कान्तिपुर गाथा : बोलो, बाबा पशुपतिनाथकी जय !

कान्तिपुर गाथा : बोलो, बाबा पशुपतिनाथकी जय !

गाथा त तपाईं यो पटक पनि महामारीमा नै लेख्ने होला होइन? सम्पादक सोध्दै थिए। मैले उनको आशय बुझेको थिएँ। जवाफ दिनु मलाई उचित लागेन। समाचार र टिप्पणीका लागि शहरमा महामारी बाहेक अर्को विषय पनि त थिएन। बिहान उठेदेखि बेलुका नसुतेसम्म लकडाउनले टम्म ढाकिएको दिमागमा नयाँ के आओस्?

हो, जनतालाई लागेको लकडाउन अरुलाई लागू छैन। देशका राजनीतिकार खुला छन्। भ्रष्टाचार पनि खुला छ। खाली जनतामात्र नजरबन्द छन्। यो बेलामा महामारी बाहेक अरु के छ चर्चा लायक? एमाले–माओवादीको झगडा र कांग्रेसको रगडामा मानिसको चाख पनि त छैन।  

शहरमा केही दिन मृत्यु र लासको चर्चा कमै थियो। पशुपति क्षेत्रको मसानघाटमा हुने भीड र बेथितिका कुरामा मानिसले चाख लिन छाडेका थिए। शहर–बजारमा मानिसहरु भन्दै थिए, महामारी अलिकति सुस्ताएको छ।

हरेक दिन सयको अंक नाघिसकेको मृत्युदर स्वात्त दुई अंकमा घट्नु मानिसका लागि खुसीको कुरा थियो। मानिसले यो पक्षमा विचार पुर्याउन सकेको थिएन, देशमा कोरोना संक्रमणको परीक्षण नै कम भएको छ भने परिणाम कसरी सही आओस्?

बिहीबार स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारीमा बितेको २४ घन्टामा कोरोनाबाट ३४ मानिसको मृत्यु भएको खबरमात्र आएन, संक्रमितको संख्या बढ्दै गएको पनि बताइयो।

कोरोनाको पीडामा देशका जनता बहकिएको दुई वर्ष भइसकेको छ। सबै मिलाएर, औसतमा हेर्ने हो भने जनसंख्याको अनुपातमा हामीकहाँ कोरोनाले मरेका मानिस अन्यत्रको तुलनामा सबैभन्दा बढी छन्। कति भन्नु र कति लेख्नु की सरकार कोरोना समस्याप्रति पटक्कै मुखरित भएन।

यसबीच, बेसार–पानी, गुर्जो, अम्बाको पातको सुरुवासम्म र अनुलोमदेखि बिलोमसम्म देशी उपचारका अनेक पध्दतिको प्रचार–प्रसार भइसकेको हो। यी उपचारले कोरोनाको माखो पनि मरेको कसैले थाहा पाएन।

त्यसपछि सरकारले भ्याक्सिन उपहार पायो छिमेकी भारत सरकारको सदासयबाट। सरकारले आफैं पनि किनेको हो अलिकति भ्याक्सिन। तर खेल–खेलमा नै आएको झन्डै ३० लाख डोज भ्याक्सिन खेल–खेलमा नै सबै सकियो। कति भ्याक्सिन कर्मचारीले आफन्तलाई लगाउनका लागि घर पुर्याए। कति भ्याक्सिन कान्तिपुरका फार्मेसीहरुमा सुपथ मूल्यमा गुपचुप बिक्री हुन पनि थाले। यसको हिसाब राख्न सकिने थिएन। कसको हिसाब राख्नु?

भ्याक्सिनका लागि मन्त्री, सचिव र उच्च पदाधिकारीको आग्रह आउने नै भयो। एउटा भ्याक्सिन लगाइदिन नसक्ने केको मन्त्री, के को हाकिम भनिहाल्छ जनताले। उनीहरुको सिफारिसमा त कति नै गयो होला र!

सुनिन्छ, अहिले स्वास्थ्य मन्त्रालयमा भ्याक्सिनको हिसाबको खोजी भइरहेको छ। त्यत्रो बीसौं लाख भ्याक्सिनको हिसाब राख्न सक्ने कर्मचारी भइदिएको भए त देशले यति दुःख किन पाउँथ्यो र। तर सरकारी हिसाब हो, खोज्नु त पर्छ। नत्र, महालेखाले समात्छ।

कोरोना महामारीले देखायो, नेपाली जाति धेरै कुरामा समर्थ छन्। महामारीको पहिलो चरणमा देशका प्रायः सबै प्रदेशमा गरिब, असमर्थ र असहाय जनतालाई ‘तातो भात’ खुवाउने होड चल्यो। जनतालाई समर्थ बनाएर स्वाबलम्वनको पाठ पढाउनुभन्दा असमर्थ बनाएर एक छाक भात खुवाउनु साह्रै सजिलो छ। त्यो काम खुुब भयो।

महामारीको दोस्रो चरणमा अस्पतालमा बेडको अभाव भयो। अक्सिजन नपाएर बिरामीको ज्यानै जान लाग्यो। आइसियु अभावको त झन् कुरै भएन। भेन्टिलेटरले त्यत्तिकै आपद पार्यो। तर नेपालीले त्यो विपत्ति पनि सहजै पार गर्यो। दुई–चार दिन निकै ठूलो हो–हल्ला भयो। पाँचौ दिनपछि त रातारात अस्पतालका टहरा नै बन्न थाले।

बिरामीका लागि अक्सिजनको प्रवाह पनि हलक्क बढ्यो। त्यतिले नपुगेर देशभित्रै अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न देश र विदेशका नेपाली अध्यव्यसायी जमजमाए। यो समस्या पनि समाधान भयो। तर कोरोना महामारी टसमस भएन।

पछिल्लो पटक कोरोना विरुध्द उपत्यकाका तीन वटै ऐतिहासिक शहर – यें (कान्तिपुर), यल (ललितपुर) र ख्वप (भक्तपुर) मा सरकारले बिहान तरकारी खरिदमा बाहेक अरु सबै कुरामा लकडाउन गर्यो। यी तीन वटै जिल्ला र शहरका नगरपतिहरुले कोरोना महामारी अलिकति मत्थर भएको महसुस गरेपछि लकडाउन ‘लुजडाउन’ मा परिणत भयो।

तर, वास्तविकतामा उपत्यकामा महामारी मत्थर भएकोले ‘लुजडाउन’ गरिएको थिएन। असार मसान्तसम्म सकेसम्म बढी कर असुल गर्ने सरकारको उद्देश्य पूरा गर्न गरिएको थियो त्यो लुजडाउन। यता, सरकारले लकडाउनलाई लुजडाउन गर्ने तरखर गर्यो, उता कोरोनाबाट मर्नेको संख्या हलक्क बढ्यो। संक्रमितको संख्या बढ्नु त स्वभाविक नै थियो।

तेस्रो चरणमा कोरोना। देश बाहिरका सूचना पढने हो भने मानिस आत्तिएर नै मर्नेछ। हामी नेपाली त्यसरी आत्तिनेमा पर्दैनौं। कोरोना महामारीले त मानिस मरेर नगएसम्म आशाको त्यान्द्रो नछाड्ने, मरेर गइसकेपछि छाती नै पिटेर नरुने स्वभाव विकसित गरिदिएको छ नेपालीको।

डेढ महिनाअघि ६५ वर्ष पुगेका बुढाबुढीले कोभिसिल्ड नामको भारतीय भ्याक्सिन लगाएका थिए। अहिले त्यो भ्याक्सिन यहाँ पाईंदैन। भारतीय कम्पनीले नोभेम्बर महिनामा पठाउने भनेको छ क्या रे! कम्पनीले जेसुकै भने पनि नेपाल सरकार साउनमा भारतीय खोप आउने कुरामा ढुक्क छ। यति हो कि, सरकारको प्राथमिकता छैन। जनताप्रतिको दायित्वबोध छैन। राजनीतिमा बितेको छ दिन। राजनीतिमा पनि बोलीको ठेगान छैन। कामको टुंगो छैन। यस्तो चालले के होला, के नहोला।

समाजको सकारात्मक पक्ष भन्ने कि के भन्ने, जनताले अचेल सरकारका भुठा कुरा पत्याउन छाडेका छन्। केही टेलिभिजनका समाचारलाई छाडेर अधिकांश टेलिभिजनका समाचार पत्याउँदैनन जनता। जनताले जान्न नचाहेका र जान्न नपर्ने कुरा नै धेरै हुन्छन् टेलिभिजनमा।

कोरोनाको गुह्य कुरा केही भन्दैनन्। हल्का–फुल्का त सबैलाई आइहाल्छ। देशको जुन हालत छ अहिले, यो हालतमा नेपालीले कोराना महामारीको तेस्रो महासागर कसरी पार गर्ला? तेस्रोमा त बालबालिका र तन्नेरी बढी खतरामा रहेको बताइन्छ।

हाम्रा विशेषज्ञहरुले केही बुझे की बुझेका छैनन्? मानवताका पक्षमा सिन्कोसम्म नभाँचेर आपसी झगडामा मात्रै रमाउने यो सरकारसँग मानिसलाई बचाउने इच्छा पनि छैन, अभिप्राय पनि छैन, ज्ञान पनि छैन, विज्ञान पनि छैन। यो अवस्थामा अब बोलो, बाबा श्रीपशुपतिनाथकी जय!

असार १८, २०७८ शुक्रबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।