सुर्खेतको सालकोट स्वास्थ्य केन्द्रमा ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन

सुर्खेतको सालकोट स्वास्थ्य केन्द्रमा ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन

सुर्खेत : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन भएको छ। 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले प्राथमिक स्वास्थ्य केन्द्रमा पाक्षिकरूपमा ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरेको हो। यससँगै जिल्लाको बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिका स्थानीयसँगै अछाम, कैलाली र दैलेखका केही बासिन्दा लाभान्वित भएका छन्। 

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा साउनसम्म पाक्षिक र भदौदेखि साप्ताहिकरूपमा शिविर सञ्चालन गर्ने मन्त्रालयको लक्ष्य छ। 

शिविरमा आएका बिरामीलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीले चेकजाँच गरेका छन्। ‘एकै दिन ५५ जना स्थानीयको चेकजाँच गर्याैं,’ डा. गिरीले भने, ‘अधिकांशमा हड्डी र नसाको समस्या देखियो।’ 

विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो।

प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जिल्लाको पश्चिम क्षेत्रका स्थानीय स्वास्थ्यका दृष्टिकोणले पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए।

‘कर्णालीका सबै नागरिकलाई घर–आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘त्यसको सुरुवात सालकोटबाट गरेका छौं।’ साथै उनले कर्णालीमै उपलब्ध जनशक्तिबाटै गाउँ–घरमै स्वास्थ्य शिविर सञ्चालन गरिने बताए।

असार १७, २०७८ बिहीबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।