साताका १० गीत : दीपाश्रीको आँटिदे मैनादेखि अन्जुको तिमी आयौ जिन्दगीमा
काठमाडौँ : यो साता बजार १० नयाँ गीत सार्वजनिक भएका छन्। दीपाश्री र सन्दीप अभिनीत ‘आँटिदे मैना’, हेमन्त र एलिनाको ‘असफल मायालु’, वसन्तको ‘कति माया गर्छौ तानी’ लगायतका गीत सार्वजनिक भएका हुन्।
दीपाश्री र सन्दीप अभिनीत ‘आँटिदे मैना’
सुगम पोखरेल र समीक्षा अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन्। उनीहरूले ‘आँटिदे मैना’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उक्त गीतको भिडियोमा दीपाश्री निरौला, सन्दीप क्षेत्री, निर्मल शर्मा र इनु क्षेत्री लगायतको अभिनय रहेको छ।
गीतमा बिहे गरेर सुख नपाएको कथालाई उठान गरिएको छ। गीतमा संवाद समेत राखिएको छ। अहिलेसम्म विवाह गरेको मान्छे खासै देखेको छैन भन्दै दीपाले निर्मल शर्मालाई प्रश्न गरेकी छन्।
दीपाश्री कै निर्देशनमा बनेको यस म्युजिक भिडियोमा कोरियोग्राफी कविराज गहराजको रहेको छ। राजेन्द्र भट्ट र नवज कलाउनीको शब्द रचना रहेको यस गीतमा राजेन्द्र भट्टकै सङ्गीत रहेको छ। हरि हुमागाईँले खिचेको भिडियोलाई विपिन मल्लले सम्पादन गरेका छन्।
हेमन्त र एलिनाको ‘असफल मायालु’
गायक हेमन्त शर्माको ‘असफल मायालु’ बोलको गीत सार्वजनिक भएको छ। गायक शर्मालाई गायिका एलिना चाहानले गायनमा साथ दिएकी छन्। हेमन्त शर्मा कै शब्द तथा सङ्गीतमा तयार भएको गीतको सङ्गीत संयोजन कृष्ण विकले गरेका छन्।
आफूले माया गरेको मान्छेलाई नपाउँदाको पीडा गीतमार्फत पोखिएको छ। धेरै माया गर्दा पनि आफ्नो हुन नसकेको र कहिलेकाहीँ मेरो याद आउँछ आउँदैन भन्दै असफल मायालुलाई गीतमार्फत प्रश्न गरिएको छ। गीतको भिडियोमा गायक हेमन्त र गायिका एलिना चौहानलाई अभिनय गराइएको छ।
निषेधाज्ञाका कारण भिडभाड तथा जमघट गर्न नमिल्ने भएकाले आफैले अभिनय गर्नुपरेको गायक शर्माले बताए। ‘अहिलेको कोरोना त्रास र विषम परिस्थितिका कारण थोरै मान्छे भेला भएर गीतको भिडियोमा आफैले अभिनय गरेको हो,’उनले भने,‘सामाजिक दुरी कायम गर्दै गीतको भिडियो तयार पारेका छौँ। दर्शक तथा श्रोताहरूले गीतको भिडियो मन पराइदिनुभएको छ।’
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापाले खिचेका छन्। भिडियोको सम्पादन विकास धमलाले गरेका छन्।
वसन्तको ‘कति माया गर्छौ तानी’
वसन्त सापकोटा र रंगिला बतालाको आवाजमा ‘कति माया गर्छौ ता नि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। वसन्त कै शब्द सङ्गीतमा तयार भएको गीतलाई कृष्ण विकले सङ्गीत संयोजन गरेका छन्।
गीतमा आफ्नो मायालुलाई कति मलाई गर्छौ भन्दै गीतमार्फत एक अर्काले सोधासोध गरेका छन्। रमेश कोइरालाको निर्देशनमा निर्माण भएको यस गीतको म्युजिक भिडियोमा कृष्ण न्यौपाने, मान बहादुर बिक र सहिना भट्टराईको अभिनय रहेको छ। गीतको भिडियोलाई रविचन्द्र कोइरालाले खिचेका छन् भने उत्तर राना मगरले सम्पादन गरेका छन्।
‘तिम्रै मयाले’ भन्दै आइन् गरिमा
गायिका चन्द्रा आचार्यको आवाजमा नयाँ तीज गीत ‘तम्रा मायाले’ सार्वजनिक भएको छ। लक्ष्मी प्रसाद गौतमको शब्द रचना र गौरव दर्पणको सङ्गीत रहेको गीतलाई सौरथ प्रधानले सङ्गीत संयोजन गरेका छन्।
तीजको अवसर पारेर सार्वजनिक भएको गीतमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जल केसी लगायतले छमछम नाचेका छन्। रमेश थापाको निर्देशन रहेको यस गीतको भिडियोलाई शिव ढकालले खिचेका छन्। भिडियो सम्पादन नकुल खड्काले गरेका छन्।
‘मार्यो मार्यो ’ लिएर आए अभय र रेश्मा
गायक अभय ढुङ्गेल र रेश्मा सुनुवारको आवाजमा ‘मार्यो–मार्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको शब्द तथा सङ्गीत गायक ढुङ्गेलकै रहेको छ। सार्वजनिक भएको गीत फरक स्वाद रहेकोले आम दर्शक श्रोताले मन पराउनेमा आफू ढुक्क रहेको गायक ढुङ्गेल बताउँछन्।
बाबु प्रधानको सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन्। शङ्कर बिसीको निर्देशन साथै कोरियोग्राफी रहेको भिडियोमा शङ्कर बिसी र कविता न्यौपानेको अभिनय रहेको छ। गीतकार ढुङ्गेलले केही गीतहरू रेकर्डकै क्रममा रहेको सुनाए।
मिराजको निर्देशनमा ‘दिलको रिलैमा’ सार्वजनिक
मिराज अर्यालको निर्देशनमा ‘दिलको रिलैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण अर्यालको शब्द तथा सङ्गीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगरले अभिनय गरेका छन्।
‘दिलको रिलैमा’को भिडियोलाई मिराज अर्यालले नै छायाङ्कन तथा सम्पादन गरेका छन्। रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्याप पनि रहेको छ। विवेक खड्काको कोरियोग्राफी रहेको भिडियोमा मनोज र चाहानाको नृत्य देख्न सकिन्छ।
मेलिना र युवराजको ‘शीतल शीतल’मा नाजिर हुसेन
गायक युवराज मगर र मेलिना राईको युगल स्वरमा ‘शीतल शीतल’बोलको गीत सार्वजनिक भएको छ। गायक युवराजकै सङ्गीत रहेको गीतलाई प्रकाश सपूतले लेखेका हुन्। गीतमा सञ्जीव बराइली र केशव बडुले एरेन्ज गरेका गरेका छन्।
गीतको भिडियोमा नायक नाजिर हुसेन र शुभेच्छा मगर भारतीले अभिनय गरेका छन्। सान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।
भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका छन्। नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक युवराजका यस अघि ‘मयाली’, ‘सयौँ जुनी’, ‘चरी’, ‘गोरखपुरे रेलैमा’ लगायतका गीत सार्वजनिक भएका छन्।
‘तिमी आयौँ जिन्दगीमा’ भन्दै आए अन्जु पन्त र मनोजराज
नेपाली सुगम सङ्गीतकी चर्चित गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोजराज सिवाकोटीको स्वरमा ‘तिमी आयौँ जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ।
सार्वजनिक भएको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ भने गायक मनोजराजकै सङ्गीत छ। गायिका अन्जु पन्त र मनोजराज पूर्व श्रीमान् तथा श्रीमती हुन्।
रंगपत्रकार तथा निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गीतकार वाग्ले आफै अभिनयमा उत्रिएका छन्। उनलाई अभिनयमा उनकै श्रीमती प्रमीला कार्कीले साथ दिएकी छन्। माया प्रेमको भाव व्यक्त गरिएको गीतमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको छ।
एलिनाको ‘क्या हिरो भएछ’
गायिका एलिना चौहानको आवाजमा ‘क्या हिरो भएछ’ सार्वजनिक भएको छ। गीतमा गायिका एलिना चौहानलाई गायक किरण भुजेलले गायनमा साथ दिएका छन्। विष्णु विक्रम निरौलाको शब्द रचना रहेको गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज रहेको छ।
यसमा बालकलाकार विश्वास बस्नेत र सनुजा राईका साथमा सुमन योगी, सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेल, करुणा लिम्बु, सुजन राईको अभिनय रहेको छ।
प्रनेश राई (यात्री ब्रोज) ले गीतको भिडियोलाई खिचेका छन्। विष्णु विक्रम निरौलाको निर्देशनमा निर्माण भएको भिडियोलाई नृत्य निर्देशन सुमन योगीको छ।
‘दुई मुटु’मा डिआर र अनु शाहको अभिनय
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत रहेको छ। गीतलाई सञ्जय श्रीपालिले एरेन्ज गरेका छन्। माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री अनु शाह र गीतकार उपाध्याय आफैले अभिनय गरेका छन्। उत्सव दाहालको छायाङ्कन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।
गीतकार उपाध्यायका २४ एल्बममा माया प्रेम, रोमान्स बिछोडका साथै समाजका लागि लेखिएका गीत सार्वजनिक भइसकेका छन्। उनका ११ उपन्यास र तीन गीति पुस्तक पनि प्रकाशित छन्।
असार १८, २०७८ शुक्रबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।