पिएचडी तहको शुल्क महँगो भयो भन्दै त्रिविमा विद्यार्थीको प्रदर्शन

पिएचडी तहको शुल्क  महँगो भयो भन्दै त्रिविमा विद्यार्थीको प्रदर्शन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आज विद्यार्थीले प्रदर्शन गरेका छन्। 

त्रिवि विद्यार्थी संघर्ष समितिले एमफिल र पिएचडी तहको पढाइ शुल्क अत्यधिक महँगो भएको भन्दै उपकूलपतिको कार्यालय परिसरमा प्रर्दशन गरेका हुन्। 

प्रदर्शनका क्रममा विद्यार्थीले ‘विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, व्यापारको हैन’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’, ‘एमफिल र पिएचडी प्रोग्रामलाई रेगुलर बनाऊ’, ‘विश्वविद्यालयलाई ज्ञानको थलो बनाऊ र राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित गर’ जस्ता नारा लेखिएका पम्पलेट बोकेका थिए। प्रदर्शनका क्रममा उनीहरूले नाराबाजीसमेत गरेका थिए। 

त्रिभुवन विश्वविद्यालयले एमफिल, पिएचडी मात्रै नभएर बिबिए, एमबिए लगायतका विषय पनि प्राइभेट कार्यक्रम भन्दै चलाउँदै आइरहेको छ। 

शिक्षाध्यक्ष शिव भुसाल भने त्रिविको स्रोतले नसक्ने भएर निजी स्रोतबाट विभिन्न कार्यक्रम सञ्चालित भएको र विद्यार्थीले नबुझी विरोध गरेको बताउँछन्। 

‘त्रिविको स्रोत थोरै छ। त्यसैले विभिन्न कार्यक्रम प्राइभेट छन्,’ भुषालले भने, ‘केही दिनअघिसम्म इन्ट्रान्सको नतिजा प्रकाशित भएन भनेर झगडा गरेका थिए। अहिले फिलाई लिएर झगडा गरेका छन्। भोलि फेरि परीक्षाको नतिजालाई लिएर झगडा गर्ने होलान्। यस्तो गर्नुको कुनै अर्थ छैन।’

असार १३, २०७८ आइतबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।