बिपी प्रतिष्ठानमा उपकुलपति मदिरा प्रकरण : के भएको थियो त्यो दिन ?
काठमाडौंः १२ बुँदे माग राख्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू सङ्घर्षमा थिए। प्रतिष्ठान˗ शुद्धीकरण अभियान थालेको १५ दिनमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सङ्घर्षरत स्वास्थ्यकर्मीलाई वार्तामा बोलाए। स्वास्थ्यकर्मी आए पनि।
सङ्घर्षमा उत्रिएका तथा वार्तामा सहभागी प्रतिष्ठानका सहप्राध्यापक डा. विष्णु पोखरेलका अनुसार उपकुलपति डा. गिरीले सङ्घर्षरत स्वास्थ्यकर्मीलाई वार्ताका लागि दिउँसो ३ बजे समयको दिएका थिए। काठमाडौँमा रहेका उपकुलपति डा. गिरी सोमबार धरान पुगे।
सङ्घर्षरत स्वास्थ्यकर्मीका तर्फबाट १२÷१३ जना वार्ता कक्षमा प्रवेश गरे। तर, वार्ता कक्षमा प्रवेश गरेपछि डा. गिरिको रूप नै फरक देखियो।
डा. गिरीको बोली लर्बरिएको वार्तामा सहभागी डा. पोखरेलले बताए।
‘हामी वार्ताकालागि भित्र जाँदा भिसी सर रक्सिको नसामा हुनुहुन्थ्यो। उहाँको होस नै थिएन,’डा. पोखरेलले दाबी गरे,‘उहाँको बोली कन्ट्रोल थिएन। लट्टिएको आवाज थियो। रक्सी खाएको मान्छेले जसरी बोल्छ, त्यसरी बोलिरहनु भएको थियो।’
वार्ता कक्षमा उपकुलपति गिरी, रेक्टर, रजिस्ट्रार, अस्पतालका सह निर्देशक र असिस्टेन्ट हस्पिटल डाइरेक्टर थिए।
सङ्घर्षरत स्वास्थ्यकर्मीहरू वार्ता कक्षमा छिरेपछि उपकुलपति डा. गिरिले वार्तामा उपस्थित नभएका बिपी अस्पतालका निर्देशकलाई फोन गर्न सह निर्देशकलाई कर गरिरहे।
डा. पोखरेलले सुनाए,‘उहाँले पटक पटक डेपुटी डाइरेक्टरलाई अह्राउँदै डाइरेक्टर सरलाई फोन लगाउन कर गरिरहनु भएको थियो।’ फोन गरिरहँदा डा. गिरिको आवाज लरबराएको थियो।
वार्ताका लागि पुगेको सङ्घर्षरत स्वास्थ्यकर्मी र डा. गिरिबिच संवादै सुरु भयो। डा.पोखरेलका अनुसार बोली लरबर्याउँदै उपकुलपति डा. गिरिले वार्तामा पुगेका स्वास्थ्यकर्मीहरूसँग भने,‘म यो संस्थामा पैसा कमाउन आएको हैन। म संस्था छोडेर पनि जान सक्छु। मविना तपाईँहरू चल्न सक्नुहुन्छ। तर, तपाईंहरुविना म चल्न सक्दिन।’
डा. पोखरेलका अनुसार रेक्टर, रजिस्टार र सह निर्देशक वार्ता टोलीलाई तपाईँहरूको आन्दोलन ठिकै भए पनि वार्ताका पूर्वसर्तहरु आफ्नो क्षेत्राधिकार भन्दा बाहिर भएकाले उपकुलपतिले नै समाधान गर्नुपर्छ भनेका थिए।
तर, वार्ताका लागि गएका स्वास्थ्यकर्मीहरूलाई उपकुलपति डा. गिरीको व्यवहार असामान्य लाग्यो। वार्ताका लागि बसेका उपकुलपतिले मदिरा पिएको थाहा पाएपछि मातिएको व्यक्तिसँग कुरा गर्नु उचित हुँदैन भन्दै चिकित्सकहरू वार्ता कक्षबाट बाहिरिए।
०००
वार्ताबाट बाहिरिएपछि स्वास्थ्यकर्मीले डा. गिरिको मापसे परीक्षण गर्न माग राखे। डा. गिरी मदिरा पिएर आएको प्रतिष्ठानमा हल्ला फैलियो। त्यसपछि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी लगायत स्वास्थ्यकर्मी अस्पताल अगाडी जम्मा भएर प्रदर्शन गर्न थाले।
उता प्रतिष्ठानका पदाधिकारीहरूले प्रतिष्ठानको भवनको चेन गेटमा आफैँ ताला लगाए। त्यही चेन गेटमा विद्यार्थीले बाहिरबाट ताला लगाए। केही समयपछि विद्यार्थीहरूले ताला खोलिदिए।
बेलुका ८ बजे प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहन चन्द्र रेग्मीलाई उकेराले सम्पर्क गर्दा आफूहरू थुनिएको बताएका थिए। उनले भनेका थिए,‘अहिले बोल्न मिल्ने अवस्थामा नै छैन। म कार्यकक्षमा थुनिएको छु।’
त्यही बेला सुनसरीस्थित इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरसँग सम्पर्क गर्दा पदाधिकारीहरू नथुनिएको दाबी गरेका थिए।
सुरुमा सङ्घर्षरत सङ्घर्षरत स्वास्थ्यकर्मीले नै डा. गिरिले मादक पदार्थ सेवन गरेको विषय प्रहरी, प्रशासन, सिडिओ कार्यालयमा खबर गरेको थियो। सवा साढे ४ बजेतिर प्रतिष्ठानमा प्रहरी पुग्यो। धरान उप महानगरपालिकाका मेयर, उप मेयर लगायत नेता पुगे।
प्रहरीले उपकुलपति कार्यालयमा चिकित्सकलाई छिर्न दिएनन्। प्रतिष्ठानमा प्रहरीले घेरे। वार्ता छोडेर स्वास्थ्यकर्मीहरुले बाहिर नाराबाजी गर्न थालेपछि प्रहरी पुगेको थियो।
स्वास्थ्यकर्मीले डा. गिरिले मदिरा पिएको विषयमा पुष्टिको लागि परीक्षण गर्नुपर्ने माग राखे। विवाद भयो। तर, प्रहरीले परीक्षण गर्नै दिएनन्।
‘सबै पदाधिकारी र वार्तामा बसेका टोलीको पनि गरौँ भन्ने लाइनको कुरा हुँदैनथ्यो। त्यसपछि फेरी परीक्षणको कुरा उठेन,’ डिएसपी कुँवरले भने,‘ ‘उहाँहरू... ऐन कानुनद्धारा निर्देशित कर्मचारीहरू हुनुहुन्छ। त्यस्ता पदाधिकारीलाई ऐन, नियम र अनुशासन उपरको कारबाही गर्दा त संस्थागत हिसाबको लेखापढी हुनुपर्छ नि त।’
बेलुका साढे ९ बजे प्रदर्शन स्थगित भयो। प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरू बिच घुसपैठ भएर हुलदङ्गा हुने जोखिम भएकाले स्थगित गर्नु परेको पोखरेलले बताए।
बेलुका भिसीलगायतका पदाधिकारी प्रतिष्ठानको कार्यालयबाट निस्किए।
प्रदर्शन अझै जारी छ। तर समाधान निस्किएको छैन। आन्दोलनरत पक्षले गिरीको शैक्षिक प्रमाण पत्रको परीक्षण लगायतका माग राखिरहेका छन्।
डा गिरीले त्यो दिन आफूले मदिरा सेवन नगरेको दाबी त गरेका छन्। तर परीक्षण हुन नसक्दा उनले मदिरा पिएर वार्ता स्थलमा गएका थिए या यो हल्ला मात्र हो त्यसको पुष्टि हुन भने अब सम्भव छैन।
असार १७, २०७८ बिहीबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।