कर्णालीमा एमालेले फेरि गर्‍यो प्रदेशसभा बैठक अवरुद्ध

कर्णालीमा एमालेले फेरि गर्‍यो प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशसभाकाे शुक्रबारको बैठक पनि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर बैठक अवरुद्ध गरेको हो।

सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध गरेको हो।

झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरे अनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसद्को कारबाही अघि बढ्न नदिने बताइन्। 

यस्तै, एमालेका सांसद दानसिंह परियारले संसद् अवरुद्ध एमालेका कारणले नभएर संसदीय व्यवस्था अनुसार काम नभएकाले गर्नुपरेको बताए। उनले पनि विगतका बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भन्ने गरेका कुरालाई नै दोहो¥याएका थिए। 

‘सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते प्रदेशसभामा नेकपा एमालेका चार जना भनेर पत्र वाचन गर्नुभयो। कर्णालीमा नेकपा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोचेका थियौं,’ सांसद परियारले भने, ‘आज उनै व्यक्ति सत्तामा छन्, उनै एमालेको विरुद्धमा र उनै मान्छे सरकारको नेतृत्व गरिरहेका छन्। यो कुरा हामीलाई लाजमर्दो भइरहेको छ।’

उनले बैठक अवरुद्ध गर्नुको कारण सरकारमा रहेका तीन जना मन्त्रीहरू दलीय व्यवस्था अनुसार सञ्चालन नभएको भन्दै संसद् चल्न नसक्ने बताए।

असार १८, २०७८ शुक्रबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।