उपकुलपति मापसे गरेर आएको भन्दै बिपी प्रतिष्ठानकाे आन्दोलनरत पक्षले छाड्याे वार्ता
इटहरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्ष र पदाधिकारी बीचको वार्ता विफल भएकाे छ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन (मापसे) गरेर आएको भन्दै आन्दोलनकारीले वार्तास्थल छाडेपछि वार्ता रोकिएको हो।
मंगलबार दिउँसाे वार्ताका क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गिरी बोल्दा मापसे गरेको पत्ता लागेको आन्दोलनकारीको आरोप छ।
वार्तामा बसेका पदाधिकारीलाई कोठाभित्र थुनेका उनीहरूले आन्दोलनलाई ‘मजाकको विषय’ नबनाउन चेतावनी दिएका छन्।
प्रतिष्ठानमा अनियमितता भएको भन्दै विद्यार्थी, नर्स तथा चिकित्सक १५ दिनदेखि आन्दोलनमा छन्। आन्दोलनकारीले दुई दिनयता रिले अनसन सुरु गरेका छन्।
आन्दोलनरत पक्षका डा. एसपी रिमालले उपकुलपति मातेर वार्तामा आएको बताए। उपकुलपतिमा वार्ता गर्ने भन्दा पनि आन्दोलन तुहाउने मनसाय देखिएको उनको भनाइ छ। आन्दोलनकारीले आन्दोलनलाई नजरअन्दाज गरे त्यसको परिणाम उपकुलपतिले नै भोग्नुपर्ने चेतावनी दिएका छन्।
संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा सोमबारबाट जारी अनसनमा डा. पदम नेपाली, डा. अमृत जैसी र विद्यार्थीद्वय सुवास बन्जाडे र ज्योति बोगटी सहभागी छन्।
बिपी प्रतिष्ठानको बेथितिको बारेमा असार १ गतेदेखि निरन्तर आन्दोलन जारी छ।
प्रतिष्ठान सुधार र सुदृढीकरणको लागि चिकित्सक कर्मचारी कति प्रतिबद्ध र समर्पित छन् भन्ने देखाउन रिले अनसन सुरु गरेको संघर्ष समितिले जनाएको छ। प्रतिष्ठानमा पदाधिकारीहरूको रवैया नफेरिए सामूहिक राजीनामा लगायतका आन्दोलनको स्वरूप परिवर्तन हुँदै जाने आन्दोलनरत डा. पदम नेपालीले बताए।
प्रतिष्ठानका पदाधिकारीले सवारी साधनको दुरुपयोग गरेको भन्दै आइतबार संघर्ष समितिले चाबीसमेत नियन्त्रणमा लिएको छ।
असार १५, २०७८ मंगलबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।