बढ्दो दुर्व्यसन, घट्दो नियन्त्रण

बढ्दो दुर्व्यसन, घट्दो नियन्त्रण

नुवाकोटबाट एक महिलाले आफ्नो प्लस टुमा अध्ययन गरिरहेको छोरा गाँजा खाएर दुख दिएको बताएपछि उनलाई उपचार केन्द्रमा राखियो। केन्द्रमा ल्याउँदा उसको खल्तीमा गाँजा थियो।

उसले आफूले मात्र खाएनन्, भाइलाई पनि सिकाई सकेका रहेछन्।

बाबु सरकारी कर्मचारी। उनी पनि लागूपदार्थको अम्मली नै रहेछन्। मादक पदार्थ खाएर घरमा दुख दिने। टोलमा बबाल मच्चाउने। त्यही तनावले छोराले लागू पदार्थ सेवन सुरु गरेका रहेछन्।

अर्को घटना। उदयपुर घर भएर काँड घारीमा बस्ने एक महिलाको अवस्था अझ दुखलाग्दो। उनको भनाइ अनुसार उनी साउदी अरबमा रोजगारको लागी गएको बेला उनले कमाएर पठाएको रकम उनको श्रीमानले मादक पदार्थमै सक्काए। यति मात्रै हैन, कान्छी श्रीमती समेत ल्याए।

छोरा मानसिक तनावमा पुग्यो। दुर्व्यसनमा लागेको छोरालाई दुर्व्यसनमुक्त बनाउन पटक–पटक उपचार केन्द्रमा राखिन्। यो तनावले उनी नै मानसिक रोगको जालोमा परिन्।

सन्तान कुलतमा लाग्नुको धेरै कारण देखिए पनि त्यसमा कुनै न कुनै रूपमा परिवार कारण देखिन्छ नै। बाबु–आमा वा परिवार भित्रको व्यवहार उनीहरूले कुनै न कुनै रूपमा अवलोकन गरिरहेका हुन्छन् नै।

उमेर अनुसार राम्रो भन्दा नराम्रा कामप्रति उनीहरूको  ध्यान जान सक्छ। अभिभावकले आफू चैँ जे पनि गर्ने तर सन्तानलाई यो नगर या त्यो नगर मात्र भनेर उनीहरूमा त्यसको प्रभाव पर्दैन। उनीहरूले पनि सिको गर्ने जोखिम हुन्छ नै। 

अनि परिवार भित्र जब लागू औषधको प्रवेश हुन थाल्छ त्यसपछि यसले आफ्नो नकारात्मक परिणाम मात्रै देखाउन थाल्छ। राम्रो अध्ययन गरिरहेको विद्यार्थी पढाइ छोड्न थाल्ने, रोजगारीमा लागेका मानिसहरू नसामा लागेर बरबादीको खाडल तर्फ धकेलिनु सामान्य हो। 

बढ्दै छ दुर्व्यसन

गृह मन्त्रालयले २०६९ मा लागु औषध दुर्व्यसनबारे केन्द्रीय तथ्याङ्क विभागमार्फत अध्ययन गराएको थियो। अध्ययनबाट लागू औषध दुर्व्यसनीको सङ्ख्या ९१,५३४ देखिएको थियो। पुरुषको सङ्ख्या ८५,२०४ (९१.१%) र महिलाको सङ्ख्या ६३३० (६.९%)।

यसमा काठमाडौँमा उपत्यकामा दुर्व्यसनी ३६,९९८ जना रहेको देखियो। यस प्रकार लागू औषध दुरुपयोगको अवस्था देशभरि नै डरलाग्दो रूपमा बढिरहेको छ। तथ्याङ्क अनुसार लागु पदार्थ दुरुपयोग गर्ने प्रवृत्ति खास गरी १५ वर्ष देखि १९ वर्ष उमेरका युवा समूहमा धेरै नै पाइएको छ। 

यो उमेर समूह भनेको चञ्चल र उत्ताउलो अवस्था हो। 

यसरी जोगाउन सकिन्छ दुर्व्यसनबाट

यस्तोमा अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यसका लागी आफ्नो बालबालिकालाई उचित पारिवारिक स्नेह र सद्भावको व्यवहार गर्ने, खुल्ला छलफलको वातावरण बनाएर सन्तानलाई मनमा लागेको कुरा भन्न सक्ने वातावरण बनाउने र उमेर पुगेका सन्तानलाई साथीझैँ व्यवहार गर्दा समेत उनीहरू कुलतमा फस्ने जोखिम कम हुन्छ।

उनीहरूलाई जीवन उपयोगी शिक्षा र व्यवहारिक बनाउन कोसिस गर्ने, उनीहरूको रुचि ,इच्छा र चाहनालाई ध्यानमा राखेर काम गर्न दिने वातावरण बनाउने , अभिभावकले कुनै गल्ती गरे त्यो सन्तानको अगाडि स्वीकार गर्ने गरेमा पनि सकारात्मक प्रभाव पर्न सक्छ।

सन्तानलाई पर्याप्त समय दिने, उनीहरूको साथीहरूबारे चासो राख्ने र बेलाबखत छलफल गर्ने, आफ्नो सन्तानको वेष्टफ्रेण्डको परिवारसँग सम्बन्ध बढाउने र भेटघाट गरेर आनीबानी थाहा पाउनु पनि राम्रो हो।

यसमा शिक्षकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ नै। शिक्षकप्रति विद्यार्थीमा बढी नै विश्वास हुने भएकाले उनीहरूले पनि बालबालिका र युवालाई कुलतमा फस्नबाट जोगाउन सक्छन्। यसका लागि बिद्यार्थीहरुलाई सही सूचना दिने, विद्यार्थीको समस्या पहिचान गरी समस्या समाधानमा सहयोगी बन्ने, लागू पदार्थको प्रयोगका असरबारे खुलस्त संवाद गर्ने, असल र खराब कामबारे जानकारी गराउने गर्दा उनीहरू अनाहकमा दुर्व्यसनमा फस्नबाट जोगिन सक्छन्।

नागरिक समाजले कोही दुर्व्यसनमा लागेको जानकारी भएमा हेय व्यवहार नगरी सहयोगीको भूमिका निर्वाह गर्ने, दुर्व्यसनमा लाग्नुको कारण पहिल्याउने प्रयास गर्ने र अभिभावकसँग परामर्श गरेर सघाउन सक्छन्।

विद्यार्थीहरूले चिकित्सकको सिफारिस विना औषधी सेवन नगर्ने, नचिनेका व्यक्तिले दिएको कुरा नखाने, अनावश्यक विषयमा कौतुहलता नराख्ने र  कुनै समस्या  वा केही विषयमा चासो भए खुलेर शिक्षक वा अभिभावकसँग छलफल गर्ने बानीको विकास गर्नु उत्तम हुन्छ।

(श्रेष्ठ पूर्व लागु औषध नियन्त्रण कार्यक्रम अधिकृत हुन्।)

सन्दर्भ सामग्रीहरू : गृह मन्त्रालय, सुरक्षित जीवन अर्धवार्षिक पत्रिकाका बिभिन्न अङ्कहरू, गृह मन्त्रालय, लागु औषध नियन्त्रण कार्यक्रम

 

असार १२, २०७८ शनिबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।