खोला र पैनीमाथि संरचना बनाउँदा हरेक वर्ष डुब्छ इटहरी

खोला र पैनीमाथि संरचना बनाउँदा हरेक वर्ष डुब्छ इटहरी

इटहरी : गत शनिबार इटहरीको मुख्य बजार क्षेत्र जलमग्न बन्यो। घरभित्र पानी पसेर अधिकांश बजारवासी समस्यामा परे। इटहरी-४ का सञ्जीव ढुंगानालाई हरेक बर्खामा घर डुबाउने चिन्ताले सताउने गर्छ।

शनिबार बिहान पनि उनको घरभित्र छिर्यो। राति पानी पर्न थालेपछि घरबाहिर चिहाउनुपर्ने बाध्यता भएको उनी सुनाउँछन्। खोला साँघुरिँदै गएपछि पानी घरतिर आउन थालेको उनको भनाइ छ। 

इटहरी-४ मै बस्ने प्रदेश सांसद् सर्वध्वज सावाको घर पनि डुबानमा पर्यो। पसलसहित घर डुबानमा परेको फेसबुकमार्फत जानकारी गराए। ‘बाढी पसेर घर चुर्लुप्पै भयो। आफै जनप्रतिनिधि कसलाई गुहार भन्नु,’ उनले भनेका छन्। 

सावाको जस्तै अधिकांश इटहरीवासीले शनिबार समान समस्या भोग्नुपर्यो। कतिपयले घरभित्रको सामान निकाल्नसमेत पाएनन्। इटहरीमा टेङ्ग्रा, खेती र बुढी खोलाको बाढीले समस्या दिँदै आएको छ। 

शनिबार इटहरीमा मात्र होइन, पूर्वका दमक, बिर्तामोड, विराटनगर, चन्द्रगढी, इनरुवा, रंगेलीलगायत बजारले समान समस्या भोग्नुपर्यो। इटहरीले भने हरेक बर्खामा डुबानको समस्या भोग्दै आएको छ। २०७४ साउन २७ को बाढीले इटहरीमा ६ जनाको ज्यान लियो। १ हजारभन्दा बढी परिवार घरबारविहीन भए। मुख्यतः ३, ४, ६, ९ र १० नम्बर वडा बढी प्रभावित भएका थिए। 

खोला–पैनी मिचेर निम्तियो समस्या 

नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय पैनीमाथि निर्माण भएको छ। लामो समयदेखि पार्टी कार्यालयबारे प्रश्न उठ्दै आए पनि कुनै सुनुवाइ भएको छैन। सार्वजनिक जग्गा खोजबिनमा अभियान चलाएका मेयर द्वारिकालाल चौधरी पैनीमाथि बनेको कार्यालयको बारेमा जानकार छन्।

इटहरी-५ स्थित सिमरबना सहकारी संस्थाको भवनले समेत पैनीको आधा क्षेत्र ओगटेको छ। पैनी मिचेर बनाइएको उक्त भवनको नक्सा पाससमेत हुन सकेको छैन।

इटहरीको मुख्य बजार भएर बग्ने खेती खोला मिचेर ‘हाम्रो इंग्लिस बोर्डिङ स्कुल’ संचालन हुँदै आएको छ। ५५ देखी ७६ फिटसम्म लामो खोलाको भाग हाल खुम्चिएर २५ फिटभन्दा सानो भएको छ। खोलाको भागमा बोर्डिङको प्रशासनिक भवन अवस्थित छ।

मेयर चौधरीले खेतीखोला सरसफाइ अभियान चलाएका थिए। बोर्डिङ नजिकैको राजकुमार खड्काको बाँध भत्काएर अभियान रोकियो।

खड्काको जग्गा नजिकै रहेको टोल विकासको भवन पनि खोलामाथि निर्माण भएको छ। बोडिङ मात्र होइन, स्थानीयले घर, सडक तथा पार्टी प्यालेस बनाउँदासमेत खेती खोला जग्गा मिच्ने गरेका छन्। 

इटहरी-८ को नमुना कलेजको अवस्था पनि त्यस्तै छ। टेंगा खोला मिचेर कलेजले चमेना गृह निर्माण गरेको छ। कलेज अगाडिको घरसमेत खोलाकै जग्गामा निर्माण भएको छ। खोलाको किनारामा पर्ने बाटो समेत खिइँदै गएको छ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले पत्रसमेत पठाएको थियो। ०७५ फाल्गुन ६ गते काटिएको पत्रमा आवश्यक विवरणसहित राय प्रतिक्रिया माग गरिएको छ, जसमा इटहरी ४ मा पर्ने खेती खोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डिङ स्कुल र इटहरी-८ मा टेंगा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको विषयमा स्पष्ट प्रमाण माग गरिएको थियो। तर, अहिलेसम्म कुनै पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन।

संघीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रानुसार खोलादेखि ३० मिटर आसपासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरिएको छ। तर, स्थानीय सरकारमा कति मिटरमा उपयुक्त हुन्छ भन्नेबारे एक समितिले अध्ययन गरेको छ, जसले टेंगा र खेती खोलाको किनारमा संरचना निर्माण गर्दा ६ मिटर छाड्नुपर्ने प्रतिवेदन तयार पारेको छ।

हाल रानी, विराटनगर, इटहरी, धरान सडक आयोजनाको काम धमाधम भइरहेको छ। सडक निर्माणको क्रममा पैनी तथा खोलाको आकार सानो बनाइएको छ। इटहरीको पानी निकास हुने टेंग्रा खोलामा जम्मा ५ फिटको कल्भर्ट निर्माण गरिएको छ। इटहरीको मुख्य चोकमा सानो ह्युम पाइप राखेर पानीको निकास साँघुरो बनाइएको छ।

सडकलगायत पूर्वाधार निर्माण गर्दा खोला तथा पैनीको निकासमा ध्यान नदिँदा हरेक वर्ष इटहरीले समस्या भोग्नुपरेको स्थानीय राजु केसी बताउँछन्। 

‘भएका ड्रेनहरू समयमै सफा नगर्ने र खोला मिचेर संरचना बनाउँदा बाढी बजार नपसेर कता जाओस् ?’ उनले भने, ‘स्थानीय सरकार आएको चार वर्ष पूरा भयो। उनीहरू आएदेखि यो समस्या झनै बढ्दै गएको छ। यो बीचमा धेरै सडक तथा पूर्वाधार निर्माण भए जसले पानी निकास रोकिएको छ। त्यसैकारण डुबान हुने क्रम बढ्दै गएको हो। ठूलो बस्तीमा पनि स–साना ड्रेन बनाएर औपचारिकता पूरा गर्दा यस्तो समस्या भएको हो।’

असार २०, २०७८ आइतबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।