सुशीला निरौलाको कला यात्राको तीतो अनुभव– निर्देशकले सुटिङ भनेर झुक्काउँदै गेस्ट हाउस पठाए
काठमाडौं : हास्य टेलिशृंखला ‘मेरी बास्सै’बाट ‘बिमली’को नामबाट परिचित कलाकार हुन् सुशीला निरौला।
सामान्य परिवारबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनले ‘थोरै भए पुगिसरी’, ‘तीतो सत्य’, ‘यातना’लगायत टेलिशृंखलामासमेत अभिनय गरेकी छन्।
त्यससँगै एक हजारभन्दा बढी गीतको कोरसमा नृत्य गरिसकेको उनी बताउँछिन्।
उनले कला यात्रामा आफ्ना केही तीतामीठा अनुभव उकेरासँग साटेकी छन्।
०००
खै कहाँबाट चस्का पस्यो यो कलाकारिताको। सानैबाट हो कलाकार बन्न मन लागेको। सायद स्कुलमा हुने कार्यक्रममा नृत्य गर्दागर्दै कलाकार बन्ने भूत चढेको हुन सक्छ।
विद्यालयमा ठिकै नाच्थेँ। तर, कलाकार बन्नलाई ठिकैको नाच त हुँदैन, राम्रो नाच्नुपर्छ।
यसका लागि प्रशिक्षण लिनुपर्छ भन्ने सुनेँ।
मैले चिनेको दुर्गा भण्डारी दाइले ‘हिमालय कला सेन्टर’मा नाचको प्रशिक्षण लिन सुझाव दिनुभयो।
पुतलीसडकको बाटुले घरअगाडि रहेको त्यो डान्स सेन्टर उहाँको साथीको थियो।
म त्यहाँ नाच सिक्न थालेँ।
त्यहाँ कबिर बान्तवा भन्ने सर हुनुहुन्थ्यो। उहाँले ‘ठूल्दाइ’ लगायतका फिल्ममा डान्स डाइरेक्सन गर्नुभएको।
तर, केही महिनापछि उहाँको मृत्यु भयो। मैले त्यहाँ सिक्न थालेको तीन महिना मात्रै भएको थियो।
सरको निधनपछि म त्यही सिकाउन थालेँ।
त्यो बेला डान्स सेन्टर त कति हो कति। प्रज्ञा भवन, बागबजार, पुतली सडक मात्रै होइन, नैकापदेखि बालाजु बसपार्कसम्मै टन्नै थिए। म अन्त सिक्थेँ अनि त्यहाँ सिकाउँथेँ।
त्यो समयमा लोकगीतका म्युजिक भिडियो बन्न थालेको केही समय मात्रै भएको थियो। मलाई साइड डान्सरको रूपमा बोलाउन थालेँ। मैले पनि नाच्न थालेँ। तर, पैसा नपाइने।
आफूलाई कलाकार बन्ने हुटहुटी। सुरुमै म्युजिक भिडियोमा मुख्य रोल त कताबाट पाउनु ! त्यही साइडमा नाच्न पाउनु पनि ठुलै कुरा थियो।
ममा कलाकार बन्ने भूत यस्तो चढेको थियो कि भोकभोकै पनि काम गर्थेँ। बिहान हिँड्दा घरमा खाना पाकेको हुन्नथ्यो। दिउँसो घरमा खाना खान फर्किन नभ्याउने। भोकभोकै डान्स सिक्ने अनि सिकाउने। बेलुका ९ बजे घर फर्किएर मात्र खाना खाने।
शिव विकले दिएको एक मौका
डान्स सिक्ने, सिकाउने अनि मौका पाएसम्म म्युजिक भिडियोको साइडमा नाच्ने पनि। यो क्रम चलिरह्यो लामै समय। साइड डान्सरै भए पनि बिस्तारै परिचित हुँदै थिए। पैसा नभए पनि मलाई अभ्यास पनि भइरहेको थियो। साइड डान्सर भएको म्युजिक भिडियोको सङ्ख्या गन्ने हो भने हजार जति त पुग्यो।
काठमाडौँमा गाईजात्रा, नयाँ वर्ष लगायतका पर्वमा विभिन्न सांस्कृतिक कार्यक्रम हुन्थे। प्रज्ञा भवन, राष्ट्रिय नाचघर तथा सभागृहमा हुने कार्यक्रममा पनि साइड डान्सरका रूपमा बोलाउन थाले।
त्यो बेलामा शिव बिक सरले प्रायः जसो कार्यक्रममा फरक–फरक गीतमा नचाउनुहुन्थ्यो। एक पटक प्रज्ञा भवनमा हुने सांस्कृतिक कार्यक्रममा कमेडी गीतमा नचाउने कुरा भयो।
चलेका मोडलले कमेडी गीतमा नाच्न मानेनन्। त्यसपछि शिव सरले मलाई प्रस्ताव गर्नुभयो। मैले हुन्छ भनिदिएँ। साइड डान्सरबाट मेन डान्सर हुने मौका कुरेर बसेको म किन प्रस्ताव स्विकार्दैनथे।
८–९ जना केटाको भिडमा नाच्नुपर्ने गीत थियो त्यो। धेरै कमेडी गीत मिसाएर बनाइएको थियो। त्यो गीत निमा रुम्बाको ‘क्याट वाक’ बोलको गीत मिसाइएको थियो। मैले मज्जाले नाचेँ। गीतमा शिव सर आफै नाच्नुभएको थियो। मेन डान्सरको रूपमा पहिलो प्रयास धेरैले मन पराए।
त्यो सांस्कृतिक कार्यक्रममा चलेका कलाकार आउनुभएको थियो। चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेत्री निरुता सिंहलगायत।
राम्रो नाच्छु भनेर पुष्टि गर्ने मौका थियो त्यो मेरा लागि। मेरो प्रयास सफल भयो। त्यही कार्यक्रम हेरेर कृष्ण फिल्मस् लगायतले मलाई डान्सका लागि अफर गर्न थाले।
प्रज्ञा भवनको कार्यक्रममा कृष्ण फिल्मस्बाट उज्ज्वल सर, बाबुराजा केसी सर, मधुर बस्नेत क्यामेराम्यान र गोपाल बास्कोटा सरहरूले भिडियो खिच्नु भएको रहेछ।
त्यो भर्खर आएको थियो। उहाँहरूले मलाई अब म्युजिक भिडियोमा लिडमा अफर गर्नुभयो। म राजी भएँ।
कृष्ण फिल्मस्बाट बनेको पहिलो म्युजिक भिडियोमा अभिनय गर्न मैले अवसर पाएँ। धेरै भयो त्यो म्युजिक भिडियोमा अभिनय गरेको। अहिले गीतको बोल बिर्सिएँ।
फ्लप गीतमा मात्र अफर
म्युजिक भिडियोमा अफर त आउँथे। तर, प्रायः नचलेका। अलि राम्रो गायकको गीतमा त चलेका कलाकार र मोडल नै छानिन्थे। चलिहाल्छ कि भन्ने खालका गीतमा मैले मौका पाएँ। मैले पनि खेलिरहे हिटको आसमा। यही आसमा पाँच सय जति म्युजिक भिडियोमा नाचेँ। तर, एउटै हिट भएनन्।
हिट नभए पनि त्यो बेला नेपाल टेलिभिजनमा म्युजिक भिडियो बज्थ्यो। एक–दुई हप्ता गीत बज्दा पनि एउटा न एउटा मैले अभिनय गरेको म्युजिक भिडियो पर्थ्यो नै।
बद्री पङ्गेनी दाइहरूले एउटा लोक गीतको कार्यक्रम चलाउनुहुन्थ्यो। त्यहाँ मेरो गीत पनि बज्थ्यो। बिस्तारै दर्शकले मलाई नोटिस गर्न थाल्नुभयो। बाटोमा हिँड्दा ‘त्यो गीतमा नाच्ने तिमी हैन’ भन्दा औधी खुसी लाग्ने।
कला केन्द्रमा फोटो
पहिला कला केन्द्रको भित्तामा बोर्ड राखेर फोटो राख्ने चलन थियो। नव सिर्जना कला केन्द्रका विनोद श्रेष्ठ दाइले फोटो सेसन गरेर कला केन्द्रको भित्तामा राखे निर्देशक–निर्माताले देखेर बोलाउँछन् भन्नुभयो।
कतै फिल्ममा मौका आइहाल्छ कि भनेर मैले तिहारतिर खिचेको फोटो लगेर दिएँ। उहाँले ‘यस्तो फोटो हुँदैन’ भन्नुभयो।
अनि हामी बस्दै आएको लगनखेल नजिकैको फोटो स्टुडियो सञ्चालकलाई आफूसँग भएको १५ सय रुपैयाँमा फोटो सुट गरिदिन आग्रह गरे। उहाँले मान्नुभयो।
त्यो पैसा मैले दसैँ–तिहारमा जम्मा गरेको थिएँ।
फोटो सेसनका लागि जोर्डन लुगा चाहिने भएकाले साथीहरूसँग ड्रेस मागेर लगेको थिएँ। मसँग कुर्था–सुरुवाल मात्र थियो।
साथीहरूसँग मागेको लुगा दुई झोला भएको थियो। लुगा लगाउँदै फोटो सेसन गर्दै, अर्को लगाउँदै। अनि मेकअप पनि। यसरी दिनभर फोटो सेसन गरियो।
पछि त फोटो छान्नै अप्ठ्यारो। जुन फोटो हेरे पनि राम्रो लाग्ने। सबै फोटो लगेर विनोद दाइलाई दिए।
उहाँले तीन–चार वटा फोटो छानेर कला केन्द्रको भित्तामा राख्नुभयो। त्यो फोटोले मलाई ठुलो फिल्मको अफर त आएन। तर, टेलिसिरियलमा अभिनय गर्ने ढोका खुल्यो।
निर्देशक सविन बास्तोला सरले कला केन्द्रमा राखेको मेरो फोटो देख्नुभएछ। उहाँहरूले ‘थोरै भए पुगिसरी’ नामक धारावाहिक टेलिशृंखला बनाउनुहुन्थ्यो। त्यो नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो।
त्यहाँको फोटो देखेपछि उहाँले आफ्नो टेलिशृंखलाका लागि विनोद दाइमार्फत मलाई बोलाउनुभयो।
सविन सरसँग भेट भएपछि उहाँले ६ भाग जति मात्रै छ के गर्ने भनेर सोध्नुभयो। मैले हुन्छ भने। कसले अभिनयका लागि बोलाउला भन्ने मान्छे कसरी हुन्न भन्थे र।
मैले ६ भाग अभिनय गरेँ। त्यो मेरा लागि राम्रै भयो। दर्शकले चिन्न थाल्नुभयो।
लगनखेलबाट बस चढेर पुतलीसडक आउँदा यात्रुले ‘तपाईँ टेलिसिरियलमा खेल्ने हैन’ भनेर सोध्नुहुन्थ्यो। कलाकारका लागि दर्शकले चिन्नु जतिको रमाइलो के हुन्थ्यो र।
कति गाडीमा त भाडा समेत तिर्नुपर्दैनथ्यो। कलाकारसँग भाडा लिन्न भन्ने पनि देखियो।
‘थोरै भए पुगिसरी’का प्रोडक्सन हेर्ने गोपाल अधिकारी (ट्वाकेन्द्र) दाइले नेपाल टेलिभिजनकै हास्य सिरियल ‘तीतो सत्य’मा पनि व्यवस्थापनको काम गर्नुहुन्थ्यो। उहाँले मेरो अभिनय मन पराएर ‘तीतो सत्य’का लागि प्रस्ताव गर्नुभयो।
त्यो बेला ‘तीतो सत्य’ भर्खर सुरु भएको थियो। त्यसको अडिसन भइरहेको रहेछ सिंहदरबारमा।
अडिसन सकिएपछि पनि प्रस्ताव आयो। गाउँले भूमिकाको अवसर पाएँ। गाउँले युवतीको भूमिका निस्कियो कि मलाई फोन आइहाल्थ्यो। पहिला गोपाल दाइले फोन गर्नुहुन्थ्यो। पछि दीपा दिदीले नै फोन गर्न थाल्नुभयो। दीपा दिदीले कल गर्दा त आफूलाई यति खुसी लाग्थ्यो नि।
कहिले ठुलै रोल हुन्थ्यो, कहिलेकाहीँ सानो। जति रोल भए पनि एक भागको ५ सय रुपैयाँ दिनुहुन्थ्यो। ‘तितो सत्य’बाट फोन आयो कि आज ५ सय रुपैयाँ आयो भनेर मक्ख पर्थे।
‘तीतो सत्य’ पछि ‘यातना’ भन्ने सिरियलमा खेल्ने अवसर पाएँ। ‘यातना’ भन्ने सिरियलमा दीपा दिदी नै हुनुहुन्थ्यो। यसमा मैले मुख्य भूमिकाकै अवसर पाएँ। त्यहाँ लाटीको रोल थियो।
मैले ५२ भागसम्म खेलेँ। मेरो क्यारेक्टरको नाम ‘सविता’ थियो। ‘यातना’मा अभिनय गरेपछि बाटोमा हिँड्दा पनि ‘ए सविता’ भनेर बोलाउन थालेँ।
यही बेला कृष्ण फिल्मस्बाट एउटा विज्ञापनको अफर आयो। गोपाल बास्कोटा दाइ हुनुहुन्थ्यो त्यहाँ। उहाँले गीतको सिडीको विज्ञापन गर्नुपर्ने भन्नुभयो। त्यो बेला सिडीको जमाना थियो।
केदार घिमिरे, सीताराम कट्टेल त्यहाँ बसिरहनुभएको रहेछ। उहाँहरूसँगै अभिनय गर्नुपर्ने रहेछ। उहाँहरूले ‘मेरी बास्सै’ भर्खर सुरु गर्दै हुनुहुन्थ्यो। पहिला कुञ्जना घिमिरेलाई अभिनय गराउन खोजेकोमा उहाँ पोखरा गएकाले मैले मौका पाएको रहेछु।
यो गीतपछि सीताराम कट्टेल मामाले ‘मेरी बास्सै’मा अफर गर्नुभयो। सिरियलमा ‘बिम्ली’ भन्ने केटीको रोल छ, तिमीलाई सुहाउने भन्नुभयो। मैले हुन्छ भनेँ।
‘मेरी बास्सै’ खेल्न थालेपछि फेरि नाम बदलियो ‘बिम्ली’। दुई भागसम्म मेरो खासै चर्चा भएन। सबै चर्चित। दुई भाग खेल्दा पनि मेरो चर्चा नभएपछि के गर्ने होला भनेर सोचिरहेको थिएँ। तेस्रो भाग प्रसारण भएपछि त मेरो हाइहाइ भयो। कार्यक्रमको अफर आइरह्यो। मलाई भ्याइनभ्याइ हुन थाल्यो।
फिल्मको सुटिङ भनेर झुक्काएर गेस्ट हाउसमा
यी सबै सुखद सङ्घर्षका कुरा भए। तर, सबै सङ्घर्ष सुखद मात्र कहाँ हुन्छ र। मेरो जीवनका पनि दुःखद क्षण छन्।
कसैले सुटिङ छ भनेपछि खेल्न पाइने भयो भन्दै हिँड्ने मेरो बानी थियो। एक दिन एक म्युजिक भिडियो निर्देशकले कृष्ण रेउली सरले गाउनुभएको गीतको म्युजिक भिडियोको सुटिङ सुन्दरीजलमा छ भन्दै मलाई बोलाउनुभयो।
उहाँको नामचाहिँ नलिऊ। उहाँ यो क्षेत्रबाट विस्थापितै भइसक्नुभयो। अफर आएपछि म सुन्दरीजल पुगेँ।
सुटिङमा मोडल र अन्य कलाकारसहित अन्य दुई जना पनि थिए। ती म्युजिक भिडियोका लगानीकर्ताझैँ लाग्थे। पहिलो दिन सुटिङका कुरा भएनन्।
दिनभरि नानाथरीका कुरा गर्नुभयो। मुड अफै हुने खालका कुरा थिए। उच्छृङ्खल कुरा सोध्ने। ड्रेस लगाउँदा पनि यस्तो खालको लगाउनुपर्छ, उस्तो खालको लगाउनुपर्छ भन्ने।
सुटिङभरी झेलौँ, त्यसपछि म हिँडिहाल्छु भन्दै मैले केही प्रतिक्रिया जनाइनँ। सुटिङ सकियो। त्यसपछि उहाँले ठुलो बजेटको सुटिङ छ, त्यसमा वसुन्धरा भुसालको छोरीको रोलको प्रस्ताव गर्नुभयो। म्युजिक भिडियोको निर्देशक सरले प्रस्ताव गरेपछि म किन नाइँ भन्थेँ।
त्यसपछि नाइट सुटिङ भन्दै भोलिपल्ट बेलुका ५ बजे रातोपुलमा बोलाइएको थियो। म बहिनीलाई लिएर गएँ। रातको बेला साथी हुन्छ भनेर बहिनी लगेको थिएँ। बहिनी स्कुलबाट भर्खर आएकी थिई। हामी खाजा नै नखाईकन हतार हतार गरेर रातोपुल आयौँ।
रातोपुलमा अभिनेत्री पूजा चन्द दिदी ‘द कलेक्सन’ नामको अफिसमा बोलाइएको थियो। त्यहाँ म पहिला पनि गएकी थिएँ।
त्यहाँ हामी पुग्दा थुप्रै मान्छे बसेका थिए। म्युजिक भिडियो निर्देशकसहित सुन्दरीजलमा लगानीकर्ताझैँ लागेको दुई जना र अन्य दुई जना थिए त्यहाँ।
म त्यहाँ बहिनीसँग पुगेपछि उनीहरू मसँग बहिनी ल्याएको भन्दै झोक्किए।
मैले ‘रातिको सुटिङ भएपछि बोल्ने साथी हुन्छ भनेर बहिनी ल्याएको’ जवाफ दिए।
उनीहरूले सुटिङमा आमा, दिदी, बहिनी ल्याउँदा झर्को लाग्छ भने।
त्यसपछि उनीहरूले सुटिङ अन्तै हो भन्दै ट्याक्सीमा लगे।
ट्याक्सी सुन्धारामा रोकियो। उनीहरूले भनेको ठाउँ त दोहोरी साँझ पो रहेछ।
मलाई कतिखेर वसुन्धरा दिदी भेटिनुहोला र ढुक्क होला भयो। तर, बहिनी साथमा भएकाले अलि ढुक्क त थिएँ।
उनीहरूले हामीलाई कोक र मासु मगाइदिए। मेरो परिवार शाकाहारी। मासु खाने कुरै भएन। कोकमा नि केही मिसाएको छ कि भनेर दिदी बहिनीले कोक नखाने इशारा गर्याैं।
उनीहरू अर्काे टेबुलमा थिए। उनीहरूको हेराई अर्कै लाग्न थाल्यो। उनीहरू म र बहिनीलाई घरीघरी खुट्टादेखि टाउकोसम्म हेरिरहेका थिए।
राति १० जति बजेको थियो। उनीहरूको समूहमा मान्छे थपिँदै थिए। भिड नै भइसकेको थियो।
त्यो दोहोरीमा तेस्रोलिङ्गी दिदी बहिनीहरु हुनुहुन्थ्यो। उनीहरू जहाँ पायो त्यही छोइरहेका थिए।
मलाई त्यहाँ बस्न अटेसमटेस भएको थियो। हिँडौँ कसरी, बसौँ कसरी ? म अलमलमा थिए।
त्यतिकैमा निर्देशकको टोलीको एक जना आएर हामीलाई कोक र मासु किन नखाएको भनी सोध्नुभयो। मैले हामी त शाकाहारी हौं। बरु सुटिङतिर जाउँ न भने।
उहाँले सुटिङ अन्तै हो भन्दै त्यहाँ जाऊ भन्नुभयो। एउटाले बाइक लिएर चार जनालाई अगाडि बस्न भन्नुभयो। तर, मैले मानिनँ।
उहाँले बहिनीले पनि खेल्ने हो भनेर सोध्नुभयो। मैले आफ्नो साथी ल्याएको भनें। त्यसपछि उहाँले बहिनीलाई घर पठाइदेऊ भन्नुभयो।
त्यसपछि बाहिर रोकेर राखेको ट्याक्सीमा मलाई बोलाउने निर्देशक र बहिनीलाई पठाएँ। त्यो सर लगनखेलमा नै बस्नुहुन्थ्यो। बहिनी र त्यो सरलाई घर त पठाएँ। तर, मनमा डर लागिरहेको थियो। अभिनयको लोभले रोकिराखेको थियो।
बहिनीलाई कता लगे कता लगे भन्ने भयो। अर्को रेस्टुरेन्टतिर लगे की, अपहरण गरेकी भन्ने डर पो लाग्न थाल्यो। तनावको त कुरै छाडौं।
यता दुई जनाले बाइकमा मलाई पछाडि राखेर सुटिङ भन्दै बागबजारको भक्तपुर बसपार्कतिर लिएर गए।
मैले सोचे यतै कतै सुटिङ होला। चार तलामाथि सुटिङ हो भन्दै माथि लिएर गए। उता बहिनीको चिन्ता उस्तै। हे भगवान् बहिनीलाई केही नहोस् है भन्दै भगवानलाई पुकारिरहे।
बन्द कोठाबाट फुत्केको त्यो क्षण
भक्तपुर बसपार्क छेउको गेस्ट हाउस थियो त्यो। चार–पाँच तलाको थियो। माथि जाऊ वसुन्धरा दिदी हुनुहुन्छ भनेपछि पछि लागेँ। त्यहाँ पुग्दा त कोही छैन। क्यामरा पनि छैन।
मैले सुटिङ कता त भनेर फेरि सोधेँ। उहाँहरूले सुटिङ यहाँ हैन टप फ्लोरमा हो भन्नुभयो। माथि किचनमा होला भनेर गएँ। त्यहाँ पनि कोही थिएनन्।
उहाँहरू त अब यही सुत्ने हो सबै जना भन्न थाल्नुभयो।
मैले सुटिङमा पो आएको, सुत्न आएको होइन भने।
त्यसपछि उहाँहरूले निर्देशकलाई फोन गरेर ‘तैँले कस्तो मान्छे पठाइस् हँ, यसो भन्दा पनि मान्दिनँ, त्यसो भन्दा पनि मान्दिनँ’ भन्दै थर्काउन थाले।
अब मलाई आफू फसे भन्ने लाग्यो। म रुन थालेँ। उहाँहरूले त जति रोए पनि रो, अब त चान्सै छैन जाने भन्न थाल्नुभयो। मलाई त्यो निर्देशकले फसाएको थाहा भइहाल्यो। म ह्वाँ ह्वाँ रोएँ। बाहिर निस्कन खोजेको एउटाले ढोकामा आएर रोक्यो।
अब सुटिङ भनेर मलाई फसाउन खोजेको थाहा भएपछि कताबाट बल आयो आयो। दुवै जनालाई कोठाको भित्तैमा पुग्ने गरी हुत्ताइदिएँ। एक लात्ती हानेको कोठाको ढोका फुत्तै उघ्रियो।
अब कता जुत्ता चप्पल खोज्ने। खाली खुट्टै गुटुङटुङ कुदेर चार तला माथिबाट एकैचोटि तल्लो तला आइपुगे। तल कति छिटो ओर्ले मैले नै थाहै पाइनँ। तल गेटमा चुक्कुल लगाइसकेको रहेछ। त्यो आवेशमा मैले कसरी ढोका खोले थाहै भएन।
त्यहाँबाट कुदेको कुद्यै। पुरानो बसपार्क हुँदै, सिंहदरबारबाट माइतीघर आइपुगेँ। त्यहाँ सडकमा टिल्ल भएर एक हुल बसेका रहेछन्। म डराइरहेको थिएँ। पछाडिबाट कसैले समात् समात् पो भने। ती दुई जना मलाई खोज्दै आइरहेका रहेछन्। माइतीघरबाट थापाथलीको पुलसम्म लखेटे। म खोक्दै, रुँदै कुदेकोकुद्यै। त्यही बेला मंगलबजारबाट लगनखेल जाने बस आयो। त्यसैमा लिफ्ट मागे।
घर पुग्दा १२ बजेको थियो होला। घरको घण्टी बजाउने हिम्मतै आएन। घण्टी बजाएर गेट खोल्न भनुम घरबेटीले गाली गर्लान् भन्ने पिर। अर्कोतिर म त कोठामा आएँ, बहिनी पो रुममा आइ की आइन भन्ने तनाव।
म घरबाहिर गेटमै रातभर बसेँ। जाडो महिना थियो त्यो बेलामा। तर, खै किन हो जाडो नै भएन। बिहान ५ बजे घरबेटीले ढोका खोले। उहाँले ‘ए कतिखेर आयौँ नानी सुटिङ सकेर’ भन्नुभयो।
‘भर्खर आइपुग्दैछु आमा’ भने। ‘ल हेर रातभर सुटिङ गरेर जाडोले कामेको, जाउँ छिटो चिया पकाएर खाऊ’ भन्नुभयो। हस् भन्दै बहिनी सुत्ने ठाउँमा पुगे। धन्न उनी सुतिरहेकी रहिछिन्।
बहिनी तँलाई केही त भएन भनेर सोधेँ।
बहिनीले जवाफ दिइन्, ‘किन नहुनु। त्यो मान्छेले तिम्रो दिदी कलाकार भइहालिन्। तिमीलाई पनि सुपरस्टार बनाइदिन्छौँ। खेल्ने मन छ भने भन भन्दै थियो।’
त्यो मान्छेले ट्याक्सीमा उनलाई ठेलेको ठेल्यै गरेको रहेछ। उसले ‘कस्तो सुटिङ गर्न गाकी, छ्या कस्ता मान्छे हुँदा रहेछन्’ भनी। मन खिन्न भयो।
निर्देशकले मुख लुकाए
जुन निर्देशकले मलाई झुक्काएर गेस्ट हाउस पठाएका थिए, तिनलाई तीन वर्षअगाडि लगनखेलमा तीज कार्यक्रममा भेट भएको थियो। लगनखेलका व्यापारीले कार्यक्रम आयोजना गरेकाले मलाई पनि निम्ता आएको थियो।
उनले मलाई देखेपछि पर–पर भए। मैले नमस्कार गरेँ। तर, उनले मेरो अनुहार हेर्न सकेनन्। उनी स्टेजमा बस्नै सकेनन्। उठेर हिँडे। त्यसपछि भेट भएको छैन।
अहिले त्यो घटना सम्झँदा बेकारमा अभिनय गर्न पाइन्छ भनेर किन त्यसरी मरिहत्ते गरेको होलाझैँ लाग्छ। त्यही बेलामा ती निर्देशक र अन्य दुई जनालाई कारबाहीको दायरामा ल्याउनुपर्ने थियो। तर, हिम्मतै आएन त्यो बेला। अहिले सम्झँदा पछुतो लाग्छ।
असार १२, २०७८ शनिबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।