अस्कर अवार्ड जित्नेलाई ८ लाख रुपैयाँ दिने घोषणा
काठमाडौँ : अस्कर अवार्ड जित्नेलाई चलचित्र विकास बोर्डले प्रोत्साहन स्वरूप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
विकास बोर्डको २१ औँ वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष दयाराम दाहालले बोर्डका तर्फबाट अस्कर अवार्डमा छनोट हुने नेपाली चलचित्रलाई २ लाख, नोमिनेशन र अवार्ड नै जिते ८ लाख प्रोत्साहन स्वरूप दिने निर्णय गरेको बताएका हुन्।
उनका अनुसार बोर्डले गोल्डेन अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन चलचित्र अवार्डमा छनोट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने १ लाख ५० हजारदेखि २ लाखसम्म प्रोत्साहन रकम प्रदान गर्ने छ।
त्यस्तै, कान्स, भेनिस, लोकार्नो, बर्लिन्, टोरन्टो, सनडान्स, रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुन सफल फिचर चलचित्रलाई २ लाख ५० हजार र छोटो चलचित्रलाई १ लाख रुपैयाँ प्राप्त गर्ने छ।
बोर्डले ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू भएको बताएको छ। बोर्डका अध्यक्ष दाहालले अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ लागू भएको जानकारी दिए।
उनले ‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वकै प्रतिष्ठित ल्याबमा जाने चलचित्रलाई ५० हजारदेखि ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउनुका साथै चलचित्रकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि थप २५ हजारदेखि २ लाखसम्म उपलब्ध गराउने बताए।
असार १८, २०७८ शुक्रबार ०९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।