पूर्वी तराईका जिल्लामा विपद् व्यवस्थापनको तयारी तीव्र 

पूर्वी तराईका जिल्लामा विपद् व्यवस्थापनको तयारी तीव्र 

इटहरी : बाढी, कटान र डुबानको उच्च जोखिममा रहेको पूर्वी तराईका जिल्लामा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको छ। प्रदेशका जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासँगको समन्वयमा तयारी थालेका हुन्। 

झापा, मोरङ र सुनसरी जिल्लामा विपद् व्यवस्थापन समितिको बैठक बसेर पालिकालाई सुरक्षा उपकरण तयार पार्न आग्रह गरेका छन्। 

झापा जिल्ला विपद् व्यवस्थापनको बैठकले हरेक पालिकालाई उद्धार तथा राहतमा तयारी अगाडि बढाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए। 

प्रदेश सरकारले उपलब्ध गराएको रबर बोटले काम नगर्ने अवस्थामा मोटर बोट कम्पनीसँग पनि समन्वय भइरहेको उनको भनाइ छ। बाढी पीडितलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आए समुदायिक भवन वा विद्यालयमा राख्ने गरी व्यवस्था मिलाइएको तिम्सिनाले बताए। 

झापामा मेची, कन्काई, बिरिङ, कमल, रतुवा खोलालगायतले डुबान गर्ने गरेका छन्। झापा, गौरीगन्ज, बारदसी गाउँपालिका तथा शिवशत्ताक्षी र कन्काई नगरपालिकामा बढी क्षति हुने गरेको छ। इलामबाट बगेर आउने खोलाले बढी समस्या पर्ने भएकाले पूर्व सूचनाको लागि समन्वयको काम भइरहेको प्रजिअ तिम्सिनाले बताए। 

यसबीचमा जनताको तटबन्धन कार्यक्रमले कटान केही नियन्त्रणमा आउने भए पनि बजेट अभावको कारण पूर्ण समाधान भने नभएको उनको भनाइ छ। 

पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सम्भावित सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। तीनवटै सुरक्षा निकायसँग समन्वय भइरहेकाले उद्धारमा ढिला हुन नदिने प्रतिवद्धता जनाए। झापामा जस्तै प्रत्येक पालिकालाई उद्धार तथा राहतको लागि सामग्री तयारी पार्न आग्रह गरिएको उनको भनाइ छ। 

मोरङमा रतुवा, लोहोन्द्रा, बक्राह र गछिया खोलाले धेरै क्षति गर्दै आएको छ। नदी किनार आसपास भौतिक संरचना निर्माण भएकाले नदी थुनिएर बढी क्षति हुने गरेको प्रजिअ निरौलाले बताए। 

सुनसरीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उद्धार तथा राहतको लागि गोताखोरसहित विशेष टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी)ले खोज, उद्धार तथा राहत कार्यको लागि विशेष टोली परिचालन गर्ने निर्णय गरेको हो। 

सुनसरीका १२ वटै स्थानीय तहले आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। रबरको बोट एक थान, लाइफ ज्याकेट ५० थान, मेन डोरी ४/५ रोल, क्यारेबेना हुक १० थान, स्ट्रेचर ४ थान र रेस्क्यु ट्युब ५० थान तयारी अवस्थामा राख्न भनिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।   

पीडितलाई तत्काल आवास उपलब्ध गराउन प्रत्येक स्थानीय तहले कम्तीमा २ वटा अस्थायी आश्रय स्थलको व्यवस्थापन गर्नुपर्ने भएको छ। राहतको लागि स्थानीय संघसंस्था संग समन्वय गरी अगाडि बढ्न पालिकालाई निर्देशन दिइएको उनको भनाइ छ। 

रेडक्रसलगायत गैरसरकारी संस्थालाई उद्धारमा सहयोग माग्ने र तत्काल राहतको लागि आवश्यक टेन्ट, त्रिपाल, म्याट्रेस, कम्बल, भाँडाकुडालगायत सामग्री प्रबन्ध गर्ने निर्णय गरिएको उनले सुनाए। 

पूर्वी तराईका जिल्लामा डुबान र कटानको समस्या तीव्र हुने गरेको छ। मनसुन सुरु भएसँगै खोलाको बहाब बढ्न थालेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्ला वर्षमा भन्दा यस वर्ष अत्यधिक मनसुन हुने भएको छ। 

असार १८, २०७८ शुक्रबार २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।