कङक्रिटको कारण सुक्दै छ पानीको श्रोत
ताल तलैया हरुमा कंङक्रिटका संरचना निर्माण गरेर आकर्षण बढाउन खोजिएपछि मौलिकता हराउँदै गएको छ । केही वर्ष अगाडी हरियाली भएको ठाउँ कंङ्कृटको जङ्गलमा रूपान्तरण भएको छ । इटहरीमा बढ्दो जनघनत्व सँगै नयाँ संरचना निर्माणको काम पनि तीव्र बन्दै गएको छ ।
थारु संस्कृति संरक्षणको अभियानमा लागेका तेज नारायण चौधरीका अनुसार इटहरीमा ५ सय बढी पोखरी मासिएका छन् । पहिला खेती बालीको लागि प्रयोग हुने पैनी तथा कुलो माथि ठुलठुला घरहरू बनिसकेको उनले सुनाए । इटहरी चौक आसपासका पैनी मासेर ढलान गरिएका साँघुरा ड्रेन निर्माण गरिएका छन् ।
जनघनत्व बढे सँगै जलाशयहरू मासिँदै गएका छन् । खेती योग्य जमिन र जङ्गलमा घर तथा भवन निर्माण भएका छन् । चौधरीका अनुसार इटहरी चौकको २ किलोमिटर भित्र खेती हुने जमिनमा अहिले पक्का घर मात्र देखिन थालेका छन् । बोटबिरुवा मासेर सडक कालोपत्रे गरिएको छ । पोखरी र पानी घट्टमा व्यापारीकरण भवन निर्माण भएका छन् । जसले गर्दा पानीको श्रोत सुक्दै जान थालेको उनको भनाई छ ।
चौधरीको भनाई लाई पुष्टि गर्छन् इटहरी आसपास जमिन मुनीको पानी निकाल्दै कल गाड्ने मिस्त्री जलेश्वर शाह । उनका अनुसार पहिला ४० फिटमा पानी आउने ठाउँमा अहिले ६० देखी सय फिट सम्म गाड्नुपर्ने अवस्था छ । जमिन मुनी पानी सकिँदै गएकाले पानीको सतह भेट्न गाह्रो हुने उनले बताए ।
उता पर्यावरण विद् प्रमोद घिमिरे कङक्रिटका संरचना मात्र सहरका पूर्वाधार हुन् भन्ने बुझाइको कारण वातावरणमा समस्या बढ्दै गएको बताउँछन् । घर, आँगन र सडक सबै कङ्क्रिटले ढलान गर्ने चलन बढेकोले अन्डर वाटर रिचार्ज सिस्टम बिग्रिएको उनको तर्क छ । “जमिन मुनीको पानीको श्रोत सुक्दै गएको । माथिल्लो भागबाट रिचार्ज हुनुपर्ने भए पनि पानीको बाटो बन्द भएपछि सतह गहिरिँदै गएको हो,” उनले भने ।
इटहरीमा पानीको श्रोत संरक्षणका लागि २०५६ सालमा एक घरधुरी बराबर तिन वटा बिरुवा अनिवार्य रोप्नुपर्ने नियम नै बन्यो । यदि बिरुवा नरोपे घर नक्सा पास नहुने नियम बनाइयो । जस कारण धेरै रुखहरू इटहरीमा हुर्कन पाए । नयाँ सडक योजनामा ठेकेदार कम्पनीले ८ देखी १० फिटको दुरीमा बिरुवा रोप्नुपर्ने, नभए रकम भुक्तानी नै नहुने जस्ता नियम बनाइएको थियो । हाल तिनै बिरुवा मासेर सडक चौडा गर्ने काम भइरहेको छ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा एकाघर दुई बिरुवा अभियान ल्याएको थियो । तर पर्याप्त निगरानीको अभावमा वृक्षारोपणको काम ठप्प नै भएको छ ।
बढ्दो सहरीकरणसँगै वायु, जल, जमिनजस्ता पर्यावरणीय तत्त्वको क्षयीकरणले अनेकन् समस्या निम्तिरहेका छन् । ओजन तह नष्ट हुँदा विश्वव्यापी उष्णता वृद्धि भइरहेको छ । अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलभमेन्ट (ओइसिडी) को अध्ययनले विश्वको तापमान सन् २०३० सम्म औसत १.२ प्रतिशत, २०३० सम्ममा औसत १.७ प्रतिशत र २०५० सम्ममा औसत ३ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरेको छ ।
बेलायतको पर्यावरण विशेष अनलाइन ग्रिनस्पेक डट सिओ डट युकेका अनुसार विश्वमा कार्बन उत्सर्जन गर्नमा ४ देखी ८ प्रतिशत कङक्रिट संरचनाको भूमिका छ । सिमेन्टले दुई प्रकारबाट कार्बन उत्सर्जन हुने तथ्य ग्रिनस्पेकले सार्वजनिक गरेको छ । जसमा सिमेन्ट उत्पादनमा लाग्ने कोइला तथा इन्धनको खपत र दोस्रो कङक्रिट संरचनाले उत्पादन गर्ने कार्बन रहेका छन् ।
सोही अध्ययन अनुसार एक टन सिमेन्ट बाट ७८० केजी कार्बन उत्सर्जन हुने पाइएको छ । दृश्य तथा ध्वनि प्रदूषण, कृषि भूमिको विनाश जस्ता परिणामले गर्दा कार्बन उत्सर्जनमा वृद्धि भएको ठहर विज्ञहरूको छ ।
अमेरिकन पत्रीका दिदी गार्जीयनको एक रिपोर्ट अनुसार विश्वमा पानी पछि प्रयोग हुने दोस्रो बस्तु सिमेन्ट पाइएको छ । हरियो र निलो पृथ्वी खैरो रङ्गमा परिणत हुँदै गएकाले झाडी तथा जङ्गल भन्दा धेरै कङक्रिटका संरचनाको वजन बढी भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
दिदी गार्जीयनका विश्व वातावरण सम्पादक जोननाथ वाट्सले कङक्रिट संरचनाको कारण बाढी र डुबानको जोखिम बढ्दै गइरहेको उल्लेख गरेका छन् । बाटो र पार्कहरूमा कङक्रिट संरचना निर्माण गर्दा वरिपरिको वातावरणको तापमान वृद्धि हुने उनको तर्क छ । सिमेन्टको प्रयोगले सिलिकोसीस लगायत श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्ने उनले प्रस्ट पारेका छन् ।
“कङक्रिट पृथ्वीको विनाशकारी बस्तु हो । यसले पृथ्वी र मानव स्वास्थ्य तथा संस्कृतिमा गम्भीर असर गरिरहेको छ,” उनले भनेका छन् ।
विकाश विद्ध डाक्टर सूर्यराज आचार्यले यसबारे प्रस्ट पार्दे भनेका छन्, “अन लिमिटेड ग्रोथको परिणाम क्यान्सर हो । ग्रोथलाई थेग्न सकिएन भने क्यान्सर हुन्छ । सहरको मामलामा पनि त्यही हो । त्यसैले, सहरको विकास गर्दा ग्रोथलाई ध्यान दिनुपर्छ । सहर भनेको आफैमा पृथक् इकाई होइन । कोर सहर, काँठ (बफर) र प्रकृति तीन वटै कुरालाई सन्तुलनमा राखियो भने सहर राम्रो र सुन्दर बनाउन सकिन्छ ।”
यसरी कम गर्न सकिन्छ कङक्रिट
पर्यवरणविद्ध घिमिरे कंङ्कृटको प्रयोग कम गरेर वातावरण सन्तुलन गर्न सकिने बताउँछन् । पानीको लेबल घट्दै गएका ताल तलैया आसपास बर, पिपल, स्वामी, सिसौ, खयर, सिमल जस्ता ठुला जातका रुख रोप्न सकिने उनको तर्क छ । उनका अनुसार सहरी वनलाई विकसित गर्न सकिन्छ । यसले सहरको तापक्रमलाई सन्तुलनमा राख्ने र हरेक नागरिकलाई सदैव सक्रिय बनाउन सहयोग गर्छ ।
कङक्रिटका ठाउँमा ढुङ्गा वा इँटाको प्रयोग बढाउनुपर्ने उनको सुझाव छ । यसले गर्दा पानी सोसिएर जमिनमुनि सम्म पुग्न सक्ने उनले बताए । पैनी, खोला, ढलको मर्मत गर्दा जमिनमा सकेसम्म कङक्रिट प्रयोग गर्न नहुने उनको भनाई छ । पानीलाई सकेसम्म जमिनसँग घुलमिल हुन दिने हो भने समस्या धेरै बढ्न नपाउने उनको विश्वास छ ।
असार १३, २०७८ आइतबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।