प्रहरी आफै सामाजिक सञ्जालबाट 'पीडित' : नक्कली फेसबुक ग्रुप चलाउनेलाई कारबाही तयारी
काठमाडौँ : फेसबुकमा ग्रुप बनाएर प्रहरीको नाम र तस्बिर दुरुपयोग गरेका ईश्वर दुलालले फेसबुक ग्रुपको नाम र तस्बिर बदलेका छन्। उनले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको तस्बिर र नेपाल प्रहरीको लोगो राखेर प्रहरीकै फेसबुक ग्रुप झैँ गरी नेपाल प्रहरी nP प्रहरी हाम्रो साथी नाम राखेका थिए।
सामाजिक सञ्जालमा नक्कली पेज र समूह बनाउनेहरूबारे अनुसन्धान गर्ने प्रहरी सङ्गठनकै नाममा फेसबुकमा रहेका नक्कली समूह र पेजबारे उकेराले आइतबार समाचार प्रकाशित गरेको थियो। उकेरामा समाचार प्रकाशित भएपछि दुलाले पेजको नाम बदलेर np प्रहरी हाम्रो साथी np बनाएका छन्।
समूहमा रहेका २ मोडरेटर मनोज डाँकी र राजेश तिमल्सिना अहिले पेजको मोडरेटर छैनन्। पेजको एडमिनमा दुलाल मात्र छन्।
प्रहरीको नाममा नक्कली फेसबुक ग्रुप चलाउन सक्रिय दुलालको प्रहरी अधिकारीहरूसँग बाक्लो हिमचिम रहेको उनको पेज र समूहका गतिविधिले देखाउँछ। उनले आफ्नो व्यक्तिगत पेजमा प्रहरी कार्यालयमा जन्मदिन मनाएको भिडियो नै राखेका थिए। प्रहरीका उच्च अधिकारीहरूसँगै खिचेका तस्बिरहरू बग्रेल्ती देखिन्छन् उनको तस्बिरमा।
नेपाल प्रहरी अपराध अनुसन्धान नाम राखेर खुलेको फेसबुक ग्रुपले पनि आफ्नो नाम बदलेर नागरिक प्रहरी राखेको छ। तर उसले प्रोफाइल तस्बिर भने प्रहरीकै प्रयोग गरेको छ।
प्रहरी लोगो र नाम राखेर खुलेका अन्य पेजहरू भने उस्तै छन्। प्रहरीको लोगो र नाम दुरुपयोग गरेर बनाइएको नेपाल प्रहरी ब्युरो, साथी मेरो प्रहरी, नेपाल प्रहरी, नेपाल प्रहरी तयारी लगायतका फेसबुक पेज उस्तै छन्।
प्रहरीको नाम र लोगो दुरुपयोग गर्नेहरूलाई प्रहरीले विद्युतीय कारोबार एन अनुसार कारबाही गर्ने गरेको छ। केही हप्ता अगाडि क्लब हाउसमा प्रहरी अधिकारीको तस्बिर दुरुपयोग गरेको आरोपमा २ जनालाई पक्राउ गरेर प्रहरीको साइवर अनुसन्धान ब्युरोले हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
निर्देशन गइसक्यो, कारबाही हुन्छ : प्रहरी प्रवक्ता
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर सामाजिक सञ्जालमा प्रहरीको नाम र तस्बिर राखेर सर्वसाधारणलाई झुक्क्याउनु कानुन विपरीतको गतिविधि रहेको भन्दै यस्तै गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए।
लाइकको लोभमा या अन्य प्रयोजनका लागि सामाजिक सञ्जालमा यस्ता काम हुने गरेको देखिएको भन्दै उनले यस्ता गतिविधिमा संलग्न देखिएकालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीको साइवर ब्युरोलाई निर्देशन गइसकेको उनले उकेरालाई बताए।
'उकेरामा प्रकाशित समाचारबाट प्रहरीको नाम र तस्बिर दुरुपयोग गर्नेहरूबारे जानकारी भयो। हामी आफैँले पनि अनुगमन गरिरहेका थियौँ,' कुँवरले भने' यसबारेमा आइजीसापलाई समेत जाहेर भइसक्यो। जो संलग्न छन् कारबाही हुन्छ।'
नक्कली समूहमा सक्कली प्रहरी मिडिया नीति विपरीत
यस्ता नक्कली फेसबुक ग्रुप र पेजहरूमा सक्कली प्रहरीहरू समेत सक्रिय देखिन्छन्। प्रहरीको जस्तै नाम राखेर, तस्बिर दुरुपयोग गरेका ग्रुप र पेजमा टन्नै बहालवाला प्रहरी नै सदस्य देखिन्छन्।
प्रहरी प्रवक्ता कुँवर यस्ता गतिविधिमा प्रहरी सङ्गठनका सदस्य संलग्न हुनु सङ्गठनको मिडिया पोलिसी विरुद्ध रहेको बताउँछन्। उनले मातहतका निकायलाई सामाजिक सञ्जालमा सक्रिय हुँदा सङ्गठनको नीतिको ख्याल गर्न निर्देशन दिइएको जानकारी दिँदै भने' सायद सूचनाको प्रयोजनले सदस्य भएका हुन सक्छन्। तर सदस्य बन्नु अगाडि कस्तो फेसबुक ग्रुप हो त्यो ध्यान दिनुपर्छ।'
असार २१, २०७८ सोमबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।