द्वन्द्वकालमा शवको खात पन्छाउँदै पोस्टमार्टम गर्ने डा. कृष्णप्रसाद
तत्कालीन नेकपा माओवादीको विद्रोह उत्कर्षमा पुग्दै गर्दा २०५८ सालमा मेडिकल सुपेरिटेण्डेण्टका रूपमा पर्वत जिल्ला अस्पताल पुगे डा. कृष्णप्रसाद पौडेल।
२०६० सालसम्म जिल्ला अस्पतालमै कार्यरत उनी त्यो अवधिमा भिडन्तमा परेर पोस्टमार्टमका लागि शव ल्याएको घटना अझै सम्झन्छन्।
अस्पतालमा तत्कालीन नेकपा माओवादी र सरकार पक्ष (सेना˗प्रहरी) बीचको भिडन्तमा मारिएका व्यक्तिको लास खचाखच पुग्थे। पोस्टमार्टम गर्दा खुट्टा टेक्ने ठाउँ पनि नहुने उनले सुनाए।
‘यति धेरै शव आउने कि पोस्टमार्टम गर्नै भ्याइँदैनथ्यो। खातकाखात शव लिएर आउने,’ प्रा. डा. कृष्णप्रसादले घटना सम्झिए, ‘शवको पहिचान गर्न पनि शवमै टेकेर जानुपर्थ्याे। पोस्टमार्टम गृहमा कतै शव राख्ने ठाउँ नै थिएन।’
त्यति बेला उनले शवको खातमा टेकेर शवको पहिचान गर्नुपरेको बताए। डा. कृष्णप्रसादले अस्पतालमा एक दिनमा नै २० वटासम्म शव ल्याएर खात लगाएर राखेको सुनाए।
उनले त्यो बेलाको घटना सम्झँदै भने, ‘एक दिनमा नै २० वटासम्म शव आउँथे। त्यसलाई खात बनाएर राखिन्थ्यो।’
त्यो बेला भिडन्तमा परेर मृत्यु भएका भर्खरका युवकको शव पोस्टमार्टमका लागि नेपाली सेनाले अस्पताल लाने गरेको उनले सुनाए। डा. कृष्णप्रसादले भने, ‘भर्खर–भर्खरका २०/२२ वर्षका केटा हुने। मारेर ल्याएको हो की ? भिडन्तमा परेर ल्याएको हो ? आर्मी˗पुलिसले ल्याउँथे।’
भर्खरका युवकको शवमाथि टेकेर पोस्टमार्टम गर्दाको त्यो क्षण सम्झँदा अझै पनि उनको शरीर जिरिङ्ग हुन्छ। डा. कृष्णप्रसादले भने, ‘जसले मारेको भए पनि युवक मरेको देख्दा आफैलाई पीडा हुन्थ्यो।’
अस्पतालको पोस्टमार्टम गृहमा ठाउँ नभएपछि आफूले सेनालाई अस्पतालमा शव नल्याउन अनुरोध गरेको र मृत्यु भएकै ठाउँमा गएर पोस्टमार्टम गर्छु भनेको उनले सुनाए।
सेना˗प्रहरीले पक्रने डरले अस्पतालमा मृतकका आफन्त भने नआएको उनले बताए। त्यसो त जिल्ला अस्पताल भएकाले सामान्यबाहेक गम्भीर घाइते भने त्यति पुग्दैनथे।
त्यो बेला सरकारले खबर नगरी माओवादीको उपचार नगर्नु भने पनि गोली लागेर अस्पताल पुगेका घाइतेको मानवीयताको दृष्टिकोणले लुकेर गोली निकालिदिएको उनले सुनाए। डा. कृष्णप्रसादले भने, ‘धेरैभित्रको हैन। हातखुट्टामा भएको गोली लुकेर पनि निकालियो, बचाइयो।’
मानसिक समस्या भएकी युवतीको उपचार
पर्वतकै अर्को घटना पनि डा. कृष्णप्रसाद भुल्दैनन्। उनी त्यहाँ पुगेको केही समय मात्रै भएको थियो। बाटाेमा हिँड्दा देखिरहने करिव २० वर्षकी युवतीकाे असामान्य व्यवहार देखे उनले।
डा. कृष्णप्रसादले त्यो बेला ती युवतीको व्यवहार सुनाए, ‘ती युवती बाटोमा केटाहरू देख्यो भने मस्किँदै हिँड्थिन्। ती युवती आर्मी-पुलिस भएको ठाउँतिर जाने, हाँस्ने, जिस्क्याउने गरेको देखेकाे थिएँ।’
उनले ती युवतीको असामान्य व्यवहारको कारण पत्ता लगाए। कारण थियो˗ मानसिक समस्या।
उपचार गरे ती युवतीलाई सन्चो हुन सक्छ भन्ने उनलाई लाग्याे। र, उनले ती युवतीको उपचार गर्ने अठोट लिए। तर, उनको उपचारमा पनि चुनौती थियो। कारण– उनी धेरैजसो समय घरबाहिर बस्थिन्।
त्यसपछि प्रहरीको सहयोगमा ती युवतीलाई नियन्त्रणमा लिएर उनको उपचार थालियो। उनलाई अस्पतालमै राखेर उपचार गरिएको डा. कृष्णप्रसादले बताए। उनले भने, ‘ती युवतीलाई ‘सिजोफ्रेनिया’ नामक मानसिक समस्या भएको थियो।’
उपचार थालेको ६ महिनामा नै ती युवतीको मानसिक समस्या ठिक भएको उनले सुनाए।
‘दुई महिना जति अस्पतालमा राखियो। त्यसपछि घर पठाइयो। ६ महिनामा त उनी पूरै सामान्य भइन्,’ डा. कृष्णप्रसादले सुनाए, ‘उनी पछि फ्लोअपमा आउँदा लजाउँथिन्, पहिलेका गतिविधि सम्झेर। त्यस्तो अवस्थाको उनकोे जीवन नै परिवर्तन भयो।’
मानसिक रोग विशेषज्ञ नभए पनि अनुभवका आधारमा ती युवतीको उपचार गरेकाे उनले बताए।
पर्वतबाट सरुवा भएपछि पनि आफूले ती युवतीको बारेमा सोध्ने गरेको र उनले विवाह पनि गरेको सुनेको डा. कृष्णप्रसादले सुनाए।
श्रीमती डेरामा प्रसव पीडामा, आफू अस्पतालमा
उनको जीवनशैली व्यस्त छ। यही कारण घर परिवारका लागि समय मिलाउनै कठिन हुने गरेको उनले सुनाए। एमबिबिएस अध्ययनपछि विवाह गरेका उनले श्रीमती प्रसव पीडामा हुँदा पनि तुरुन्तै डेरामा जान नसकेको सुनाए।
डा. कृष्णप्रसादले भने, ‘सानो छोरी एमएस पहिलो वर्ष पढ्दापढ्दै जन्मेको। श्रीमतीलाई प्रसव वेदना हुँदा पनि म अस्पतालमा नै थिएँ।’
जसोतसो अस्पतालबाट डेरामा पुग्दा उनकी श्रीमतीलाई प्रसव वेदनाले निकै च्यापिसकेको थियो। श्रीमतीलाई हत्तपत्त टिचिङ अस्पताल पुर्याए। डाक्टर नै भएर पनि ढिलो ल्याएको भन्दै टिचिङमा नर्सले गाली गरेको उनले सुनाए।
विशेषगरी विद्यार्थी हुँदा राति धेरै ड्युटी हुने भएकाले परिवारलाई समयनै दिन नपाएको उनले सुनाए। ‘घरमा जानै मिल्दैनथ्यो।’ बच्चाहरू साना थिए,’ उनले भने, ‘बच्चाहरू हुर्किएको थाहै पाइएन। बच्चासँग खेल्नै पाइएन।’
साहित्यमा रुचि, दुई पुस्तक प्रकाशन
त्यसो त उनलाई सानैदेखि साहित्यमा रुचि थियो। कृष्णप्रसादले २०७४ सालमा ‘खुसीहरूको वनवास’ नामक कविता संग्रह प्रकाशित गरेका थिए।
त्यसैगरी गत वर्ष सांग्रिला प्रकाशनबाट ‘कम्मरीदेखि कोभिड कहर’ निबन्ध संग्रह प्रकाशित गरेका थिए।
यो पुस्तक राम्रै बिक्रीसमेत भएको उनले बताए। डा. कृष्णप्रसादले भने, ‘यो एकदम भयंकर बिक्यो। मार्केटमा किताब नै सकियो। दुई महिनासम्म नेपालको टप १० बेस्ट सेल्स किताबमा पर्याे।’
त्यसैगरी अर्को मेडिकल समाजशास्त्रसम्बन्धी पुस्तक पनि केही महिनामा नै बजारमा आउने उनले बताए।
डाक्टरी अध्ययन गर्दा उनलाई साहित्य लेख्ने समय मिलाउनै मुस्किल पथ्र्यो। तर, केही वर्षयता आफू सिनियर भएपछि समय मिलाएर फेरि साहित्य लेख्न थालेको उनले बताए।
वीरको घटनाले स्पाइन सर्जन
कृष्णप्रसाद चितवनको पदमपुरमा २०२९ सालमा जन्मिएका हुन्। उनले चितवनकै टाँडीस्थित ‘नेपाल मावि’बाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरे। आइएससी भने काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट उत्तीर्ण गरे।
कृष्णप्रसादले सुनसरिको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस अध्ययन गरेका हुन्।
सन् १९९४ मा एमबिबिएस अध्ययन थालेका उनले सन् २००० मा उत्तीर्ण गरे। प्रतिष्ठानका उनी पहिलो ब्याचका विद्यार्थी रहेछन्। डा. कृष्णप्रसादले भने, ‘म धरानको पहिलो ब्याच हो।’
एमबिबिएस उत्तीर्ण भएपछि त्यही प्रतिष्ठानमा नै एक वर्ष कारार जागिरे भएर काम गरे। त्यसपछि २०५८ सालमा सरकारी स्थायी जागिरे भए। सरकारी जागिरे भएपछि पर्वतमा पोस्टिङ भएका उनले त्यहाँ जिल्ला अस्पतालको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) का रूपमा काम गरे।
त्यहाँ दुई वर्ष बस्दा उनले जिल्ला स्वास्थ्य प्रमुखको जिम्मेवारी पनि सम्हाले। उनले भने, ‘मेसु (मेडिकल सुपरिटेण्डेन्ट) भनेर पोस्टिङ भयो। तर, त्यहाँ जिल्ला स्वास्थ्य प्रमुख भएर पनि काम गर्नुपर्याे।’
पर्वतपपछि उनी काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सन् २००३ मा एमएस (स्नातकोत्तर तह) अध्ययन गर्न थाले। सन् २००६ मा अर्थोपेडिक्स सर्जरीमा एमएस अध्ययन पूरा गरे। एमएसपछि बीर अस्पतालमा नै करिव १ वर्ष काम गरे।
उनलाई थप अध्ययनको भोक जाग्यो। त्यसैले फेलोसिपमा सिंगापुर पुगेर १ वर्ष स्पाइन सर्जरी विषयमा अध्ययन गर्न पुगे। स्पाइन सर्जरी विषय मेरुदण्डको उपचार गर्ने अर्थोपेडिक्स सर्जरीको विशिष्टीकृत विषय हो।
स्पाइन सर्जरीको विषयमा थप अध्ययनको भोक जाग्नुको पनि कारण छ। त्यो बेला वीर अस्पतालमा मेरुदण्डसम्बन्धी समस्या लिएर पुगेका बिरामी अस्पतालमा उपचार नै नपाई फर्केको उनले देखेका थिए।
एमएस अध्ययनपछि २०६३ सालमा वीर अस्पतालमा कार्यरत रहँदा उनले अस्पताल पुगेकी मेरुदण्डसम्बन्धी समस्या भएकी एक जना महिलाले पाएको पीडा देखेका थिए। पीडामा ती महिला छटपटाएको उनी अहिले पनि सम्झन्छन्।
उनका अनुसार करिव ३५ वर्षकी बुटवलतिरकी ती महिलाको ढाड भाँचिएको थियो। उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।
‘उनको पूर्ण पक्षघात (कम्प्लिट स्पाइन कड इन्जुरी) थियो। घरबाट लडेकी रहिछन्। खुट्टा नै चल्दैनथ्यो। दिसापिसाब पनि हुँदैनथ्यो,’ कृष्णप्रसादले महिलाको त्यो अवस्था सुनाए, ‘तर, उनलाई त्यहाँ भर्ना नै गरिएन। अर्थोपेडिक्समा एक जना मात्रै डाक्टर, उहाँ नआइ भर्ना नहुने।’
ढाड भाँचिएर छटपटाइरहेको अवस्थामा अस्पताल पुग्दा अस्पतालले भर्ना नै नगरेको देख्दा डा. कृष्णप्रसादलाई दिक्क लाग्यो।
‘वीर अस्पतालमा मेरुदण्ड पक्षघात भएर, मेरुदण्ड टिबी भएर थुप्रै बिरामी आउनुहुन्थ्यो,’ डा. कृष्णप्रसादले सुनाए, ‘त्यहाँ मेरुदण्ड पक्षघात भएर हातखुट्टै नचल्ने (पूर्ण पक्षघात) बिरामी आउँदा भर्ना गर्न मान्दैनथे। अर्थो विभागमा मेरुदण्डको अप्रेसन गर्ने डाक्टर पनि अशोक बज्राचार्य मात्रै हुनुहुन्थ्यो।’
याे घटनाले उनलाई स्पाइन सर्जरी विषयमा थप अध्ययन गर्नुपर्ने महसुस गरायाे।
पूर्ण पक्षघात भएका बिरामीको हातखुट्टा नचल्ने उनले बताए। डा. कृष्णप्रसादले भने, ‘कम्मरमा भाँचियो भने खुट्टा चल्दैन। घाँटीको मेरुदण्डमा भाँचियो भने हातखुट्टा नै चल्दैन। जहाँ भाँचियो त्यहाँभन्दा तलको भाग चल्दैै चल्दैन स्पाइनल कड इन्जुरीमा।’
सामान्यतः मेरुदण्ड भाँचिएको अवस्थामा बिरामीको मृत्यु भइहाल्ने जोखिम कम हुने भए पनि घाँटीको मेरुदण्ड भाँचिएको अवस्थामा मृत्यु हुने उनले बताए। उनले भने, ‘घाँटी भाँचियो भने त कसैकसैको २/४ दिनमा नै मृत्यु हुन्छ।’
प्रायः भीर र रुखबाट लडेर गाउँघरका कम आयस्रोत भएको व्यक्ति नै प्रायःजसो अस्पताल पुग्ने गरेको उनी बताउँछन्।
०००
सिंगापुरको अध्ययनपछि २०६४ सालमा भरतपुर अस्पताल पुगेका उनले २०७० सम्म भरतपुर अस्पतालमा नै काम गरे। त्यसपछि बढुवा भएर चितवनकै टाँडीस्थित रत्ननगर अस्पताल पुगे। त्यहाँ ३ वर्ष काम गरे।
रत्ननगरपछि २०७३ सालमा पुनः भरतपुर अस्पताल नै सरुवा भएयता ‘अर्थोपेडिक्स स्पाइन सर्जन’ प्रा. डा. कृष्णप्रसाद भरतपुर अस्पतालमा नै कार्यरत छन्।
घाँटी भाँचिएको दुई युवकको मृत्यु
करिव ८ महिना अघिको १८ र २८ वर्षका दुई युवकको मृत्यु भएको घटना सम्झँदा उनकाे मन छोयो। १८ वर्षका युवकको रुखमा घाँस काट्दा लडेर र २८ वर्षका युवकको पुलबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएको थियो। ती युवक एक महिनाको फरकमा पुगेका थिए।
ती युवक अस्पताल ल्याएको ३ दिनमा नै मृत्यु भएको उनले सुनाए। डा. कृष्णप्रसादले उनीहरुको मृत्युको घटना सुनाए, ‘दुवै जना २/३ दिन ठिकै थिए। बोलिरहेका थिए। त्यसपछि आइसियुमा सारियो। अप्रेसनको योजना थियो। आइसियुमा सारेपछि अप्रेसन नगर्दै मृत्यु भयो।’
घाँटीमा फोक्सो र मुटुको पनि नसा हुने भएकाले घाँटीको मेरुदण्ड भाँचिदा फोक्सो र मुटुले काम नगरेको अवस्थामा बचाउन मुस्किल पर्ने उनी बताउँछन्।
कोसिस गर्दा पनि ती युवकलाई बचाउन नसक्दा खिन्न महसुस भएको उनी सुनाउँछन्।
असार १२, २०७८ शनिबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।