कर्णाली प्रदेश : सर्वाेच्चले पुनर्बहाली गरेका एमालेका तीन जना सांसद पार्टीबाट एक महिनाका लागि निलम्बन

कर्णाली प्रदेश : सर्वाेच्चले पुनर्बहाली गरेका एमालेका तीन जना सांसद पार्टीबाट एक महिनाका लागि निलम्बन

सुर्खेत : नेकपा एमालेले निष्कासन गरेपछि सर्वाेच्च अदालतले पुनर्बहाली गरेका कर्णाली प्रदेशका तीन जना सांसद एक महिनाका लागि निलम्बनमा परेका छन्। 

दलको निर्देशन अवज्ञा गरेको भन्दै शुक्रबार बसेको प्रदेश संसदीय दलले मन्त्रीसमेत रहेका सांसद्हरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको हो। 

‘एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले एमाले प्रदेश संसदीय दलको निर्णयको पालना नगरेकाले एक महिनाका लागि एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिवालयले प्रकाशन गरेको सूचनामा लेखिएको छ।

निलम्बनमा परेकामध्ये थापा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। 

गत वैशाख ३ गते तीन जना मन्त्रीसहित सांसद प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। त्यसपछि एमालेको दसौं राष्टिय महाधिवेशन आयोजक समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसपछि ज्वालाबाहेक तीन जनालाई स्वतन्त्र नागरिककाे हैसियतमा मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए।

पार्टीकाे कारबाहीपछि चारै जना सांसद्ले पार्टीको निर्णय बदर माग गरी सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यसपछि गत जेठ २६ गते सर्वोच्चले उनीहरूलाई पुनर्बहाली गरेको थियो। 

पुनर्बहालीपछि एमाले प्रदेश संसदीय दलले तीनै जना मन्त्रीलाई सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ। त्यही कारण एमालेले असार १ बाट संसद् बैठक अवरोध गरिरहेको छ। 

असार ११, २०७८ शुक्रबार २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।