निषेधाज्ञा अवधिको जरिवाना नलिन सुदूरपश्चिम सरकारको पत्राचार

निषेधाज्ञा अवधिको जरिवाना नलिन सुदूरपश्चिम सरकारको पत्राचार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले निषेधाज्ञा अवधिको यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा लाग्ने जरिवाना छुट गर्ने निर्णय गरेको छ। 

निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरूलाई निषेधाज्ञा हटेको १५ दिनभित्र कर बुझाउँदा जरिवाना तिर्नु नपर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउदले जानकारी दिए। 

निर्णय कार्यान्वयनका लागि हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएका छौँ,उनले भने,‘यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयलाई पनि जानकारी गराइसकेका छौँ, यातायात खुलेको १५ दिनसम्म कर तिर्दा कुनै जरिवाना लाग्दैन।’

तिरिसकेकाको हकमा अन्योल 

यातायात व्यवस्था कार्यालय कैलालीले भने मन्त्रालयबाट पत्र प्राप्त नभएको जनाएको छ। ‘हामीले पत्र पाएका छैनौँ,कार्यालय प्रमुख लक्ष्मण शाहले भने,‘ निषेधाज्ञा अवधिको जरिवाना छुट गर्ने निर्णय भइसकेको जानकारी पाए सँगै हामीले सोमबारबाट निर्णय कार्यान्वयनमा ल्याइसकेका छौँ। सोमबार देखी तोकिएको मितिसम्म कर तिर्दा सेवाग्राहीलाई जरिवाना लाग्दैन।’

तर आइतबारसम्म यातायात व्यवस्था कार्यालयहरूले सवारी दर्ता, चालक अनुमति पत्र नवीकरण, जाँच पास लगायत यातायात व्यवस्था कार्यालयबाट हुने दर्ता र नवीकरणमा दोब्बर जरिमाना असुल्दै आएका थिए। 

हालसम्म जरिवाना तिरिसकाको हकमा भने केही भन्न नसकिने यातायात व्यवस्था कार्यालय कैलालीले जनाएको छ।

प्रदेश सरकारबाट जरिवाना छुट गर्ने निर्णय नभएको अवस्थामा पनि हामीले सेवाग्राहीबाट जरिवाना सहित कर शुल्क लिएका थियौँ,कार्यालय प्रमुख शाहले भने,‘अहिले प्रदेश सरकारबाट निर्णय आएको छ,जरिवाना तिरेकाको हकमा के गर्ने भन्ने अन्योल छ।’

असार २१, २०७८ सोमबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।