीत हिट भइसकेको थियो ‘बदाम खाको, सुन्तला छोडाको’।
गाउँले परिवेशकै थिममा राखेर गीत तयार पारेको हुँ। मेरो मनमा मौलिक गीत बनाउनुपर्छ, अरू खासै चल्दैन भन्ने लाग्छ। हिजो गायन क्षेत्रको सुरुवाती समयदेखि नै मलाई यस्तै लाग्थ्यो।
गीत चल्नेमा विश्वस्त थिएँ
यो गीत तयार पारेर एरेन्ज सुन्दा आनन्द लागेको थियो। भाका तयार पारेर गीत गाउँदा म आफैँलाई पनि निकै मन परेको थियो। भाका एरेन्ज गरेर शब्द लेखिसक्दा गीतले दर्शकमाझ राम्रै छाप छोड्ला भन्ने लागेको थियो। किनभने, गीतको भाका र शब्दहरू राम्रा थिए। गाउँको परिवेशलाई छोएको थियो भने स्थानीयका टिपिकल शब्द चयन भएको थियो।
मैले गाएका गीतहरू प्रायः सबै चलेका छन्। मेरा सबै गीतका शब्दहरू कतै खोज्न गएर आएका होइनन्, घरमा नै बसेर लेखिएका हुन्। लोकगीतका भाका र शब्द खोज्नुपर्छ भन्छन्। अहिले कुन चाहिँ भाका गाउँघरमा पाइन्छन् र?
असार २२, २०७८ मंगलबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।