नबन्ने विमानस्थलमा वर्षेनी बजेट
इटहरी : लामो समयदेखि धरानमा विमानस्थलको सपना बाँडिँदै आएको छ। राजनीतिक दलहरूले चुनावी एजेन्डाको रूपमा विमानस्थललाई प्राथमिकतामा राख्दै आएका छन्।
स्थानीय सरकारले विमानस्थल बनाउन पाउने अधिकार नभए पनि सुरुवातदेखि नै बजेट भने विनियोजन हुँदै आएको छ।
आर्थिक वर्ष २०७८/७९ को लागि विनियोजित बजेटमा पनि विमानस्थलको जग्गा प्राप्तिको लागि भन्दै ५० लाख विनियोजन गरिएको छ। चालु आवमा पनि सोही शीर्षकमा ५० लाख बजेट विनियोजन गरिएको थियो।
त्यससँगै धरान– ४ मा भ्यु प्वाइन्ट निर्माणका लागि २ लाख तथा तारा सुब्बा स्मृति पार्क बनाउन १० लाख बजेट विनियोजन भएको थियो। आगामी आवमा पनि सोही शीर्षकमा बजेट दोहोरिएका छन्।
धरान– १७, डाँडाघोपामा निर्माण गर्ने भनिएको विमानस्थल नबन्ने पक्का भइसकेको छ। यति इन्कर्पोरेट प्रालिले स्थानीयसँग विमानस्थल बनाउने भन्दै सस्तो मूल्यमा जग्गा लिएको थियो।
२०६० साल चैतमा विमानस्थल बनाउने भन्दै धरान, घोपाडाँडाका स्थानीयबाट मुआब्जाको शैलीमा पैसा दिएर जग्गा जम्मा गरेको थियो।
नागरिक उड्डयन प्राधिकरणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुसार सो क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने भएको छ। घोपाडाँडामा विमानस्थल बनाउन सम्भव नहुने प्रतिवेदनको निष्कर्ष छ।
व्यावसायिक हिसाबमा पनि ४० किलोमिटर छेउ विराटनगरमा विमानस्थल रहेकाले सम्भावना नभएको रिपोर्टमा उल्लेख गरिएको छ।
नागरिक उड्डयन ऐन, २०५९ तथा संशोधन ऐन, कार्यविधिमा समेत निजी क्षेत्रले विमानस्थल बनाउन नपाउने उल्लेख गरिएको छ।
विमानस्थल निर्माण, संरक्षण र सञ्चालनको अधिकार प्रदेश र स्थानीय तहलाई नभए पनि धरान उपमहानगरपालिकाले हरेक वर्ष विमानस्थलको नाममा बजेट विनियोजन गर्दै आएको छ।
तत्कालीन मेयर कुमारबहादुर कार्कीले स्थानीयको ७ बिघा ३ कट्ठा ५ धुर जग्गा यतीलाई दिलाएका थिए। १८ वर्षसम्म विमानस्थल नबने पनि स्थानीयले जग्गा फिर्ता पाएका छैनन्।
स्थानीय रमेश कटवाल विमानस्थल निर्माण नहुने भएपछि जग्गा फिर्ता गर्नुपर्ने बताउँछन्। विमानस्थल नबने जग्गा फिर्ता गर्ने सहमति भएकाले अब यसैलाई आधार मानेर मुद्दा हाल्ने तयारीमा लागेको उनले बताए।
यति हुँदाहुँदै पनि स्थानीयबासी अझै विमानस्थल आउने आशमै छन्। स्थानीयको आशालाई मुद्दा बनाएर राजनीतिक दलले भोट माग्ने काम गरिरहेका छन्।
जनतालाई झुक्काउनकै लागि हरेक वर्ष ५० लाखका दरले विमानस्थलको नाममा बजेट विनियोजन हुने गरेको छ।
धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब तीन करोड ६४ लाखको बजेट ल्याएको छ। जुन चालु आर्थिक वर्षको भन्दा ३१ करोड बढी हो।
असार १८, २०७८ शुक्रबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।