मेलम्ची विपत्तिमा श्रीमान् गुमाएकी ७९ वर्षीया वृद्धाको प्रश्न : किरिया बस्न छोरा नै चाहिन्छ भन्ने छ र ?
मेलम्ची : असार १ गते। मेलम्ची उर्लिरहेको थियो। ८३ वर्षीय कृष्णबहादुर दुलाल ज्वाईं टुकबहादुर देउजासँग भन्दै थिए, ‘बाढीले घर बगायो भने मलाई पनि यही घरसँगै बग्न दिनु।’
जीवनमा पहिलो पटक यति भीषण बाढी देख्दै थिए, कृष्णबहादुर।
बाढीले कृष्णबहादुरको घरै मुन्तिर रहेको २ रोपनी जग्गा छुनै आँटेको थियो। उनी खोलो हेरिरहन्थे र भगवानको नाम जप्दै खोलोको बहाब होस् भनेर प्रर्थना गरिरहन्थे।
अघि–पछि ढुंगा र मुढा बगाएर ल्याउने मेलम्चीको बाढीले असार १ गते भने लेदो बोकेर ल्याएको थियो।
मेलम्ची इलाका प्रहरी कार्यालय छेउमा रहेको कृष्णबहादुरको एक रोपनी जग्गा बाढीले बगर बनाइसकेको थियो। तर ज्वाईं टुकबहादुर ‘परको खेत केही भएको छैन बा’ भनेर ससुरालाई सम्झाइरहेका थिए।
बाढीपछि ज्वाईं टुकबहादुरले काठमाडौंमा रहेकी आफ्नी छोरीको घरमा सासु–ससुरालाई पठाउने योजना बनाए। तर कृष्णबहादुर जान मानेनन्। पनातिनीलाई लिएर कृष्णबहादुरकी पत्नी एक्लै २ गते काठमाडौं लागिन्।
तीन दिनसम्म ज्वाईंका कुरा पत्याएका कृष्णबहादुर ४ गते बिहान घरमा एक्लै भए। छोरी र दुई नाति आ–आफ्नो काममा थिए। ज्वाई खानेपानीमा काम गर्थे। उनी पनि बिहानै अफिस गए।
कृष्णबहादुर विगत २८ वर्षदेखि साइँली छोरी–ज्वाईंसँग बस्दै आएका थिए। उनलाई आफ्नो पुर्ख्यौली सम्पत्ति अति नै प्यारो थियो।
उनले पटकपटक खेतमा जाने प्रयास गरेका थिए। कहिले ज्वाईं त कहिले छिमेकीले उनलाई रोकिरहेका थिए।
ज्वाईँ नभएको मौका छोपेर कृष्णबहादुर चौकीमुनिको खेतमा पुगे। खेत हेरे, बगर मात्र छ। उत्सुकताले खेत पुगेका कृष्णबहादुर धर्मराउँदै जसोतसो घर आइपुगे। आफ्नो कोठामा गएर पल्टिए।
११ बजे ज्वाईं कामबाट घर आए। कृष्णबहादुर अचेत अवस्थामा भेटिए।
सिन्धुपाल्चोकमा बाढी आएपछि राहत बोकेका गाडीको ओहोर–दोहोर भइरहन्थ्यो। सडकसँगै जोडिएको घर थियो कृष्णबहादुरको। उनले सडकमा गुडेका राहतका गाडी रोकेर जाली र ढुंगा बोक्न गाडी ल्याइदेऊ भनेर २ गतेबाटै भनिरहेका थिए। ३ गते त कृष्णबहादुरले राहत बोकेर आउनेहरुसँग झगडा पनि गरे।
‘मेरो खेत खोलोले निल्न आँट्यो। मलाई जाली र ढुंगा देऊ। होइन भने यो ठाउँमा आउँदै नआऊ।’
कृष्णबहादुरले ३ गते पनि दिनभर सडकमा बसेर राहत ल्याउनेहरुलाई आफ्नो कुरा सुनाइरहे।
घरबाटै देखिने खेतलाई बाढीले छुनै आँटेको थियो। सायद, जाली लगाउन पाए खेत जोगिन्थ्यो भन्ने थियो, उनको मनमा। अर्को, चौकीमुनिको खेत सुरक्षित छ भनेर ज्वाईंले भनेका थिए। उनी ज्वाईंको कुरामा ढुक्क थिए।
‘ज्वाईंले यता बाढीले जे पनि हुनसक्छ। काठमाडौं नातिनीकोमा जानु भने। बुढा भने मरे यहँ मर्छु, कतै जान्नँ भनेर अड्डी कसे। नातिनी छोरी पनि यतै थिई। उसको डर भयो र म पनातिनी बोकेर काठमाडौं गएँ। ज्वाईंले ४ गते एक्कासि बा बिरामी परे, तुरुन्त आउनु भनेर खबर गर्नुभयो,’ कृष्णबहादुरकी पत्नी ७९ वर्षीया गोमा दुलालले भनिन्, ‘त्यसपछि म ट्याक्सी लिएर तुरुन्त घर फर्किएँ।’
गोमा बिरामी पतिलाई भेट्न घर आइपुगिन्। त्यतिन्जेल ज्वाईंले मेलम्ची बजारमा प्रथामिक उपचार गर्ने कोसिस गरे। स्वास्थ्यकर्मीले टाउकोमा रगत जमेको हुनसक्छ, झट्टै काठमाडौं लानु भन्ने सुझाव दिए।
काठमाडौंबाट ट्याक्सी बेगले मेलम्ची आइपुग्यो। काठमाडौं लगेर कृष्णबहादुरलाई किष्ट हस्पिटलमा भर्ना गरियो।
‘नातिनी र म घर आयौं। ज्वाईं हामीलाई कुरिरहनुभएको रहेछ। गोमा भन्छिन्, ‘बुढाको अनुहार देख्ने वित्तिकै मलाई भित्री मनमा बौरिन्छन् भन्ने आश मरिसकेको थियो।’
कृष्णबहादुरसँग ९ वर्षको उमेरमा विवाह गरेकी गोमाको ७१ वर्षपछि श्रीमानसँगको साथ छुट्यो।
‘मेरा १३ सन्तान भए, ६ छोरी जिउँदा छन्। तीन छोरा थिए मेरा, सबै जन्मँदै मरे। अरु छोरीहरु पनि तुहिए। हामी बुढा–बुढी ज्वाई छोरीलाई यतै बोलाएर सँगै बसेका थियौं,’ गोमा भन्छिन्, ‘चार महिनाअघि बुढाले राति सुत्नेबेलामा एक्कासि मेरो किरिया तैंले गर, नत्र म बैतरणी तर्न पाउँदिन भने। मैले यो कुरा कसैलाई भनेको पनि थिइनँ। ६ गते अस्पतालले आइसियुमा राख्नुपर्छ भन्यो। उति पैसा भएका मान्छे होइनौं हामी। मेरो मनले हरेस खाइसकेको थियो र ७ गते घरमै फर्काएर ल्यायौं। उनैको इच्छा अनुसार घरमै प्राण त्यागे।’
कृष्णबहादुरलाई छोरा नहुँदा समाजले गर्ने व्यवहारले मन कुँडिएको रहेछ। उनले धामी–झाँक्री पनि गर्नसम्म गरे छोरो पाउन। गर्भ टिकाउन। तर केही सिप चलेन। अन्ततः उनले अर्को विहे गर्ने कि भनेर पनि सोचे।
‘जति उपाय गर्दा पनि सन्तान नटिकेपछि बुढा ज्योतिषलाई हेराउन गए। ज्योतिषले तिम्रो भाग्यले नै छोरा दिँदैन। दस वटी विहे गरे पनि छोरीमात्र हो भनेछन्,’ गोमा सम्झिन्छिन्, ‘त्यसपछि दोस्रो विहेको कुरा पनि टर्यो। हामी बुढाबुढीले मन बुझायौं।’
श्रीमानको किरिया बसेकी ७९ वर्षीया गोमालाई बाढीले खेत नबगाएको भए श्रीमानलाई गुमाउन पर्दैनथ्यो जस्तो लाग्छ।
उच्च रक्तचापका कारण कृष्णबहादुरको टाउकोमा रगत जमेको थियो। मेलम्चीले खेत पुरेपछि त्यही चिन्ताले कृष्णबहादुरकोले पनि यो लोकमा आफ्नो अस्तित्वलाई समाप्त पारे। गोमालाई मेलम्चीले आफ्नो श्रीमानलाई छिन्यो जस्तो लाग्दो रहेछ।
‘बाढीले नछोएको खेत पनि बुढा बितेपछि कटान गर्न थाल्यो। २ रोपनीमा आधा रोपनी त बगाइसक्यो। खोलो खेतैमा टाँसिएको छ। अब त्यसको पनि के आश,’ गोमा भन्छिन्, ‘खेत हेर्न मात्र नगएको भए पनि केही दिनमा म आउँथे, सम्झाउँथे। यस्तो बित्यास पर्दैनथ्यो मलाई। मेलम्ची बौलाउँदा म बिधवा हुनुपर्यो।’
कृष्णबहादुरलाई उनका भतिजा र ज्वाईंले दागबत्ति दिए। आफ्ना श्रीमान् परलोक हुँदा दागबत्ति दिने गोमाको इच्छा पूरा भएन। तर श्रीमानले आफूलाई सुनाएको अन्तिम इच्छा भने उनले पूरा गरिन्।
‘मान्छेले मलाई किरिया बस्न नदिन अनेक कुरा गरे। मैले आफ्नो बुढाको किरिया बस्न नपाउने किन? छोरा पो छैनन्। म त जिउँदै छु नि,’ गोमाले सुनाइन्, ‘जेठाजु र देवरका छोरा अनि ज्वाईं तीन जना भएर दागबत्ति दिए। किरिया पनि उनीहरु बस्न आँटेका थिए। मैले मानिनँ। छोरा चाहिने किरिया बस्नकै लागि मात्र त होइन नि। म किरिया बसें। चित्त नबुझेकाहरु उठेर हिँडे।’
मेलम्ची स्थलगत
असार १३, २०७८ आइतबार ११:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।