निलम्बन गरेका सांसद प्रदेशसभा बैठकमा सहभागी भएपछि एमालेद्वारा बैठक अवरुद्ध

निलम्बन गरेका सांसद प्रदेशसभा बैठकमा सहभागी भएपछि एमालेद्वारा बैठक अवरुद्ध

निलम्बनका परेका तीन सांसदमध्ये अम्मरबहादुर थापा र नन्दसिंह बुढा बैठकमा सहभागी भएपछि एमालेले बैठक अवरुद्ध गरेको हो।उनीहरू सत्तापक्षको कुर्चीमा बसेका थिए। बैठकमा एमालेका सांसदहरू भने प्रमुख प्रतिपक्षको कुर्चीमा बस्दै आएका छन्। 

बैठकमा निलम्बनमा परेका अर्का सांसद कुर्मराज शाही भने उपस्थित भएका थिएनन्। निलम्बनमा परेका तीनै जना प्रदेश सरकारका मन्त्रीसमेत हुन्। 

फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले सांसदहरू थापा, बुढा र शाहीसहित प्रकाश ज्वालालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

यससँगै सांसद पद गुमाएका उनीहरूलाई मुख्यमन्त्रीले स्वतन्त्र नागरिकको हैसियतमा मन्त्री नियुक्त गरेका थिए। 

पार्टीले निष्कासन गरेपछि चारै जनाले सर्वाेच्च अदालतमा पुनर्बहालीको माग गर्दै रिट दिएका थिए। त्यसपछि सर्वाेच्चले उनीहरूलाई पुनर्बहाली गराउने अन्तरिम आदेश दिएको थियो। 

सर्वाेच्चको अन्तरिम आदेशपछि एमाले कर्णाली प्रदेश संसदीय दलले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन निर्देशन दिएको थियो। 

तर, मन्त्रीले निर्देशन नमानेपछि एमालेले असार १ गतेयता संसद बैठक सञ्चालन हुन दिएको थिएन। साथै एमाले प्रदेश संसदीय दलले असार १० गते तीन जना मन्त्रीलाई एक महिनाका लागि निलम्बनसमेत गरेको छ। 

संसदको मर्यादा रहेन : कँडेल

एमाले संसदीय दलका नेता यामलाल कँडेलले निलम्बनमा परेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादाविपरीत रहेको बताएका छन्। 

‘सर्वोच्चले जेठ २७ गते अन्तरिम आदेश दिएर एमालेमै चार जनालाई फर्काइदिएको हो। त्यसमध्ये प्रकाश ज्वाला आइसक्नुभएको छ। तीन जना अहिलेसम्म आउनु भएको छैन। हामीले उहाँहरूलाई तीन पटक पत्र पठाइसकेका छौं,’ नेता कँडेलले भने, ‘उहाँहरू आफैं सर्वोच्चमा एमालेकै सांसद हुन पाउँ भनेर जानुहुन्छ। सो माग पूरा भएपछि यहाँ निर्दलीय व्यवस्था जसरी आउनुहुन्छ। यसलाई एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन।’

संसद सचिवालयले मर्यादाविपरीत ती सांसदलाई प्रदेशसभा बैठकमा जान दिएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन्। 

प्रदेशसभाको अर्को बैठक असार १८ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए।

असार १३, २०७८ आइतबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।