कर्णाली सरकारलाई प्रदेशसभा लेखा समितिको निर्देशन– बजेट रकमान्तर नगर्नू
सुर्खेत : कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारलाई बजेट रकमान्तर नगर्न निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकले वित्तीय अनुशासनविपरीत कार्य नगर्न र त्यस्ता काममा हुने भुक्तानी रोक्न प्रदेश सरकारलाई निर्देशन दिएको हो।
आर्थिक वर्षको अन्त्यमा राजनीतिक पूर्वाग्रह र पहुँचको आधारमा बजेट रकमान्तर गर्ने प्रवृत्ति देखिएपछि यस्ता कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिइएको समिति सदस्य गुलाबजंग शाहले जानकारी दिए।
‘वित्तीय अनुशासनविपरीत काम गर्ने प्रदेश सरकारको पुरानै प्रवृत्ति फेरि दोहोरिएको छ,’ शाहले भने, ‘समितिले विपद् र महामारी प्रयोजनबाहेक रकमान्तर नगर्न निर्देशन दिएकोे छ।’
उनका अनुसार विपद् र महामारी प्रयोजनबाहेक आर्थिक वर्षको अन्त्यमा गरिने स्रोतान्तर, रकमान्तर, कोटेसनलगायत वित्तीय अनुशासनविपरीतका काम नगर्न र त्यस्ता काममा हुने भुक्तानी तत्काल रोक्न सरकारलाई निर्देशन दिइएको छ।
त्यस्तै, बैठकले रकमान्तर सम्बन्धमा माग गरिएको विस्तृत विवरण पुनःमन्त्रालयसँग माग गरेको उनले बताए।
प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट रकमान्तर गरेर गाडी, कृषि औजार लगायतका सामग्री खरिद गरेको भन्दै यो वर्ष पनि सरकारले त्यही प्रवृत्ति दोहोर्याएको समितिको निष्कर्ष छ।
असार १७, २०७८ बिहीबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।