‘भाइरल भनेको खहरे हो, आज बग्यो, भोलि सुक्यो’

‘भाइरल भनेको खहरे हो, आज बग्यो, भोलि सुक्यो’

काठमाडौँ : रवि ओड, २०७५ को नेपाल आइडल सिजन २ का विजेता। विजेता भएपछिका दिनमा उनी साङ्गीतिक क्षेत्रमै सक्रिय छन्।

नेपालको पश्चिम क्षेत्रको देउडा भाका देखि नेपाली आधुनिक गीतसम्म गाए उनले यो बिचमा। ‘पाउडर किरिममा, घरमा कुरा, कुर्सी तानातान, दिलको फ्रेममा’ बोलको गीत श्रोताले रुचाए।

अहिले उनी के गर्दैछन् ? उकेराकर्मी भोला अधिकारीलाई उनले सुनाएको दैनिकी र उनको योजना।

०००

कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाएपछि अहिले कञ्चनपुर गुलरियामा आएको छु। अहिले घरमै बसेर केही गीत लेखिरहेको छु। ४–५ वटा गीतमा सङ्गीत गरे यही बेला। अब समय मिलाएर ती गीतहरू रेकर्ड गर्ने योजनामा छु। 

नेपाल आइडलको विजेता भएपछि ६०–६५ वटा गीत गाइसके। अझैँ ६० हाराहारीका गीतहरू रेकर्डिङको लागि तयारी अवस्थामा छन्। गाएका धेरैजसो गीतहरू चर्चामा पनि आए। 

अहिले भाइरलको जमाना छ। तर म भाइरल हुने भन्दा पनि लामो समय श्रोताको मनमा बस्ने गीत सिर्जना गर्नुपर्छ भन्ने खालको परे। त्यसैले म केही निष्क्रिय झैँ देखिए पनि हराएको भने छैन। कर्म गरिनै राखेको छु। 

भाइरल भनेको त खहरे न हो। आज आउँछ, भोलि त सुकी हाल्छ। मलाई खोज्ने र नियाल्ने आम दर्शक र श्रोतालाई म हराएको भन्ने अनुभव गर्न दिएको छैन। एउटा गीत भाइरल भयो अनि त्यसपछि कामै पाइएन भने के काम लाग्यो र। 

सानैबाट गीतको रहर

म सानैबाट गीत गाउने रुचि राख्थे। स्कुलका कार्यक्रममा भाग लिन्थेँ। अरूले ठुला स्टेजमा गीत गाएको देख्दा आफू पनि यसरी नै गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। सपना त हो। सपना त देख्नै पर्छ।

एकै पटक ठुलो मञ्च त कसले पाउँछ र। मेरो साङ्गीतिक यात्रा पश्चिमतिर हुने मेला महोत्सवमा सहभागी भएर अगाडि बढ्दै गयो। सबै मेलामा त कहाँ मौका पाइन्थ्यो र। तर जहाँ मौका पाइन्थ्यो मेरो गायन शैली मन पराएकै पाउँथे। यसले कुनै दिन त्यो ठुलो स्टेजमा कसो नपुगिएला र भन्ने लाग्थ्यो।

तर घरमा त्यत्ति राम्रो सपोर्ट थिएन है। घरमा सहयोग नपाउँदा गाह्रो हुने त भइहाल्यो। गीत रेकर्ड गर्ने ठुलो रहर थियो। तीन जना मिलेर एउटा गीत रेकर्ड पनि गर्यौै। तर अहिलेसम्म त्यो गीत बजारमा आएको छैन। अब आउँदैन पनि होला। 

सानैमा आमा गुमाए

म सानै हुँदा आमा बित्नुभयो। आमा बित्दा म ८ वर्षको मात्र थिए। घरको जेठो छोरो। जेठो भए पनि उमेर कच्चा नै थियो। के गर्ने, कसो गर्ने औडाहा हुने रहेछ।

हामी दिदी सहित ५ जना थियौँ। म छोराहरूमा जेठो। बाल्यकाल निकै कष्टकर भयो। बुवा त हुनुहुन्थ्यो तर, बुवा र आमा हुनुमा केही फरक हुने रहेछ। आमा बितेपछि कान्छी आमा ल्याउनुभयो। 

तर हेलाँ भने भएन। कान्छी आमाले हामीलाई आफ्नै सन्तान जसरी हुर्काउनु भयो। कान्छी आमा भनेपछि हेलाँ गर्छन् भन्ने सुनेको थिए। कतिको देखियो पनि। तर मैले त्यो दुख अनुभव गर्नु परेन। 

आइडलले ल्याएको खुसी

गीत गाइरहन्थे। नेपाल आइडल सुरु भएपछि एक दिन कसो गाउन नपाइला भन्ने लाग्थ्यो। पहिलो सिजनमा सकिन। दोस्रो सिजनमा भाग लिन पाए। आफ्नो क्षमताले भ्याएसम्म सुधार गर्दै गए। धेरै सिक्नु थियो। सिक्न पनि पाए। पछि त विजेता नै भए।

साह्रै खुसी लाग्यो। आइडल भएपछि जीवनमा सकारात्मक परिवर्तन आउने रैछ। आइडल हुनुभन्दा अगाडिका केही दुख अब बेहोर्नु परेन। 

हिजो मलाई घर छेउछाउकाले चिन्नुहुन्थ्यो, अहिले धेरैले चिन्नुहुन्छ। आइडल भएपछि यति धेरै माया पाउँछु जस्तो लागेको थिएन। तर सोचेको भन्दा राम्रो भयो।

मलाई घुम्न, रमाइलो गर्न एकदमै मन लाग्ने। घुम्ने शौख थियो। नेपाल आइडल भएपछि  विश्व टुर गर्ने मौका पाए। यो नै आइडलपछिको ठुलो खुसीको क्षण थियो। 

आइडल भएको आमाले थाहा पाइन् कि

नेपाल आइडल भएपछि आमालाई धेरै सम्झिए। उहाँ यो धर्तीमा हुनुभएको म आइडल हुँदा कति खुसी हुनुहुन्थ्यो होला। आइडल भएको दिन स्टेजमा आमालाई राखेर आमा–छोराको तस्बिर खिचाउने थिए। तर, आमा हुनुहुन्थेन। 

आइडल भएको घोषणा हुँदा आमा धेरै सम्झिए। कान्छी आमाले धेरै सघाउनु भएको छ। तै पनि आमा भनेको आमै हुने रहेछ।

उहाँ जहाँ भए पनि म आइडल भएको थाहा पाउनु भयो होला पक्कै।

असार १९, २०७८ शनिबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।